पहिरोले गोरखामा एक घर बगायो, सात घरमा क्षति
गोरखा : पहिरोले धार्चे- ६ यार्सामा एक घर बगाएको छ। लगातारको बर्षापछि गएराती गाउँको बीचबाट बग्ने खोल्सामा आएको पहिरोले स्थानीय सुकमाया घलेको घर बगाएको वडाअध्यक्ष धनकुमार घलेले जानकारी दिए।
आइतबार बेलुका ८/९ बजेतिर घर बगाएको उनले बताए। पहिरोले घरमा रहेको नगद, जिन्सी सबै लगेको उनको भनाई छ। ‘एक्कासी घरमाथिबाट पहिरोसहित खोल्सामा बाढी आएछ। अनि मान्छे चाहिँ भागेर ज्यान जोगाएछन्। घरचाहिँ सबै लगेछ’, वडाअध्यक्ष घलेले भने, ‘सात जनाको परिवार छोरीको घरमा शरण लिएर बसेका छन्। खाद्यान्न, लत्ताकपडा केही छैन। उनीहरुलाई तत्काल खाने, बस्ने व्यवस्था गर्न सहयोगको आवश्यकता छ।’
घर पूर्ण रुपमा क्षति नभएपनि सोही बाढी र पहिरोले अन्य सात घर पनि क्षति पुर्याएको छ। भीमबहादुर घलेको घरको भान्सा कोठा लगेको उनले बताए। त्यस्तै टेकबहादुर घले, जयबहादुर गुरुङ, सुनबहादुर गुरुङ, च्याबर घले, धामी घले र आइतीमाया घलेको घरमा बाढी र पहिरोले आंशिक क्षति पुर्याएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !