सुन्तलाको नयाँ जात 'पारिपात्ले अगौटे–१' किसानलाई सिफारिस

सुन्तलाको नयाँ जात 'पारिपात्ले अगौटे–१' किसानलाई सिफारिस

धनकुटा : राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटाले सुन्तलाको नयाँ जात विकास गरी किसानलाई सिफारिस गरेको छ।

१५ वर्षभन्दा लामो अवधिसम्म अनुसन्धान गरी अगौटे सुन्तलाको जात पारिपात्ले अगौटे–१   (ओकिचुवासे) पूर्वदेखि पश्चिमसम्मका मध्य पहाडमा खेती गर्न किसानलाई सिफारिस गरिएको राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटाका वरिष्ठ वैज्ञानिक डा. उमेशकुमार आचार्यले बताए। 

नयाँ जातका रूपमा विकास गरिएको पारिपात्ले अगौटे–१ किसानहरूले व्यावसायिक रूपमा खेती गर्न सक्ने वरिष्ठ वैज्ञानिक आचार्यको भनाइ छ। 

यो जात उन्सु बाली अन्तर्गत पर्दछ। नयाँ जात  नेपाल कृषि अनुसन्धान परिषदमा सिफारिस गरेर सरकारको राजपत्रमा प्रकाशन समेत गरिएको छ। 

अहिले नेपालमा खेती हुने मुख्य सुन्तलाको बालीको फल पुस/माघ महिनातिर पाक्ने गर्छ। जसको कारण दसैंतिहारमा विदेशबाट फलफूल आयात गर्नुपर्ने बाध्यता छ। तर पारिपात्ले अगौटे–१ भदौदेखि असोज महिनाभित्र पाक्ने भएकाले केही हदसम्म फलफूलको आयात प्रतिस्थापन गर्ने उनको भनाइ छ। 

कार्यालयले दिएको जानकारी अनुसार यो जातको बोट मध्यम आकारको फैलिने प्रकृतिको हुन्छ। कलमी गरेको १५ वर्ष जतिको बोट १.३ मिटर जतिको हुन्छ। यस बोटमा सेतो रंगको फूल फागुनको अन्तिम सातातिर फुल्छ। 

चम्किलो सुनौलो रंगका फलहरू औषतमा १३६ ग्रामसम्मका हुन्छन्। बीउरहित १०–१२ केस्रो हुने फलको ९ प्रतिशत सम्म गुलियो तथा ०.९ प्रतिशतसम्म अमिलो हुन्छ। 

यो जातको व्यावसायिक खेती समुन्द्र सतहबाट ८०० देखि १४ सय मिटरको उचाइसम्म उपयुक्त हुने बताइएको छ। तापक्रम ५ देखि ३५ डिग्रीसम्म भएको तुसारो नपर्ने क्षेत्र यस जातको खेतीको लागि राम्रो हुने आचार्यले बताए। 

उनका अनुसार बिजुभन्दा कलमी बिरुवा प्रयोग गर्नु उत्तम हुन्छ। तिनपाते, सिट्रेज आदि रुटस्टकमा स्पलाइस वा भिनियर तरिकाबाट पुस–माघ महिनामा वा जेष्ठ साउनको महिनामा कलमी गरी बिरुवा उत्पादन गरिन्छ। 

पारिपात्ले अगौटे–१ जातको बिरुवाहरूलाई मत्थर जमिनमा वर्गाकार र भिरालेमा गरा कान्ला बनाई कन्टुर तरिकारबाट रोपण गरिन्छ। सुन्तलाको बोट ३ मिटर लाइन देखि लाइन र ३ मिटर बोट देखि बोटको दुरीमा रोप्नु पर्छ। 

बिरुवा रोपेको ३–४ वर्षसम्म लहरा नजाने कोशे तरकारी बालीहरू प्याज, लसुन, रायो आदि खेती गर्न सकिने तर बहुवर्षीय र धेरै खाद्य तत्व लिने बालीहरू (मकै, कोदो, गहुँ) लगाउन नहुने वैज्ञानिकहरू सुझाउँछन्। 

प्रतिहेक्टर १२ टनको हाराहारीमा उत्पादन हुने यो जात उच्च घनत्वमा खेती गर्दा किसानको बगैचामा १५ टन/हेक्टरसम्म फलेको पाइएको वरिष्ठ वैज्ञानिक डा. आचार्यले बताए। 

यस जातको फललाई ७५ प्रतिशत पहेले हुँदा टिपेर शीत भण्डारण घरमा ८–१२ डिग्री सेन्ट्रीग्रेड र ८५ प्रतिशत आद्रता राखी भण्डारण गर्दा दुई महिनासम्म भण्डारण गर्न सकिने उनको भनाइ छ। 

उनका अनुसार पारिपात्ले अगौटे–१ को उन्नत बिरुवा यस कार्यालयले उत्पादन गरिरहेको र मागका आधारमा किसानलाई उपलब्ध गराइने छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.