किन प्रिय बन्दैछ अराजकता ?
![किन प्रिय बन्दैछ अराजकता ?](https://annapurnapost.prixacdn.net/media/albums/aatindra-dahal_choUjEvv0m_xtEidlwBEF.jpg)
देशमा लोकतन्त्रका नाममा कुलिन र ठालुतन्त्रको दबदबा र जगजगी छ।
पछिल्ला केही परिदृश्य तथा परिघटनाले राजनीतिमा नयाँ संशय जन्माएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र यादवमाथि दिनदहाडै खुकुरी प्रहार भयो। श्याम सापकोटाले यस्तो अमानवीय र जंगली हर्कत गरे। नेताहरूले केही पनि राम्रो नगरेकाले निराश भएर आक्रमणमा उत्रन थालेको अभिव्यक्ति दिए। सामाजिक सञ्जालमा यस्तै भाव पोखे।
काठमाडौं महानगरका मेयर बालेन्द्र साहकी श्रीमती सवार सरकारी गाडीसमेत प्रहरीको नियमित चेकजाँच तथा केही सोधपुछमा पर्यो। उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेखे। सिंहदरबारमा आगो लगाइदिने धम्कीसहित सरकारलाई चोरको संज्ञा दिए। आपूm सबैबीच लोकप्रिय छु भन्ने घमण्ड गर्दा घमण्डको प्रदर्शन चाहिँ खासै लोकप्रिय हुँदैन भन्ने सम्झेनन्। व्यापक विरोधपछि उक्त स्टेटस मेटे। पहिलो घटनामा झन्डै एक हजार प्रतिक्रिया र दोस्रोमा त लगभग पाँच लाख लाइक, ५० हजारभन्दा बढी कमेन्ट अनि सेयरसमेत भएका तथ्यांक बाहिर आए।
सांघातिक आक्रमण, हुलहुज्जत तथा गालीबेइज्जतीको राजनीति किमार्थ सभ्य र स्वीकार्य दुवै हुँदैनन्। राजनीतिकर्मीले गाली र सबैखालका नकारात्मक भावलाई पैतलामुनि राखेर सदैव हर्षित मुद्रा र असल आचरणसाथ नागरिकसामु प्रस्तुत हुने सार्मथ्य राख्नुपर्छ। आम नागरिकले पनि त्यस्तो मात्र राजनीतिक संस्कार र आचरणलाई स्वीकार तथा शिरोपर गर्नुपर्छ। कुनै पनि अराजकता, अहंकार तथा घमण्डभावका अभिव्यक्ति र आचरणप्रति सर्वथा असहिष्णु नै बन्नुपर्छ।
यद्यपि यस्ता उष्ण तथा अहंकारपूर्ण अभिव्यक्तिमाथि किन नागरिक मोह तथा वाहीवाहीको वहाव नै निर्माण भयो ? सामाजिक सञ्जालभरि ठीकै गर्यो वा भन्यो भन्ने मनोविज्ञान निर्माण कसरी हुँदैछ ? आक्रमक र अराजक बन्ने पक्षमाथि सद्भाव किन बढिरह्यो ? यी प्रश्न राजनीतिका लागि निकै पेचिलो बनेका छन्। यसको समाधान दिन नसके आगामी राजनीति सबै नेता र दलको लागि महँगो पर्ने निश्चित बन्दैछ। जुन तहमा अहंकार र आक्रमण प्रदर्शन भयो त्योभन्दा बढी सामाजिक सञ्जालमा छरपस्ट भयो। अबको समयमा सामाजिक सञ्जाल सबैभन्दा सशक्त हतियार हो। ‘लाइक वार ः वेपनाइजेसन अफ सोसल मेडिया’ नामको पुस्तकले यसै भन्छ।
यात्राको समय दुर्घटनामा सबैभन्दा बढी दोष चालकको हुन्छ। यदि चालकको नियत खराब अथवा सवारी कौशल कमजोर भएमा जस्तोसुकै आधुनिक एवं सुविधायुक्त र नयाँ सवारी पनि अन्ततः दुर्घटना हुन्छ नै। नेपालको राजनीति लगभग यही स्थितिमा छ। देशको सामुल असफलताको मूल कारकमा करार गरिएको ३० वर्षे पञ्चायत अन्त्य भएको पनि ३३ वर्ष बढी भइसक्यो। गणतन्त्र घोषणाको १५ वर्ष अनि संघीयता कार्यान्वयनको एक कार्यकालसमेत समापन भयो। २०४७ पछि राजनीतिक दलका २४, तत्कालीन राजाका २ र दलरहित १ गरी २७ सरकारहरू बने तर जति सरकार बने पनि संस्कार चाहिँ फेरिएन। हाकिम फेरिए हुकुम र हैकम फेरिएन, शासक फेरिए शासन फेरिएन, खुकुरी फेरिए प्रहार फेरिएन, साहु फेरिए शैली फेरिएन, व्याधा फेरिए तीर फेरिएन, पात्र फेरिए पद्घति फेरिएन, अचानो फेरियो यद्यपि चोट फेरिएन। नागरिकका सास्ती र पीडा झन् भयावह बन्दै गए।
