एमालेको पुनर्स्थापना कि पुनर्गठन ?
नेकपा एमाले विचार, संगठन, नीति र नेतृत्वको सवालमा बलियो पार्टी हो। तर गत भदौ २३ र २४ गतेको आन्दोलन र फागुन २१ गतेको निर्वाचनको परिणामपश्चात् अहिले कमजोर बन्न पुगेको छ। आमनिर्वाचन सकिएको झन्डै चार महिनापछि बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षाका निम्ति कार्यदल निर्माण गरेको थियो। कार्यदलले बागमती प्रदेशबाट समीक्षा सुरुवात गरेको छ। बागमती प्रदेशबाट आरम्भ भएको निर्वाचन समीक्षाले लिन पर्ने दिशा र दिनुपर्ने सन्देशभन्दा पार्टी नेतृत्वकै बीचमा रेखा कोरिएका सूचना सम्प्रेषण भएका छन्। जुन समीक्षाले एमाले विरोधी पंक्तिमा उत्साह जागेको छ र एमाले पंक्तिलाई निराश गरेको छ।
एमालेले गर्ने समीक्षा पार्टीलाई थप बलियो बनाउन आयोजना गरेको हो र हुनुपर्छ। रेडिमेट प्रश्नहरूको उत्तर खोज्न समीक्षा भेला भएभने ती भेलाहरू भोलिको एमालेका निम्ति दुर्भाग्यपूर्ण हुनेछन्। अहिले एमाले पुनस्र्थापनाका निम्ति समीक्षा आवश्यकमात्र होइन, अनिवार्य छ। तर कसैको ठाउँमा कसैलाई पदस्थापना गर्न नभई सिंगो एमालेलाई जनविश्वाससहितको पुनस्र्थापना गर्न हुनुपर्छ। समस्या कुनै एक व्यक्तिमा छन् कि सिंगो परिपाटीमा छन् ? विगतको परिस्थिति कुनै एक जनाको कारणमात्र सिर्जना भएको हो वा संरचनाको लय नमिलेको हो ? अहिलेको आम मनोविज्ञान एक व्यक्ति विरोधी हो वा एमालेको काम गर्ने तौरतरिकाको विरोधी हो ? यी सबै विषयको वस्तुपरक समीक्षाले मात्र एमाले पुनस्र्थापना हुन सक्छ। जसरी र जुन मनशाय वा आशयका साथ समीक्षालाई लिने प्रयास हुँदैछन्, त्यसले न वर्तमान समाजको मनोविज्ञानलाई सन्तुष्ट पार्न सक्छ न त एमालेलाई भोलिको राष्ट्रिय निर्णायक शक्तिमा स्थापित गर्न सक्छ। एमालेले आफूलाई बलियो बनाउन र पुनस्र्थापना हुनैपर्छ तर भुइँको टिप्न खोज्दा पोल्टाको पोखिने गरी होइन।
आत्मसमीक्षा र सुधार : कुनै पनि राजनीतिक दलको जीवनमा आत्मसमीक्षा कमजोरी स्वीकार गर्ने औपचारिक प्रक्रियामात्र होइन, आगामी यात्राको दिशा तय गर्ने महत्वपूर्ण आधार हो। एमाले आज त्यही मोडमा उभएिको छ जहाँ विगतका अनुभव, उपलब्धि, कमजोरी र चुनौतीहरूको वस्तुगत समीक्षा आवश्यक छ। भदौ २३ र २४ पछिका घटनाक्रमदेखि फागुन २१ को निर्वाचनको परिणामसम्मको अवस्थालाई भावनात्मक होइन, तथ्य र यथार्थका आधारमा विश्लेषण गर्नुपर्ने हुन्छ। समीक्षा भनेको दोषी खोज्ने अभियान होइन, सही निष्कर्ष निकाल्ने प्रक्रिया हो।
