पुटिनलाई भेट्न रसिया आउँदै उत्तर कोरियाली नेता किम जोङ उन
काठमाडौं : उत्तर कोरियाली नेता किम जोङ उन राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रसिया आउँदैछन्। उनी चढेको रेल रूसका लागि प्रस्थान गरेको दक्षिण कोरियाली समाचार संस्था योनहापले सोमबार एक अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
कोरोना भाइरसको महामारीपछि किमको यो पहिलो वैदेशिक यात्रा हो। कोरोना महामारीका कारण उत्तरी कोरियाका सम्पूर्ण सीमा बन्द गरिएको थियो। कोरोना महामारी सुरू हुनुअघि सन् २०१८ र २०१९ मा ९ पटक विदेश यात्रा गरेका थिए। जसमा रसिया, दक्षिण कोरिया, चीन, सिंगापुर र भियतनाम रहेका छन्।
किमले रूसका राष्ट्रपति पुटिनसँग हतियार सम्झौताबारे छलफल गर्ने अनुमान गरिएको छ। उनले रसियाको प्रशान्त महासागरीय तटमा पर्ने भ्लादिभोस्तोकमा मंगलबार पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
प्योङयाङको ऐतिहासिक सहयोगी रसिया दसकौंदेखि प्योङयाङको महत्वपूर्ण समर्थक रहँदै आएको छ। उनीहरूको सम्बन्ध ७५ वर्षअघि उत्तर कोरियाको स्थापनादेखि नै रहेको छ।
उत्तर कोरियाली नेता किमले युक्रेनमा मस्कोको आक्रमणको समर्थन गर्दै आएका छन्, जसमा रकेट र क्षेप्यास्त्र आपूर्ति पनि समावेश छ। गत जुलाईमा पुटिनले ‘युक्रेनविरुद्ध विशेष सैन्य कारबाहीका लागि प्योङयाङको दृढ समर्थन’को प्रशंसा गरेका थिए।