संविधान विपरित रहेको शिक्षा विधेयक २०८० तत्काल फिर्ता गर
तत्काल पठनपाठन सूचारु नगरे शिक्षकलाई कारबाही गर्ने काभ्रेका पालिका प्रमुखको चेतावनी
काभ्रे : काभ्रेमा तत्काल विद्यालयको पठनपाठन सूचारु नगर्ने कारबाही गर्ने स्थानीय तहका मेयर/अध्यक्षले चेतावनी दिएका छन्। शुक्रबार धुलिखेलमा बसेको स्थानीय तहका अध्यक्ष प्रमुखहरूको जिल्लास्तरीय बैठकले तत्काल विद्यालयहरुमा पठनपठान सूचारु गर्न निर्देशन दिएका हुन्।
मोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाको संयोजकत्वमा बसेको बैठकले एक विज्ञप्ति जारी गर्दै बन्द रहेको विद्यालय तत्काल सूचारु गर्न निर्देशन दिएका हुन्। अनिश्चितकालिन विद्यालय बन्द गरेर शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा रहँदा विद्यार्थीहरूको अधिकार हनन् भएको उनीहरुको ठहर छ।
विद्यालय बन्दको कारण बालबालिकाको विद्यालय जाने अधिकारबाट बञ्चित हुन पुगि शिक्षामा ठूलो असर भएकाले सबै सरोकारवालाहरू संवेदनशील र गम्भीर भई तत्काल विद्यालय सञ्चालन गर्नुपर्ने निष्कर्ष स्थानीय सरकारहरूका नेतृत्वहरूले निकालेका छन्। यदि तत्काल विद्यालय सञ्चालन नगरेमा स्थानीय सरकारले संविधानमा रहेका संवैधानिक व्यवस्था अनुसार पठनपाठन सुचारु गर्न बाध्य हुने विज्ञप्तिमार्फत शिक्षकहरुलाई चेतावनी दिएका छन्।
बैठकले नेपाल सरकारले संसदमा छलफलको लागि पेश गरेको शिक्षा विधेयक २०८० तत्काल फिर्ता गर्न पनि काभ्रेका स्थानीय सरकारका प्रमुखहरूले आग्रह गरेका छन्। उक्त बैठकले संसदमा पेश भएको विद्यालय शिक्षा विधेयक संविधान विपरित रहेकोले गर्न आग्रह गरेका हुन्। शिक्षा विधेयक तत्काल फिर्ता गरी सर्वपक्षीय छलफलको माध्यमबाट विद्यालय शिक्षा विधेयक २०८० संशोधन गर्न आवश्यक रहेको पनि ठहरसहित अनुरोध गरेका छन्।
‘विद्यालय शिक्षा विधेयक २०८० को प्रावधानप्रति पनि असहमति जनाउँदै शिक्षकहरुले सञ्चालन गरेको आन्दोलनको कारण भएको विद्यालय बन्दले बालबालिकाको पठनपाठनमा परेको असरप्रति काभ्रे जिल्लाको स्थानीय सरकारहरुको गम्भीर ध्यानाकर्षण भएको छ।’विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय शिक्षा विधेयक २०८० को कतिपय प्रावधान संविधान विपरीत देखिएकाले उक्त विधेयक यथाशीघ्र फिर्ता गरेर सर्वपक्षीय छलफल तथा वार्ताबाट संविधान अनुकूल विद्यालय शिक्षा विधेयक तयार गरेर मात्रै संसदमा पेश गर्न आग्रह गर्दछ।’
विज्ञप्तिमा १३ स्थानीय तहमध्ये ९ स्थानीय तहका प्रमुखहरूले हस्ताक्षर गरेका छन्। विज्ञप्तिमा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, चौरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चौलागाई, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगम र रोशी गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाईबा रहेका छन्।
शुक्रबार भएको छलफलमा जिल्लाको पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँ पालिका र तेमाल गाउँ पालिकाले उपस्थिति जनाएको छैन।

प्रतिक्रिया दिनुहोस !