लघुवित्तमा दोहोरो ऋणी १० लाख

लघुवित्तमा दोहोरो ऋणी १० लाख

एउटै व्यक्तिले कम्तीमा ३–४ वटा र बढीमा १२–१५ लघुवित्त संस्थाबाट ऋण लिने गरेकोमा यसलाई एक व्यक्ति एक वा दुई संस्थाका हिसाबले गणना गर्दा वास्तवमा ऋणी सदस्यको संख्या २४ लाख हाराहारीमा देखिएको हो।

 काठमाडौं : लघुवित्त वित्तीय संस्थामा दोहोरो ऋण लिने प्रवृत्ति बढी भएपछि नेपाल राष्ट्र बैंकले यसलाई कडाइ गर्न निर्देशन दिएसँगै वास्तवमा लघुवित्तमा २४ लाख ऋणी सदस्य रहेका छन्। जबकि यसअघि करिब ३४ लाख ऋणी सदस्य रहेको तथ्यांकमा देखिन्थ्यो। 

एउटै व्यक्तिले कम्तीमा ३–४ वटा र बढीमा १२–१५ लघुवित्त संस्थाबाट ऋण लिने गरेकोमा यसलाई एक व्यक्ति एक वा दुई संस्थाका हिसाबले गणना गर्दा वास्तवमा ऋणी सदस्यको संख्या २४ लाख हाराहारीमा देखिएको हो। यसबीच करिब १० लाख ऋणी सदस्य भने दोहोरो कर्जा लिनेमा देखिएका छन्। 

दोहोरो ऋणका कारण अधिकांश ऋणीले ब्याज र किस्ताको धेरै बोझ हुँदा तिर्न नसकेपछि आन्दोलितसमेत हुँदै आएका छन्। यद्यपि राष्ट्र बैंकले एउटा ऋणी सदस्यलाई बढीमा दुई वटासम्मको लघुवित्तबाट मात्रै ऋण दिन निर्देशन दिएको थियो। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार आयोजित स्वावलम्बन विकास केन्द्रको ३२औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै सरसर्ती हेर्दा झन्डै ३३–३४ लाखले लघुवित्तबाट ऋण लिएको तथ्यांक रहेको तर दोहोरो कर्जा प्रवृत्तिलाई केलाएर हेर्दा वास्तवमा लघुवित्तमा २३–२४ लाखमात्रै ऋणी सदस्य रहेको जानकारी दिए।

यसैक्रममा अहिले लघुवित्तका लागि चुनौतीपूर्ण समय रहेको उनको भनाइ छ। गभर्नर अधिकारी भन्छन्, ‘लघुउद्यमका काम भइरहँदा कतिपयले लघुवित्त चाहिँदैन भन्दै आएको देखिन्छ। कतिपय लघुवित्त संस्थाले यसको सिद्धान्त, मर्मभन्दा बाहिर गएर काम गरिरहेको भन्ने छ। लघुउद्यमीलाई अभिमुखीकरण नपुगेको अवस्था देखियो।’

नेपालमा वित्तीय पहुँच पुर्‍याउन र वित्तीय समावेशी कायम गर्ने सिलसिलामा लघुवित्तले दिएको योगदान महत्त्वपूर्ण रहेको गभर्नर अधिकारी बताउँछन्। राष्ट्र बैंक नियामक निकाय भएकाले यसको नीतिमा केही कमीकमजोरी भए त्यसलाई परिमार्जन गर्दै लैजानेमा गभर्नर अधिकारी सकारात्मक देखिन्छन्।

‘लाइसेन्स पाएका लघुवित्तमा पनि केही कमी कमजोरी भए केही सुधार गरेर लैजाने छौं। थप स्रोत साधनसहितको थप बलियो लघुवित्तीय प्रणाली नेपालमा लागू गर्दै लैजानु पर्नेछ। जसले समग्र आर्थिक विकासका लागि थप टेवा पुर्‍याउन सहयोग पुर्‍याउनेछ। सानासाना रकममा आवश्यक पर्ने वित्तीय स्रोतसाधनको उपलब्धता अरू संस्थाबाट पाउन गाह्रो हुन्छ,’ गभर्नर अधिकारीले भने, ‘यसैकारण केन्द्रीय बैंकले प्रवद्र्धन गरेर नेपालमा ग्रामीण बैंकिङको अवधारणा सुरु गरेको हो। सँगसँगै फिङ्गोमार्फत आएर लघुवित्त प्रणाली नेपालमा लागू भएको हो।’ 

