के म अरण्यरोदन हुँ ?

के म अरण्यरोदन हुँ ?

नेताहरूको गफ सुन्दासुन्दा अरण्यरोदनबाहेक के गर्ने ?

दुवै पवित्र। धर्म पनि, राजनीति पनि। मानव शान्ति र मोक्षको बाटो हो धर्म। त्यस्तै राजनीति (बहुजन हिताय र बहुजन सुखायको। तर ठगहरूले अड्डा बनाउने ठाउँ पनि यी दुवै हुन्। केहीको मात्र नाम लिने हो भने भारतका राम रहिम र आशारामहरूजस्ता ठगहरूले धर्मको नाममा आफ्नो साम्राज्य बनाएका थिए। चर्चमा यौन दुव्र्यवहार सामान्य जस्तै बन्दै आएको छ। हालै प्रकाशित एउटा प्रतिवेदनअनुसार फ्रान्समा मात्रै विगत ७० वर्षमा ३ लाख ३० हजार यस्तो यौन दुव्र्यवहार भएका छन्। ठगहरूको आपराधिक थलो भने प्रायः हरेक तीर्थस्थलमा छ। अयोध्यामा जस्तो एउटा सानो ठाउँमा मात्र १५ सयभन्दा बढी यस्तो मठमन्दिर आपराधिक अड्डा भएको २० वर्ष अगाडिकै एउटा प्रतिवेदनमा उल्लेख छ।

राजनीतिमा यस्ता ठगहरू धार्मिकभन्दा दुर्दान्त छन्। यस अर्थमा कि राजनीतिक ठगहरूको काम कारबाहीले सिंगो मुलुक आक्रान्त हुन्छ। हेर्दाहेर्दै मुलुक नै लुटिन्छ। तर कसले के गर्न सक्छ र ? अरण्यरोदन सिवाय। यहाँनिर अनायास भिक्टोरिया कालका कवि एल्फ्रेड टेनिसनको लामो कविताको केही पंक्तिहरू याद आयो। नेपालीमा आफ्नो अनुवाद यस्तो बन्यो—

मेरो पनि सपना छ
तर म के हुँ र ?
रातमा कराइरहेको त्यो बालक जस्तो
उज्यालोको लागि रोइरहेको त्यो बालक जस्तो
जसको बोली छैन, सिवाय रोदन।

यसको प्रभाव अझ अन्य मुलुकहरूमा पनि पुगेको छ। अरण्यरोदनको होइन, बीभत्स लुटको। धर्म र राजनीतिमा ठगहरूको पकड रहिरहन्छ। अपराधी भएर जेल काटिरहँदा पनि आशाराम र राम रहिमलाई देवता मान्नेहरू अझै उनको पूजा गरिरहेका छन्। अभियुक्त मात्र हुँदा त केही फरक नै नपर्ने भएको छ। अपराधमा संलग्न मान्छे भनेर चिनिएका मान्छेले चुनाव जितेर आइरहेका छन्। सन् २०१९ को एउटा विश्लेषणअनुसार विश्वको ठूलो प्रजातन्त्र भएको देश मानिने भारतमा त्यहाँको लोकसभामा जनताबाट प्रत्यक्ष चुनिएर आएका सांसदहरूमध्ये ५० प्रतिशत सांसद आपराधिक क्रियाकलापमा संलग्न छन्।

अपराधीहरूको लिस्ट नसकिने गरी बढिरहेको छ। मार्कोस, एस्ट्रेडा र मुगाबेरुमा मात्र सीमित छैन यो। यस्ता ठगहरू धेरै अफ्रिकी र एसियाली मुलुकहरूमा छन्। कति जेल परे, कति फेरि निक्खरा चोखो भएर निस्के। कतिले माफी पाए। कतिले सजाय काटेर पनि फेरि जनताबाट चुनिएर नेता भए। कति ठूलो नेता भएर नै बिते। घोषित र अघोषित अभियुक्त धेरै छन्। र, मुलुक हाँक्ने नेतृत्व प्रायः यो जत्थाबाट आउन थालेको छ। यही निरन्तरता भित्र राजनीति परेको छ। मात्रा मात्र फरक छ देशअनुसार। जहाँ यो मात्रा न्यून छ त्यहाँ जनताको जीवनस्तर उच्च छ। वास्तवमा अर्थमा जनता मालिक भएर बाचेका छन्। जहाँ यो मात्रा अत्यधिक छ, त्यहाँ जनता सातौं आसमानमा पुर्‍याइएका नोकर र भोट हाल्ने वस्तुसरह बनेका छन्। विकल्प तिनीहरूको (कि रुने, कि मुलुक छोड्ने।

