गुलरिया : बर्दियाको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने छोटो दुरीको ओराली—डल्ला सडकखण्ड भत्किदा सवारी साधन अवरुद्ध भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण ओराही (कुस्मिया)पुल जोड्ने सडक किनार भत्किएको हो ।
हुलाकी मार्गहुँदै निकुञ्ज पुग्ने छोटो दुरीको सडक भत्किएपछि आवागमनमा समस्या भएको स्थानीय एवम् खाता समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङले बताए । उनले भने,' सडक भत्किएको छ । कठिनसँग एउटा बाइक मात्र छिर्न सक्छ । अटोरिक्सालगायत ४ पाङग्रे सवारी साधन गुडाउन सकिदैन । सडक किनार भत्किएसँगै स्थानीयलाई जोखिम मोल्नुपर्ने बाध्यता छ ।'
उनले पुलमै जोडिएको सडक प्रत्येक वर्ष पानी पर्दा भत्किने र सधै मर्मतबाट मात्र चलेको बताए। मधुवन नगरपालिका -१ मा अवस्थित पुलसँगै जोडिएको सडक दिर्घकालिन समाधान हुने गरी मर्मत गर्नुपर्ने उनको माग छ ।
जैविक मार्ग होमस्टे डल्ला,बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने सडकमा आवागमन ठप्प भएपछि पर्यटकीय आवागमनलाई समेत असर पुगेको उनले बताए ।