हर्क साम्पाङको सामाजिक सद्‍भाव बिथोल्ने चेस्टा

हर्क साम्पाङको सामाजिक सद्‍भाव बिथोल्ने चेस्टा

धरान : श्रमदानमार्फत कोकाहा खोलाको पानी ल्याएर र नगरमा एकतर्फी यातायात साधन सञ्चालनको नियम बनाएर वाहवाही पाएका धरानका मेयर हर्क साम्पाङ पछिल्ला गतिविधिले भने आलोचित छन्। धरानमा असहज बनेको सामाजिक सद्भावमा उनका क्रियाकलाप र सामाजिक सञ्चालका उत्ताउला पोस्टिङको प्रमुख हात रहेको सुरक्षा र अन्य विज्ञले बताएका छन्। 

नगर प्रमुख साम्पाङले सामाजिक सद्भाव भड्काउने विभिन्न उठाएर समर्थन र विरोध गर्दै फेसबुकमा लेख्ने गरेका छन्। र, प्रतिक्रियाको पनि गालीको शैलीमा प्रतिक्रिया दिने गरेका छन्। कहिले प्रहरी र प्रशासनलाई समेत गाली गर्ने उनका गतिविधिले सुरक्षा निकायका प्रमुखहरूसमेत हैरान भएकोबताउँछन्। यो समस्यामा उपमेर, वडाध्यक्ष, सदस्य र कर्मचारी पनि परेको स्वयं उनीहरू बताउँछन्। 

लोकप्रिय मतले जितेका स्वतन्त्र उम्मेदवार साम्पाङ विकास र जनपक्षीय कार्यमा धरानमा लोकप्रियसमेत छन्। तर, सामाजिक सद्भाव भड्काउन उनीबाट भएका गतिविधिको भने उनकै समर्थकले समेत आलोचना गर्न थालेका छन्। साम्पाङका समर्थकसमेत रहेका धरान ११ का एनसी राईले मेयरले केही राम्रो काम गरिरहेको भए पनि पछिल्ला गतिविधिहरू ठीक नभएको बताए। उनले नगरप्रमुख भएर गैरजिम्मेवार तरिकारले प्रस्तुत नहुन साम्पाङलाई सुझाव दिए।

जिल्ला प्रशासन कार्यालय सुनसरीले मेयर साम्पाङका अराजनीतिक, असभ्य र अराजक गतिविधि तथा यसबाट उत्पन्न परिस्थितिबारे गृह मन्त्रालयमा जानकारी गराएको प्रशासन स्रोतले जानकारी दियो। मेयर साम्पाङका गतिविधि र अन्य केही समूहका कारण धरानमा सामाजिक तथा राजनीतिक सद्भाव खलबलिने चिन्ताले धरानमा प्रदेशभरिबाट थप प्रहरी ल्याएर परिचालन गरिएको छ।

धरानमा जुनसुकै बेला अप्रिय घटना हुन सक्ने भन्दै सुरक्षा व्यवस्था मजबुत पार्न थप प्रहरी परिचालन गरिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सार्वजनिक पदधारण गरेका धरानका मेयर साम्पाङका विभिन्न क्रियाकलापले धरानको सुरक्षामा गम्भीर चुनौती थपिएको बताइन्। मेयर साम्पाङलाई सभ्य र सरल भएर प्रस्तुत हुन पटक–पटक आग्रह गरिएको उनले जानकारी दिइन्। 

सामाजिक सञ्जालमा लेख्ने र बोल्ने विषयले उनलाई विवादमा त तानेको छ नै, सामाजिक सद्भाव बिथोल्न उद्त रहेको आरोपसमेत उनीमाथि लागेको छ। जसका कारण धरान केही समयदेखि अशान्त बन्दै गएको छ। धरानको सुरक्षा व्यवस्थालाई नजिकबाट नियालेका सुरक्षा विज्ञ भन्छन्, ‘मेयरले दिने प्रतिक्रिया र विचारले नै पछिल्लो समय धरान अशान्त बनेको हो।’

