आँखा पाक्ने रोग फैलिएपछि वालिङका विद्यालय ४ दिन बन्द
स्याङ्जा : आँखा पाक्ने रोग फैलिएपछि वालिङ नगरपालिकाले शुक्रबारदेखि सोमबारसम्म नगरभित्रका विद्यालय बन्द गरेको छ।
नगर कार्यपालिकाको कार्यालयले बिहीबार सूचना प्रकाशित गरेर आँखा पाक्ने रोगको संक्रामण चक्रलाई रोक्न बिदा गरिएको जनाएको छ।
नगरपालिकाले सामुदायिक तथा संस्थागत दुबै विद्यालयलाई ४ दिन बिदा गर्न भनिएको प्रमुख प्रशासकीय तेजराज शर्माद्वारा प्रकाशित सूचनामा उल्लेख छ।
आँखा पाक्ने रोग बढ्न थालेपछि बर्षे/हिउँदे बिदाबाट कट्टा गर्नेगरी ४ दिन विद्यालयका पठनपाठन बन्द गरिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए।
उनका अनुसार, ‘वालिङ स्थित आँखा उपचार केन्द्रमा आँखाको उपचार गराउन आउने संक्रमितमध्ये ७० प्रतिशतमा सङ्क्रमण देखिएको पाइयो। सरुवा रोग भएकाले पनि केही दिन विद्यालय बन्द गरेर घरमै आराम गर्न सुझाव दिइएको छ।’
आँखा पाक्ने समस्यामध्ये धेरै बालबालिकामा देखिएको छ।
आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने लक्ष्यण देखिएपछि आँखा जचाउनुपर्छ । एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने हुँदा संक्रमित व्यक्तिले आँखा छोएर अन्य सामाग्री छुँदा पनि संक्रमण फैलिन सक्छ। केही छोएपछि हातलाई साबुनपानीले धुने, स्यानिटाइजर प्रयोग गर्ने र समस्या आए आँखा विशेषज्ञको परामर्श लिनुपर्ने चिकित्सकको भनाइ छ।
आँखा पाकेका मानिसले आँखा मिच्ने, आँखामा पानी छ्याप्ने, जथाभावी औषधिको प्रयोग गर्न हुँदैन भने घरबाहिर निस्कँदा कालो चस्मा प्रयोग गर्नुपर्ने सल्लाह दिइएको छ।
प्रतिक्रिया दिनुहोस !