नेपालमा पनि यस्ता ठगहरूको संख्या दिनदिनै बढ्दै गएको छ। तर ठगीको थाम्न नसकिने बोझ भने खुमबहादुर, चिरञ्जीवी र जयप्रकाशहरूले मात्र बोक्नुपर्ने नियति बनेको छ। अरू त चोखा भएर हिँडेका छन्। बोल्नु हो बोलिदिन्छन्, अझ आगो ओकल्छन् सबै, भ्रष्टाचारको कडा विरोधी भएर। यस्तै, सधैं भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भाषण गर्ने विजय गच्छेदार फरार भए ललिता निवास जग्गा ठगीमा अभियुक्त भएपछि। डेढ वर्षसम्म फरार रहेका विजय गच्छदार देउवाले सत्ता सम्हालेकै दिन प्रकट भए। अख्तियारले करिब १० करोड भ्रष्टाचार ठहर गरिएका उनलाई १० लाखको साधारण धरौटीमा विशेष अदालतले छाडिदियो। नेपाली कांग्रेसको उपसभापति छन् अहिले। शासनको जोड घटाउभित्र हट्टाकट्टा हुँदै गएको छ भ्रष्टाचार यसरी।

भट्टामा मन्छे जलाउने आलम नेपाली कांग्रेसको महान् नेता। त्यस्तै डन गणेश लामा। हतियार, विदेशी मुद्रा र अवैधधन्दा गर्ने ल्यारक्याल लामाले सबै सत्तासीन ठूला पार्टीबाट पद प्राप्त गर्दै आएका छन्। झलनाथ खनालको राज्यमन्त्री मात्र होइन प्रचण्डको त अझ विशेष। एक्लै पुग्थे लामाको बूढानीलकण्ठस्थित घरमा। भ्रष्टाचारविरुद्ध हाल मसिहा छवि देखाउने प्रचण्डले हालै मात्र उनै लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरे। पैसाले पद किन्ने अवस्था छ। र, सजिलो पैसा अवैध कामबाट आउने हो। सबै पार्टीमा यही हाल छ। अपराधीलाई पैसाको लागि राजनीतिक भट्टामा हालेर चोखो पारेर निकाल्ने होडबाजी राजनीति बनेको छ।

यसरी अपराधी–राजनीतिकर्मीको बढ्दो उत्पादनले राजनीति ढल गनाएको जस्तो दुर्गन्धित छ। स्कुलमा साइन्स पढाउने एउटा शिक्षक भन्थे (पेटबाट खेत, खेतबाट पेट। अहिले भएको चाहिँ भ्रष्टाचारको पैसाले चुनाव जित्ने र सत्तामा पुग्ने, सत्तामा पुगेपछि फेरि ‘कानुनसम्मत’ लुट्ने। यिनीहरूको लागि जनताको नाम लिएर लुट्ने र खाने भन्ने नै मूल राजनीतिक मन्त्र बनेको छ। त्यसैले राजनीति विचारको छैन अहिले कसैको। चुनाव लड्दा बनाइने कर्मकाण्डी म्यानिफेस्टोबाहेक। पूरै शून्य छ। अर्थात्, एकरूपता छ। कांग्रेसको लागि बीपीको ‘आर्थिक समाजवाद’ जस्तै कम्युनिस्टको लागि पनि ‘समाजवादी राज्य’ भट्ट्याउने बोलमात्र बनेको छ।