अहिले पार्टीभित्र समीक्षाको विषयभन्दा पनि पार्टी पुनर्गठनको विषय तलतल पुगेको देखिन्छ। समीक्षा आवश्यक छ तर समीक्षा नगरी पुनर्गठन भन्ने विषय जोडतोडले आउनु स्वाभाविक होइन। यस्तो दृष्टिकोणले न सत्यको खोजीमा सहयोग पु¥याउँछ, न संगठनलाई बलियो बनाउँछ। राजनीतिक आन्दोलन र सरकार सञ्चालन सामूहिक जिम्मेवारीको विषय हो, त्यसैले उपलब्धिको जश सामूहिक हुने हो भने कमजोरीको समीक्षा पनि सामूहिक हुनुपर्छ। आज एमालेका निम्ति नेतृत्वको रक्षा व्यक्ति पूजा होइन। यो पार्टीले दशकौंको संघर्षबाट निर्माण गरेको अनुभव, राजनीतिक निरन्तरता, वैचारिक स्पष्टता र संगठनात्मक स्थायित्वको रक्षा हो। नेतृत्वलाई कमजोर बनाएर होइन, नेतृत्वलाई अझ सक्षम र प्रभावकारी बनाउँदै पार्टीलाई बलियो बनाउने बाटो रोज्नुपर्छ। आत्मसमीक्षाको उद्देश्य पुनर्गठनको आधार तयार गर्नु होइन, एकताको नयाँ आधार निर्माण गर्नु हो। त्यसैले समीक्षा, सुधार र एकता, यी तीनवटालाई सँगसँगै अगाडि बढाउन आवश्यक छ।
जनविश्वासको पुननिर्माण : राजनीतिक दलको सबैभन्दा ठूलो सम्पत्ति सत्ता होइन, जनविश्वास हो। जनताले विश्वास गरे संगठन बलियो हुन्छ, चुनाव जितिन्छ र परिवर्तनका एजेन्डाहरू सफल हुन्छन्। एमालेले नेपाली राजनीतिमा विकास, स्थिरता, राष्ट्रिय स्वाभिमान र सामाजिक रूपान्तरणका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको पार्टी हो। तर विगतका उपलब्धिमात्र सम्झेर भविष्य निर्माण गर्न सकिँदैन। जनताका बदलिएका अपेक्षा र नयाँ पुस्ताका आकांक्षालाई सम्बोधन गर्न सक्नुपर्छ। जुन कुराको सुनिश्चितता अब एमालेले दिन जरुरी छ।
आज जनताले राजनीतिक दलबाट नाराभन्दा परिणाम खोजिरहेका छन्। उनीहरू सुशासन, रोजगारी, विकास, सेवा प्रवाह र राष्ट्रिय हितको स्पष्ट प्रत्याभूति चाहन्छन्। एमालेले आफ्ना उपलब्धिहरूलाई जनतामाझ तथ्यसहित प्रस्तुत गर्दै आगामी योजनालाई अझ विश्वसनीय रूपमा अघि बढाउनुपर्छ। सामाजिक सञ्जाल र प्रचारका माध्यममा मात्र होइन, जनताको दैनिक जीवनमा परिवर्तन ल्याउने काममार्फत विश्वास दिनुपर्नेछ। जनवश्विास पुननिर्माणको अर्को आधार पार्र्टीभित्रको एकता पनि हो। आपसी आरोप–प्रत्यारोपमा अल्झिएको संगठनले जनतामा सकारात्मक सन्देश दिन सक्दैन। जनताले पनि संकटका बेला एकताबद्ध, आत्मविश्वासी र स्पष्ट दिशासहित नेतृत्व हेर्न चाहन्छन्। त्यसैले जनविश्वास पुन: प्राप्त गर्ने पहिलो सर्त पार्टीभत्रिको विश्वास पुनर्स्थापित गर्नु हो। कार्यकर्ता, नेता र समर्थकहरूबीचको विश्वास बलियो भयो भने जनवश्विास पुनर्निर्माणको अभियान स्वत: सशक्त हुन्छ।
संगठन सुदृढीकरण : एमालेको वास्तविक शक्ति यसको संगठन हो। इतिहासले प्रमाणित गरेको छ। विचार, नेतृत्व र संगठनको सन्तुलन मिल्दा एमालेले असाधारण सफलता हासिल गरेको छ। आजको चुनौती पनि संगठनलाई अझ सुदृढ, गतिशील र एकताबद्ध बनाउने हो। पछिल्लो समय पार्टीभित्र पुनर्गठन, पुनर्संरचना वा नयाँ सुरुवातका विषयमा विभिन्न बहसहरू भइरहेका छन्। बहस हुनु स्वाभाविक हो, तर पुनर्गठनको नाममा कार्यकर्तालाई विभाजित गर्ने, पुराना घाउहरू कोट्याउने वा समानान्तर शक्ति केन्द्र निर्माण गर्ने प्रवृत्तिले पार्टीलाई बलियो बनाउँदैन। एमालेलाई आज पुनर्गठनभन्दा बढी आवश्यक सुदृढ एकता हो। पार्टीको पुनर्जीवन एकताबाट मात्र सम्भव छ।
