वालेन्द्र, संसद् र कांग्रेस
जब समाजले व्यक्ति होइन, प्रक्रिया; आवेग होइन, विधि र नायक होइन, संस्था रोज्न सिक्छ– लोकतन्त्र परिपक्व हुनथाल्छ।
नेपालको संविधानले संसदीय लोकतन्त्रलाई शासन व्यवस्थाको आधार बनाएको छ। यसको मूल मर्म के हो भने सत्ता व्यक्ति होइन, संस्थाबाट चल्छ। निर्णय लोकप्रियताको आवेगबाट होइन, विधि र प्रक्रियाबाट हुन्छ। जनमतको अभिव्यक्ति चुनावमा मात्र होइन, निरन्तर संस्थागत संवादमार्फत हुन्छ।
तर पछिल्ला वर्षहरूमा नेपालको राजनीतिक बहसमा एउटा नयाँ प्रवृत्ति देखापरेको छ– निर्वाचित प्रतिनिधिभन्दा ‘बलियो व्यक्ति’प्रतिको आकर्षण। यही प्रवृत्तिको सबैभन्दा चर्चित प्रतीक बनेका छन्, वालेन्द्र शाह। उनको उदय आफैंमा लोकतन्त्रको उपलब्धि हो। परम्परागत दलहरूको असफलता, भ्रष्टाचार र अकर्मण्यताविरुद्ध जनताले मतमार्फत वैकल्पिक नेतृत्व खोजे। तर लोकतन्त्रमा कुनै व्यक्ति लोकप्रिय हुनु र लोकतान्त्रिक हुनु एउटै कुरा होइन।
लोकतन्त्रको वास्तविक परीक्षा संस्थाप्रतिको प्रतिबद्धताबाट हुन्छ, केवल जनसमर्थनबाट होइन। आज प्रश्न वालेन्द्र शाह एक व्यक्ति होइनन्। प्रश्न त्यो राजनीतिक संस्कृतिको हो, जसले संस्थाभन्दा व्यक्तिलाई माथि राख्न खोजिरहेको छ। यदि यही प्रवृत्ति बलियो बन्दै गयो भने त्यसले संसदीय लोकतन्त्रलाई क्रमशः संकुचित बनाउन सक्छ।
लोकतन्त्रमा नायकको मोह
राजनीतिक विज्ञानमा एउटा पुरानो अवधारणा छ– ‘स्ट्रंगम्यान पोलिटिक्स। ’ जब दल, संसद्, समिति, न्यायिक प्रक्रिया वा प्रशासनिक संरचनाप्रति जनविश्वास घट्छ, तब नागरिकहरू कुनै एक व्यक्तिलाई उद्धारकर्ताका रूपमा हेर्न थाल्छन्। इतिहासमा यस्ता उदाहरण धेरै छन्। धेरैजसो अवस्थामा ती व्यक्तिहरू सुरुआतमा जनप्रिय थिए। उनीहरूलाई ‘प्रणाली विरोधी’ भनेर स्वागत गरियो।
तर विस्तारै संस्थागत नियन्त्रण कमजोर बन्दै गयो र व्यक्ति नै व्यवस्था बन्न पुग्यो। नेपालमा पनि सामाजिक सञ्जालको प्रभावसँगै यस्तै मनोविज्ञान बढेको देखिन्छ। कुनै निर्णय कानुनी छ कि छैन भन्नेभन्दा पहिले ‘कसले ग¥यो ? ’ भन्ने प्रश्न महŒवपूर्ण हुन थालेको छ। यदि निर्णय लोकप्रिय व्यक्तिले गरेको छ भने त्यसको आलोचना गर्नसमेत मानिसहरू हिच्किचाउँछन्। लोकतन्त्रमा यो जोखिमपूर्ण अवस्था हो।
संसदीय मूल्य कसरी कमजोर हुन्छन् ?
