पाल्पाका मन्दिरमा जनै फेर्ने र डोरो बाँध्नेको भिडभाड
तानसेन : रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसरमा परम्परा संस्कृति जर्गेना गर्न पाल्पाका मठ मन्दिरमा मानिसको भिडभाड देखिएको छ । हिन्दु धर्मालम्वीहरूको जनै पूर्णिमाको ताकाधारी बाहुन क्षेत्रीहरूको जनै फेर्ने र अन्य समुदायमा रक्षा बन्धन बाध्ने चलन रहेको छ ।
पाल्पामा ब्रहमणले बिहानै नदी नाला, ताल तलैया, खोला धारामा पुगी शुद्ध जलले स्नान ऋषि तर्पणी गरेर मन्त्रले मन्त्रिएको जनै परिवर्तन गरी रक्षा कवजको रुपमा हात हातमा रक्षा बन्धन गरेका छन । पाल्पाको विभिन्न मन्दिरमा पण्डित तथा भक्तजनले आत्माको शुद्धिकरण तथा रक्षाको लागि मन्त्रद्वारा शुद्ध बनाइएको धागोबाट हातको नाडीमा रक्षा बन्धन गरेका छन् ।
तानसेनबासी रक्षा बन्धनको लागि अमरनारायण मन्दिर,शिव मन्दिर,भगवती मन्दिरमा पुगेका छन् । आजै बाह्रमण पण्डित आ–आफ्नो जमानको घर–घरमा पुगी रक्षा बन्धन गर्ने जजमाानले दक्षिणा, तथा फलफूल दिने परम्परा रहेको छ ।
आजै ज्वाइहरू ससुराल पुगी रक्षा बन्धन गरिदिने र भान्जाहरू आफ्नो मामा घरमा,पुगी रक्षा बन्धन गर्ने परम्परा रहेको छ । यसैगरी तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई रक्षाको लागि राखी बाधिदिने चलन रहेता पनि आजकल पहाडी क्षेत्रमा समेत यो प्रचलन बढ्दै गएको छ । पाल्पामा पनि आफ्ना दिदी बहिनीले दाजुभाइ राखी बाधिदिएका छन् ।
यसैगरी नेवारी समुदायमा विभिन्न १२ थरीका गेडा गुडी भिजाएर टुसा उमारी क्वाटी खाने परम्परा रहेको छ । क्वाटी खाएमा विभिन्न रोगहरु नलाग्ने र शरीमा रोगसँग लड्ने क्षमता बढाउने जनविश्वास रहेको छ ।