पाल्पाका कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
तानसेन : पाल्पाका कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ ।
भक्तजन बिहानैदेखि नदी,तलाउ,कुवा,धारामा स्नान गरी भगवान श्रीकृष्णको ध्यान गर्दै ब्रत बसेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा तानसेनको कैलाशनगर, भालेवास, मखनटोल, ताहुँको रम्भापानीमा पुजाआजा गर्नेहरूको भीडभाड लागेको छ ।
यसैगरी अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ स्कन पाल्पाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भजन कृतन, गौर आरती, श्रीकृष्ण प्रवचन, श्रीकृष्ण लिलासम्बन्धी नाटक र भक्तजनलाई प्रसाद वितरण कार्यक्रमको आयोजना गरेको छ ।
द्वापर युगमा पृथ्वीमा कंशजस्ता राक्षसहरूको अन्याय अत्याचार बढ्दै गएपछि भगवान विष्णुले आजकै दिन श्रीकृष्णको रुपमा जन्म लिइ देवताका लागि न्याय दिलाएको धार्मिक विश्वास छ।