संसदीय लोकतन्त्रको आधार चारवटा तत्वमा टिकेको हुन्छ :– विधिको शासन, संस्थागत उत्तरदायित्व, सामूहिक निर्णय र शक्ति सन्तुलन। जब कुनै निर्वाचित पदाधिकारीले आफूलाई संस्थाभन्दा माथि प्रस्तुत गर्न थाल्छ, तब यी चारवटै मूल्य प्रभावित हुन थाल्छन्।
उदाहरणका लागि, राजनीतिक असहमतिलाई नैतिक असफलताको रूपमा चित्रित गर्ने प्रवृत्ति बढ्छ। संसद्, दल, समिति वा परामर्श प्रक्रियालाई अनावश्यक अवरोधका रूपमा प्रस्तुत गरिन्छ। ‘म एक्लै सही छु, बाँकी सबै गलत छन्’ भन्ने भाष्य निर्माण हुन थाल्छ। लोकतन्त्रमा यो खतरनाक संकेत हो।
किनभने लोकतन्त्र सहमतिभन्दा धेरै असहमतिसँग बाँच्ने कला हो। संसद्को अस्तित्व नै फरक मतहरूलाई वैधानिक स्थान दिनका लागि हो। यदि नागरिकहरूले संस्थागत प्रक्रियाभन्दा ‘कडा निर्णय गर्ने नेता’लाई प्राथमिकता दिन थाले भने लोकतन्त्रको आत्मा कमजोर हुन्छ।
सामाजिक सञ्जालको लोकतन्त्र
वालेन्द्र शाहको राजनीतिक शक्ति केवल मतबाट आएको होइन। त्यसलाई सामाजिक सञ्जालले पनि असाधारण रूपमा विस्तार गरेको छ। आज फेसबुक, टिकटक वा एक्समा लोकप्रियता नै राजनीतिक वैधताको मापनजस्तो बन्न थालेको छ। तर लोकतन्त्र ‘लाइक’ र ‘सेयर’बाट चल्दैन। यो सेनाको अनैतिक धापबाट पनि चल्दैन। लोकतन्त्र बहस, कानुन, प्रक्रिया र उत्तरदायित्वबाट चल्छ।
कांग्रेसले कम्तीमा पाँच क्षेत्रमा सुधार गर्नुपर्छ। पहिलो, नेतृत्व चयनलाई बढी प्रतिस्पर्धात्मक बनाउनुपर्छ। दोस्रो, वंशवाद र गुटवादलाई सीमित गर्नुपर्छ। तेस्रो, युवा नेतृत्वलाई वास्तविक अवसर दिनुपर्छ। चौथो, नीति र विचारलाई व्यक्तिभन्दामाथि राख्नुपर्छ। पाँचौं, पार्टीभित्र असहमतिलाई सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्छ।
सामाजिक सञ्जालले एउटा भ्रम सिर्जना गर्छ– जुन सबैभन्दा धेरै सुनिन्छ, उही सही हो। तर लोकतन्त्रमा सबैभन्दा धेरै सुनिने आवाज सधैं सही नहुन सक्छ। कहिलेकाहीँ अलोकप्रिय तर विधिसम्मत निर्णय नै लोकतान्त्रिक हुन्छ। लोकप्रियताले प्रक्रियाको स्थान लिन थालेपछि लोकतन्त्र विस्तारै भीडतन्त्रतर्फ जान सक्छ।
नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी
यस्तो अवस्थामा सबैभन्दा ठूलो जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आउँछ। नेपाली कांग्रेस कुनै सामान्य दल होइन। नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास कांग्रेसको इतिहाससँग जोडिएको छ। राणाशासन विरुद्धको संघर्षदेखि २०४६ सालको जनआन्दोलन र २०६२–६३ को लोकतान्त्रिक आन्दोलनसम्म कांग्रेसले निर्णायक भूमिका खेलेको छ।
त्यसैले कांग्रेसको दायित्व केवल चुनाव जित्नुमात्र होइन, लोकतान्त्रिक संस्कृतिको रक्षा गर्नु पनि हो। तर विडम्बना के छ भने कांग्रेस स्वयं आन्तरिक लोकतन्त्रको संकटबाट गुज्रिरहेको छ। कांग्रेसले आन्तरिक रूपमा के गर्नुपर्छ ? लोकतन्त्रको रक्षा गर्न चाहने दल पहिले आफ्नै घरभित्र लोकतान्त्रिक हुनुपर्छ।
कांग्रेसले कम्तीमा पाँच क्षेत्रमा सुधार गर्नुपर्छ। पहिलो, नेतृत्व चयनलाई बढी प्रतिस्पर्धात्मक बनाउनुपर्छ। दोस्रो, वंशवाद र गुटवादलाई सीमित गर्नुपर्छ। तेस्रो, युवा नेतृत्वलाई वास्तविक अवसर दिनुपर्छ। चौथो, नीति र विचारलाई व्यक्तिभन्दा माथि राख्नुपर्छ। पाँचौं, पार्टीभित्र असहमतिलाई सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्छ। यदि कांग्रेस आफैं केही सीमित नेताहरूको नियन्त्रणमा रहने हो भने उसले लोकतन्त्रको पक्षमा विश्वसनीय तर्क प्रस्तुत गर्न सक्दैन।
बाह्य रूपमा कांग्रेसले के गर्नुपर्छ ?