जनताको गफ ज्यादै धेरै भयो हाम्रो मुलुकमा। राज्यको स्रोतदेखि विकास र समृद्धिसम्मको यात्रामा। व्यवहारमा ‘गणतन्त्रात्मक लुटतन्त्र’मा मुलुक परिणत भएको छ। आधुनिक विश्व इतिहासमा सबैभन्दा धेरै जनताको गफ गर्ने व्यक्ति हिटलर थियो। जनताबाट छानिएर सत्तामा पुगेको ऊ हरेक कुरामा जनता मात्र भन्थ्यो। स्पेनको गृह युद्धमा जर्मनी सेना पटाउँदा पनि ऊ जनमत संग्रह गथ्र्यो। तर यथार्थता भने जनतालाई आफ्नो लहड र चाहनामा बनाउने उसको महत्त्वाकांक्षामा प्रयोग गरिने इँटाभन्दा उसले केही ठानेन। जनताको लागि भनेर अनेक तन्त्रको गफ ठटाउनेहरू कोही पनि हिटलर बन्न सक्तैनन् अबको विश्वमा। तर राजनीतिक यात्राको मानसिकतामा त्यसको अवशेषले डोर्‍याइरहेको देखिन्छ।

हिजोको राजनीति यस्तो थिएन नेपालमा। २००७ साल अगाडिका पुस्ताले राजनीतिको पवित्रतालाई हिफाजत गरेका थिए। तपस्या भनौं कि आराधनाको रूपमा लिएका थिए। त्यतिबेलाको नेताहरूमध्ये जसको कुरा गरे पनि। टंकप्रसाद आचार्यको कुरा गरौं कि बीपी कोइरालाको, मनमोहन अधिकारीको गरौं कि डिल्लीरमण रेग्मीको या केआई सिंहको। वास्तविक अर्थमा जनता सर्वाेपरि थिए, यिनीहरूको। तर अहिले रहेन यो। किन ? यसैमा केन्द्रित भएर अर्को पटक छलफल गरांैला।

अपराधी र राजनीतिकर्मीको बढ्दो उत्पादनले राजनीति ढल गनाएको जस्तो दुर्गन्धित छ।

जुनसुकै तन्त्र होस्, जुनसुकै मन्त्र होस् राज्य सञ्चालनको, लक्ष्य एउटै हो जहाँ पनि  सामाजिक, राजनीतिक र आर्थिक डेलिभरी। यो त गर्नै पर्दछ जुनसुकै शासन व्यवस्थामा पनि तानाशाहीमा होस्, अधिनायकवादमा होस् या प्रजातन्त्रमा। हिजो राज्य शक्तिको स्रोत शासक आफैंलाई ठान्थे। पछि जनतालाई भन्ने गरेका छन्। जतिसुकै जनताको कुरा गरे पनि यहाँनिर दुइटा कुरा आउँछ। पहिलो हो राज्य गर्ने वैधानिकता। दोस्रो हो राज्य सञ्चालन गर्ने शासक केन्द्रित मानसिकतामा। यी दुई कति नजिक छन्, कति टाढा, त्यसबाट नै तात्त्िवक भिन्नता निसृत हुन्छ सुशासन कि ‘शासकीय लुटतन्त्र’को।

स्थिरता र विकासको मात्र कुरा गर्ने हो भने प्रजातन्त्रको आवरणमा तानाशाहहरूले प्रशस्त गरेर देखाए। तर मुलुकको सम्पत्ति र आम्दानीको वितरण विषम पारेर। अर्थात्,न्यायपूर्ण वितरण नगरेर। यसले गर्दा धनी र गरिबबीचको खाडल झन् कहालीलाग्दो भयो। अयुब खानको पाकिस्तान नै यसको उदाहरण हो। पाकिस्तानको कुल गार्हस्थ्य उत्पादनको आधा भाग ३० परिवारले खाएका थिए। प्रजातान्त्रिक आवरणमा यसरी मुलुक लुटेपछि स्थिरता र विकास ठूलो आँधी आउनु अगाडिको शान्तिजस्तो मात्र हुन्छ।

हाम्रो मुलुकमा त न स्थिरता, न विकास, न डेलिभरी, न न्यायोचित वितरण। मुलुकको यस्तो अवस्था र नेताहरूले जनताको बारेमा अनवरत गरेको गफ सुन्दासुन्दा आजित भएको म जस्ताले अरण्यरोदनबाहेक के गर्ने ? झ्वाट्ट याद आयो प्रसिद्ध अमेरिकी कवि इमिली डिकिन्सनको शीर्षकविहीन एउटा छोटो कविताको पहिलो लाइन। नेपालीमा अनुदित भाव छ—म त केही पनि होइन, तर तिमी को हौ ?एक दिन यो प्रश्नले उत्तर खोज्नेछ। म अरण्यरोदन नै किन न हुँ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.