यसैगरी, स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठ लघुवित्तको ऋण दुरुपयोग हुनेगरी प्रयोग भएकाले बढी विकृति देखिएको बताउँछन्। लघुउद्यम गर्न लिएको ऋण महँगो स्कुलमा पढाउने र चाहेको सुविधा दिने, अनेक रमाइलो गर्ने गतिविधिमा लगाउँदा आर्थिक गतिविधि गरी आम्दानी बढाउने काममा नलागेकाले दुरुपयोग भएको उनको भनाइ छ। उनी भन्छन्, ‘ऋण लिएर आर्थिक कारोबार गरी स्तर उकास्न लागि गर्नुपर्ने परिवारका सदस्यहरूबीच फजुल खर्चको बानी भयो।

लघुवित्त कर्मचारीलाई पनि सातामा हुने बैठक मासिक बनाए।’ लघुवित्तको उद्देश्य सिद्धान्त, मूल्यमान्यता, मर्म, संस्कार विधि भत्काउँदै अगाडि बढेकाले लघुवित्तबाट लिएको कर्जाको उपयोग नहुँदा विकृति देखिएको उनको भनाइ छ। ‘कहीँकहीँ एउटै ऋणीले १३/१४ देखि २४/२५ संस्थाबाट समेत ऋण लिएको भेटियो। सरदरमा एउटा ऋणीले पाँच संस्थाबाट ऋण लिएको मान्ने हो भने पनि ७ लाख परिवारले मात्र कर्जा लिएको देखिन्छ,’ उनले थपे। 

यससँगै स्वावलम्बन विकास केन्द्रको प्रबन्ध समिति सदस्य डा. सुमित्रा मानन्धर गुरुङले धनी र गरिबबीचको खाडल पुर्ने नीतिअनुरूप सुरु गरिएको लघुवित्त आज केही हदसम्म पूरा भएको बताउँछिन्। उनले पहिलाको हुम्ला र अहिले लघुवित्त पुगेर सेवा दिएपछिको त्यहाँ आएको परिवर्तनको उदाहरण दिँदै लघुवित्तको महत्त्वबारे प्रष्ट्याइन्। 

स्वावलम्बनले वार्षिकोत्सवको अवसरमा उत्कृष्ट लघुउद्यमी र लघुउद्यमलाई पुरस्कृत तथा प्रशंसापत्र प्रदान गरेको छ। यसैक्रममा उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कार तीन महिला सदस्यमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकी सदस्य बबिता मारेम्लुङ (राई), युनिक नेपाल लघुवित्त वित्तीय संस्थाकी सदस्य फूलकुमारी थारू र उपकार सघुवित्त वित्तीय संस्थाको प्रेमकुमारी बली रहेका छन्। 

यस्तै, संस्थागत रूपमा प्रदान गरिने लघुउद्यमशीलता विकास पुरस्कारमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कार छिमेक लघुवित्त वित्तीय संस्थाले प्राप्त गरेका छन्। यस्तै बनेपाको मानुषी लघुवित्त वित्तीय संस्था, मोरङको जीवन विकास लघुवित्त वित्तीय संस्था  र दाङको नेपाल महिला सामुदायिक सेवा केन्द्रलाई प्रशंसापत्र प्रदान गरिएको छ। यससँगै, मोरङको जीवन विकास लघुवित्त वित्तीय संस्थाको तालिम विभाग प्रमुख रञ्जना निरौला, स्वावलम्बन विकास केन्द्र प्रबन्ध समितिका सदस्यलाई प्रशंसापत्र वितरण गरियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.