गाउँघरमा भन्ने गरिन्छ– ‘एक माना एकता, सय माना शक्ति’ यही भावनालाई संगठन निर्माणको आधार बनाउनुपर्छ। कार्यकर्तालाई बाँडेर होइन, साझा लक्ष्य र साझा जिम्मेवारीमा जोडेर अगाडि बढाउनुपर्छ। संगठनभित्र अनुशासन, पारदर्शिता, आपसी सम्मान र नेतृत्वप्रतिको विश्वास कायम राख्न सकियो भने एमालेलाई कमजोर पार्ने कुनै शक्ति सफल हुन सक्दैन।
आज आवश्यकता नयाँ विवाद सिर्जना गर्ने होइन, पुराना अनुभव र नयाँ ऊर्जालाई जोड्ने हो। वरिष्ठहरूको अनुभव, युवाहरूको उत्साह र कार्यकर्ताको समर्पणलाई एउटै लक्ष्यमा केन्द्रित गर्न सकियो भने एमाले पुन: राष्ट्रिय राजनीतिको सबैभन्दा बलियो शक्ति बन्न सक्छ। त्यसैले संगठन सुदृढीकरणको मूल मन्त्र विभाजन होइन, एकता हुनुपर्छ।
समृद्ध नेपालको दृष्टि : पार्टीको स्थापनाकालदेखि नै राष्ट्रिय स्वाधीनता, आर्थिक विकास, सामाजिक न्याय र जनताको जीवनस्तर उकास्ने लक्ष्य बोकेको पार्टी एमाले हो। एमालेको नेतृत्वमा सरकार हुँदा उत्पादन वृद्धि, रोजगारी सिर्जना, औद्योगिकीकरण, कृषि आधुनिकीकरण, पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधारसम्बन्धी धेरै काम गरेको छ। एमालेले विगत सरकारमा हुँदा थालेका धेरै विकास परियोजनाले यही दृष्टिकोणलाई प्रतिनिधित्व गर्छन्। तर समृद्धिको यात्रा केवल नीति र कार्यक्रमले मात्र सफल हुँदैन रै’छ। त्यसका निम्ति बलियो र नेतृत्वको, लय बोक्ने सुदृढ संगठन र जनवश्विासको एकीकृत शक्ति आवश्यक पर्नेरैछ। त्यो कुरा निकट विगतका घटनाबाट पाठ सिक्नुपर्छ।
नेतृत्व कमजोर, संगठन विभाजित र कार्यकर्ता निराश भएको अवस्थामा कुनै पनि दलले दीर्घकालीन राष्ट्रिय लक्ष्य हासिल गर्न सक्दैन। यसैले आज एमालेका सामु सबैभन्दा ठूलो जिम्मेवारी पार्टीभित्रको एकता जोगाउनु, नेतृत्वलाई थप सक्षम बनाउनु र जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउनु हो। पुनर्गठनको नाममा अल्झिने होइन, एकताको आधारमा पुनर्जागरण आवश्यक छ। कार्यकर्तालाई अलगअलग धारमा होइन, एउटै लक्ष्यमा संगठित गर्नुपर्छ। जब नेतृत्व, संगठन र जनवश्विास एउटै सूत्रमा बाँधिन्छन्, तबमात्र एमालेले आफ्नो ऐतिहासिक भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सक्छ।
एमालेको अबको बाटो : आत्मसमीक्षाबाट सुधार, जनविश्वासबाट शक्ति, संगठनात्मक एकताबाट स्थायित्व र समृद्ध नेपालको दृष्टिबाट भविष्य निर्माण नै एमालेको अबको बाटो हो। यही मार्गले पार्टीलाई पुन: सशक्त बनाउनेछ र यही मार्गले राष्ट्रलाई पनि सही दिशातर्फ अघि बढाउनेछ।
प्रतिक्रिया दिनुहोस !