कांग्रेसले व्यक्तिवादको विरोधमात्र गरेर पुग्दैन। उसले लोकतन्त्र किन आवश्यक छ भन्ने कुरा नयाँ पुस्तालाई बुझाउनुपर्छ। यसका लागि केही रणनीतिक काम आवश्यक छन्। एक, संसद्लाई प्रभावकारी बनाउनुपर्छ। जनताले संसद्लाई समाधानको थलो देखेनन् भने उनीहरू स्वाभाविक रूपमा वैकल्पिक व्यक्तिहरूतर्फ आकर्षित हुन्छन्।
दुई, प्रदेशस्तरीय पार्टीको संरचनालाई बलियो बनाउनुपर्छ। तीन, सुशासनको ठोस उदाहरण प्रस्तुत गर्नुपर्छ। चार, सामाजिक सञ्जालमा लोकतन्त्रको भाष्य निर्माण गर्नुपर्छ। पाँच, आलोचनालाई शत्रुता होइन, लोकतान्त्रिक अधिकारका रूपमा स्वीकार गर्नुपर्छ। लोकतन्त्र किन संस्थामै टिक्छ ?
राजनीतिक दार्शनिक एलेक्सिस डे टोक्युभिल्लेले लोकतन्त्रको स्थायित्व संस्थाहरूको गुणस्तरमा निर्भर हुने बताएका थिए। त्यस्तै, जुआन लिन्जले व्यक्तिपूजक राजनीतिलाई लोकतन्त्रका लागि दीर्घकालीन जोखिम मानेका छन्।
संस्थाहरू पूर्ण हुँदैनन्। संसद् गल्ती गर्न सक्छ। दलहरू असफल हुन सक्छन्। न्यायपालिका कमजोर हुन सक्छ। तर लोकतन्त्रको समाधान संस्थालाई तोड्नु होइन, सुधार्नु हो। यदि प्रत्येक असफलतापछि नागरिकहरूले नयाँ उद्धारकर्ता खोज्न थाले भने लोकतन्त्र कहिल्यै परिपक्व हुँदैन।
आज नेपालको लोकतन्त्र कुनै सैन्य हस्तक्षेप वा राजतान्त्रिक चुनौतीबाट मात्र जोखिममा छैन। यसको अर्को चुनौती लोकतान्त्रिक संस्थाप्रति बढ्दो अविश्वास र व्यक्तिवादी राजनीतिक संस्कृतिको उदय हो। वालेन्द्र शाह त्यस प्रवृत्तिको एक प्रतीकमात्र हुन्। वास्तविक प्रश्न व्यक्ति होइन, प्रवृत्ति हो।
व्यक्ति होइन, प्रक्रिया; आवेग होइन, विधि
लोकतन्त्रमा लोकप्रिय नेता आवश्यक हुन्छन्, तर लोकप्रिय नेताभन्दा पनि बढी आवश्यक हुन्छन् बलिया संस्थाहरू। किनकि व्यक्ति आउँछन् र जान्छन्, संस्था बाँच्छन्। नेपाली कांग्रेसले यदि आफ्नो ऐतिहासिक भूमिकालाई गम्भीरतापूर्वक बुझ्ने हो भने उसले केवल सरकारपरिवर्तनको राजनीति होइन, लोकतान्त्रिक संस्कृतिको पुनर्निर्माणको अभियान चलाउनुपर्छ।
आफ्नै घरभित्र लोकतन्त्र गहिरो बनाउँदै समाजमा संस्थाप्रतिको विश्वास पुनस्र्थापित गर्नुपर्छ। लोकतन्त्रको भविष्य कुनै एक व्यक्तिको करिश्मामा होइन, नागरिकको चेतना, दलहरूको आत्मसुधार र संस्थाहरूको विश्वसनीयतामा निर्भर हुन्छ। अन्ततः लोकतन्त्र बचाउने प्रश्न कसैले कसैलाई हराउने प्रश्न होइन; यो संस्थालाई व्यक्तिभन्दा माथि राख्ने सभ्यताको प्रश्न हो। जब समाजले व्यक्ति होइन, प्रक्रिया; आवेग होइन, विधि र नायक होइन, संस्था रोज्न सिक्छ– त्यहीँबाट लोकतन्त्र परिपक्व हुन थाल्छ।
प्रतिक्रिया दिनुहोस !