संसारका प्रायः सबै देशले एउटै आन्दोलनबाट मुहार फेरे। सन् १६८८ तिर भएको गौरवमय राज्यक्रान्तिले बेलायतलाई, १७८९ को क्रान्तिले फ्रान्सलाई, १९१७ को अक्टोवर क्रान्तिले रूसलाई, १९५० को परिवर्तनले चीनलाई, १९४५ को स्वतन्त्रता संग्रामले भारतलाई निकै अगाडि पुर्याए। त्यसपछि उनीहरू निरन्तर आर्थिक समृद्घिमा होमिए। आन्तरिक एकताको आधारमा अन्तर्राष्ट्रिय सार्मथ्यता प्राप्त गरे। तर हामी जहिल्यै आन्दोलन गर्ने व्यवस्था फेर्नेमा लाग्यौं। परिणाम आज व्यापार घाटा उच्च छ। अधिकांश जनशक्ति बिदेसिँदो छ। विपे्रषणको आधारमा बाँचेका छौं। सदैव संक्रमणकालमा रुमलिएका छौं। सुशासन र सेवप्रवाह कमजोर छ, भ्रष्टाचार मौलाउँदो छ। आफ्नो उपचार विदेशमा गराउने नेताहरू छन्, जनतालाई स्वास्थ्य महँगो छ। नेताका विलासी जीवन, राजषी ठाँट, परिवारवाद अनि राजनीतिको आपराधीकरण, भागबन्डा नियमित छन्। आर्थिक सम्पन्नता, अन्तर्राष्ट्रिय सक्षमता, आन्तरिक सहकार्य र सहिष्णुता धराशायी छ। कुनचाहिँ कुरा छ जसमा हामी गर्वका साथ नेताहरूलाई धन्यवाद दिन सक्छौं ? उच्च नेता र नेतृत्व सदैव नाजायज फाइदा लिनेमा सामूहिक सौदाबाजी अनि सहकार्यमा व्यस्त छन्। सेवा कमजोर र स्वार्थचाहिँ अजंग बन्दैछ।
नागरिकमा नेतृत्वप्रति चरम वितृष्णा र उष्ण आक्रोश व्याप्त छ। उनीहरूका अभिव्यक्ति सही थिएनन् तर असत्य थिएनन्। नेतृत्वले नागरिकबाट सम्मान कमाउने हो, जबर्जस्त माग्ने होइन। कोही पनि नागरिकमा देश र नेतृत्वलाई गाली गर्ने सोख हँुदैन। सकेसम्म आफ्नो देशप्रति गौरव गर्न सक्ने वातावारण होस्। सरकार र नेताको खुलेर प्रशंसा गर्न सकियोस्। कसैले जानी अथवा नजानी देश अनि सरकारमाथि गलत वा दुराशययुक्त दृष्टिकोण बनाएमा सशक्त मुकाविला गर्न मन लागोस्। खोजेको त नागरिकले पनि यही हो। तर देशमा लोकतन्त्रका नाममा कुलिन र ठालुतन्त्रको दबदबा र जगजगी छ। जसले कहिल्यै नागरिकमा गौरवपूर्ण अवस्थाको निर्माण गरेन्।
यस्ता घटना हुनु कदापि शोभनीय हैन, तर स्वय नेतृत्वले यस्तो वातावरण निर्माणमा भूमिका खेलिरहेको त छैन ? कुनै पनि समस्याको परिणाम अथवा नतिजाभन्दा पनि यसको कारण महŒवपूर्ण हुन्छ। कारणको नियन्त्रण र उपचार नगरेसम्म केवल सतही प्रभावको मात्र बहसले कुनै समाधान दिँदैन। तसर्थ नेृतत्वले सम्मान कमाउने काम गर्नुपर्छ। जनताको धैर्य र पखाईको बाँध फुट्यो भने त्यो नेृतत्वका लागि नियन्त्रण बाहिर जान सक्छ। अनि नेतृत्व निष्प्रभावी र नागरिक प्राथमिकताबाट विमुख भएमा त्यसविरुद्ध सशस्त्र अथवा निशस्त्र जेहाद नै छेडिने डर हुन्छ। त्यसै गरेर अहिलेसम्मका राजनीतिक परिवर्तन भएका छन्। जनताले पनि त्यस्तो अभिव्यक्ति र अभ्यास गरेर धावा बोल भनेका अवश्य छैनन्। तर कहीँकतैबाट गलत भएमा आफ्नो नेतृत्व जोगाउन अग्रसर बन्नुपर्छ र हिजोको जस्तो नेताको सुरक्षा र सम्मानमा खटिनुपर्छ भन्ने मान्न पनि तयार छैनन्।
नेतृत्वले अभिमानको सयर गर्न खोज्दा नागरिकमा अराजकता प्रतिमोह बढेको हो। केवल समाजमा अराजकता बढ्यो भनेर पुनः नागरिकलाई नै खै गरेर यो समस्या समाधान हुँदैन। जनताको प्रिय बनेर उनीहरूबाट साथ र सहयोग लिन अभ्यास गर्नुपर्छ। जनताको मन जित्न सफल हुनुपर्छ, अराजकताको ग्राफ आफैं तल आउँछ। अराजकता जनताको अभिरुचि कदापि हुँदैन, तर नचाहेरै पनि कहिलेकाहीँ त्यसमा आनन्द महसुस हुन सक्छ। अहिले भएको यही नै हो। नेतृत्वले नै यसको उपचार खोज्नुपर्छ र यसको सुरुवात नेतृत्व कौशलको व्यापक परिमार्जन र प्राथमिकता परिवर्तनमार्पmत हुनुपर्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)