नागरिकका समस्यालाई नजिकबाट नियालेर मेयरमा निर्वाचित भएपछि उनी धरानलाई पानी खुवाउनमा आफैं श्रममा पनि लागे। अनि, नगरवासीलाई पनि लगाए। उनको प्रशंसासमेत भयो। तर, पछिल्लो समय उनको अस्वभाविक प्रतिक्रिया र विचारले सामाजिक सद्भाव बिथोलिन थालेको बताउँछन् धरानका पूर्वमेयर मनोज मेन्याङबो। मेयर साम्पाङले पदीय मर्यादाविपरीत गरेका गतिविधिले धरानमा सामाजिक सद्भाव बिथोलिएको उनको तर्क छ। भने, ‘मेयर साम्पाङले केही राम्रो गर्न खोजे पनि आफ्नै गलत क्रियाकलाप र गैरसंवैधानिक अभिव्यक्तिका कारण सिंगो धरानलाई विवादित पार्न खोजेको छ। धरानका सबै प्रकारका समस्यालाई नगरप्रमुखको नाताले समाधान गरी यहाँ शान्त बनाउन सामाजिक एकता स्थापित गर्न मेरो साम्पाङलाई सुझाव छ।’

पछिल्लो समय मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत राजनीतिक दलका नेता कार्यकर्ता, केन्द्र सरकार, प्रदेश सरकार र मन्त्रीहरूलाई गाली गर्ने गरेका छन्। 

मेयर साम्पाङले गत शुक्रबार भ्रष्टाचारविरुद्ध प्रदर्शनसमेत गरेका थिए। उक्त विरोध कार्यक्रमको ‘फरक अर्थ रहेको’ र शान्ति सुरक्षामा समेत खलल पुग्ने निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले उक्त कार्यक्रम नगर्न मेयर साम्पाङलाई अनुरोध गरेपछि उनले कार्यक्रम स्थागित गरेका थिए। केही दिन अगाडि पनि धरान अशान्त बनेको थियो। त्यसलाई शान्त पार्न २४ घण्टा निषेधाज्ञा नै लगाउनुपरेको थियो। धरानका स्थानीयसमेत रहेका पूर्वमन्त्री मीन विश्वकर्मा धरानको तत्कालीन अवस्थामा सबै जाति र समुदाय एकताबद्ध हुँदै सामाजिक सद्भाव कायम गर्नुपर्ने बताउँछन्। 

धरानमा जुनसुकै बेला शान्ति सुरक्षा खलबलिने भन्दै कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला, सशस्त्र प्रहरीका कोसी प्रदेश प्रमुख डीआईजी अन्जनीकुमार पोखरेल र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले समेत धरानको शान्ति सुरक्षामा चासो दिएका छन्। सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले गैरकानुनी काम गर्ने जो कोहीलाई पनि कारबाही गर्ने चेतावनी दिए।  

यसैबीच, धरानका पूर्वमेयरहरू मनोजकुमार मेन्याङबो, कुमारबहादुर कार्की, तिलक राई र पूर्वउपप्रमुख मीनकुकमार सुब्बाले संयुक्त अपिल प्रकाशित गरी विभिन्न पक्षबाट भएका र सामाजिक सञ्जालमा छरपस्ट अराजक, असहिष्णु विचार बहसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। धरानका सबै राजनीतिक दलहरूले पनि संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी धरानमा सामाजिक सद्भाव कायम राख्न सबैलाई आह्वान गरेका छन्। मेयर साम्पाङले भने आफूलाई सुरक्षा थ्रेड आएको भनेर फेसबुकमा समेत लेखेका छन्। यस सम्बन्धमा मेयर साम्पाङको प्रतिक्रिया लिन पटक–पटक फोन सम्पर्क गर्दा उनले फोन उठाएनन्। 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.