कोशीमा मिलीजुली सरकार बनाउन नेकपा एमाले तयार छ : भौतिक योजना मन्त्री कार्की
झापा : कोशी प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री एकराज कार्कीले मिलीजुली सरकार बनाउन नेकपा एमाले तयार रहेको बताएका छन्।
शनिबार भद्रपुरमा आयोजित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २४ औ वार्षिक साधारण सभालाई बोल्दै मन्त्री कार्कीले ठूलो दलको हैसियतले एमाले नेतृत्वको सरकार कोशीमा बनेको बताए। ‘जनताको मताधिकारको रक्षा र स्थायी सरकारका गठनका लागि हामी तयार छौँ,’ मन्त्री कार्कीले भने, ‘विपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँग हातेमालो गरेर मिलीजुली सरकार बनाउनु नै अहिलेको आवश्यकता हो। बहुमत कसैको पुग्दैन। ‘त्यसैले मध्यावधि निर्वाचनमा जानुभन्दा पनि जनताको मताधिकारको सम्मान र रक्षा गर्नु नै हामी सबैको दायित्व हो,’ उनले भने।
प्रदेश नामाकंनको विषयमा आन्दोलित पहिचानवादीहरूका बारेमा बोल्दै मन्त्री कार्कीले भने, ‘राजनीतिक दलहरूको समर्थनमा संविधानसम्मत दुई तिहाइ बहुमतले कोशी प्रदेशको नामकरण गरिएको सर्वविदितै छ।’ ९४ जातजाति भएको यस प्रदेशमा जातीय आधारमा प्रदेशको नामकरण गर्दा थप जटिलता आउन सक्ने बताउँदै उनले भने, ‘पहिचानवादीहरूलाई वार्तामा आएर समस्याको समाधान गर्न आग्रह गर्न चाहन्छु।’
देशका अन्य ६ प्रदेशमा भौगोलिक बनावटका आधारमा प्रदेशको नामकरण गरिएको छ। त्यहाँ कुनै विवाद र समस्या आएन। ‘कोशीमा भौगोलिक बनावटका आधारमा नामकरण गर्दा किन विवाद ल्याइयो, यो पनि सबैले बुझ्न जरुरी छ,’ उनले थपे।
संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९/८० मा संस्थाको कुल पुँजी तथा दायित्व १० करोड ३४ लाख २३ हजार ६ सय २२ रुपैयाँ र नाफा २० लाख १ हजार ५४४ रुपैयाँ रहेको बताएका छन्।
संस्थाले २९ जना शेयर सदस्यलाई उपचार खर्च बापत २ लाख ६ हजार ६४० रुपैयाँ र राहत लिने २० जना सदस्यलाई १ लाख ५४ हजार रुपैयाँ वितरण गरिएको उनले बताए। कार्यक्रममा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था र नेपाल निजामती कर्मचारी संगठन झापाले भर्खरै नियुक्त भएका मन्त्री कार्कीलाई जन सेवामा उल्लेखनीय कार्य गरेको भन्दै सम्मान गरेको थियो।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश इन्चार्ज लक्ष्मीप्रसाद गुरागाईं बचत तथा ऋण सहकारी संघका बिपी भट्टराई, कर्मचारी संगठन झापा अध्यक्ष केदार पोखरेल लगायतले मन्तव्य राखेका थिए।