स्याङ्जाको कालीगण्डकीमा बुधबारको खाजा केराको परिकार
स्याङ्जा : कालीगण्डकी गाउँपालिकाले गत सातादेखि केरा र केराबाट बन्ने परिकारका खाजा खान सुरु गरेको छ। गाउँपालिकाले केरा खेती विस्तारसँगै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक साताको एक दिन बुधबार केरा र केराबाट बन्ने परिकारको खाजा खाने नियम बनाइएको गाउँपालिकाका अध्यक्ष खिम थापाले जानकारी दिए।
सो नियम गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, विद्यालयहरु लगायतलाई दिवा खाजाका लागि केरा र यसबाट बनाइने जुनसुकै परिकारको प्रयोगलाई अनिवार्य गर्ने गरी साउन मसान्तका दिन पालिका बैठकले निर्णय गरेको छ।
भदौ महिनाको पहिलो बुधबारका दिन गाउँपालिकाको र कालीगण्डकी अस्पतालको चमेना गृहबाट सुरु गर्ने निर्णय भएको थियो। सोही बमोजिम यी दुबै ठाउँमा केराबाट बनेका मःम, र पकौडा खाएर सुरुवात गरिएको पालिका अध्यक्ष थापाको भनाइ छ।
यसैगरी, अब विद्यालय, वडा र अन्य सरोकारवाला सबैले दिवा खाजाका लागि केरा र केराबाट बनाइने जुनसुकै परिकार खान र खुवाउनु पर्नेछ। केराबाट, केराको फल, सेल रोटी, चुकौनी, ससेज, मम, पकौडा, फ्राई, तारेर, आचार, तरकारी लगायतका धेरै परिकार बनाउन सकिन्छ।
गाउँपालिकाले पालिकामा उत्पादित केराको बजारीकरण र प्रवर्द्धनमा जोड दिंदै यहाँ उत्पादित केरालाई यहीं खपतको अभियान सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे बताउँछन्।
केराको उत्पादन लिएसँगै खेरा जाने सामाग्रीको उपयोग गर्दै घरेलु सामाग्री बनाउन सिकाएको छ। स्थानीय रोजगारसँग जोडिएका छन्। केराको जुस, चप्पल, चकटी, बस्ने कुसन, गलैचा, मुडा, खादा, धागो, टपरी बनाउने र रोजगार दिने योजना अगाडि बढाएको छ ।
गाउँपालिकाका ९० जना किसान सहित ३ विद्यालयलाई जी–९ र झापाली मालभोग जातका २० हजार केराका बिरुवा उपलब्ध गराइएको उपाध्यक्ष सावित्रा कोइरालाले जानकारी दिइन्। पालिकाले प्रत्यक्ष–अप्रत्यक्ष गरी झण्डै ९ सय बढीलाई रोजगार दिने गरी योजना अघि सारेको जनाएको छ।