नेपालगञ्जमा स्याउ बिक्री गर्दै जुम्लाका व्यापारी महिला
जानकी (बाँके) : जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीया कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको छ।
भदौको २६ गतेदेखि उनलाई नेपालगञ्जमा ल्याइएको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको हो। किलोको रु ११० देखि रु १४० सम्म जुम्लाको हावापानीमा फलेको स्याउ खरिद गर्न बिहानैदेखि नेपालगञ्जको धम्बौझीमा ग्राहक भेटिन्छन्।
बिहान मर्निङ वाक गर्नेदेखि मन्दिर जानेले समेत प्राङ्गारिक स्याउ किन्ने भएकाले कर्मकन्या नेपालगञ्जको धम्बौझी चोकमा कार्टुनमा स्याउ बिक्री गर्न बस्छन्। बिहानदेखि बेलुकासम्म स्याउ बिक्री हुने भएकाले आफूले खाना पनि ग्राहक नआएका बखत मेसो मिलाएर खाने गरेको उनी सुनाउँछन्।
“बिहानदेखि बेलुकासम्मै स्याउ बिक्री गर्न बस्नुपर्छ खाना खाने समयको टुङ्गो हुँदैन। ग्राहक नआएको मौका छोपेर खाना खाने गर्छु।” कर्मकन्या भन्छिन्। असोजको दोस्रो हप्तासम्म स्याउ बिक्री गरेर जुम्ला फर्कने योजना रहेको बताएकी उनी अझै ४० कार्टुन स्याउ जुम्लाबाट मगाएको पनि बताउँछन्।
अहिलेसम्म २० कार्टनु स्याउ बिक्री गरी सकेकी कर्मकन्या स्याउ बिक्री गर्न बाँकी नै भएकाले नाफा कति भयो भन्ने हिसाब नगरेको उनको भनाई छ। “स्याउ बिक्री गर्न अझै बाँकी नै भएकाले अहिलेसम्म कति नाफा भयो भनेर हिसाब गरेको छैन। यता स्याउ झार्नका लागि जुम्लामा स्याउ टिप्न लगाएको छु। नाफा घाटाको हिसाब असोजको दोस्रो हप्तामा गर्ने हो।” उनले भनिन्।
कर्मकन्याजस्तै सोही गाउँपालिका–६ गोरुचौरकी राजकन्या रोका पनि जुम्लाबाट स्याउ बिक्री गर्न नेपालगञ्ज झरेकी हुन्। उनले भदौको २५ गते तीनसय त्रिचालिस पेटी स्याउ लिएर नेपालगञ्ज आएकी थिइन्। हालसम्म तीनसय तीन पेटी स्याउ बिक्री गरी सकेको राजकन्या बताउँछिन्।
एउटा पेटीमा २० किलो स्याउ हुने भएकाले उनले १२ दिनमा लगभग ६० क्विन्टल स्याउ बिक्री गरिसकेकी छन्। अझै ४० पेटी स्याउ बिक्री गर्न बाँकी नै रहेको र थप २० देखि २२ पेटी स्याउ जुम्लाबाट मगाउने योजना जानकारी दिँदै राजकन्या स्याउ बिक्री गर्न बाँकी भएकाले नाफाको हिसाब नगरेको बताइन्। - रासस
यो समयमा नेपालगञ्जको मुख्य चोक धम्बौझी, कारकाँदो, सेतु विक, पुप्पलाल, गणेशमान, बसपार्कलगायत स्थानमा जुम्लाबाट स्याउ लिएर महिला व्यापारी आफैँ बिक्री गर्न आएका हुन्। जाजरकोटका महिला व्यापारीले पनि जुम्लाको खरिद गरेर बिक्री गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !