कृषि सामग्री कम्पनीको झन्डै १० करोड केजी मल उठेन
काठमाडौं : कृषि सामग्री कम्पनीका विभिन्न जिल्लास्थित वितरण व्यवस्था महाशाखाबाट झन्डै १० करोड केजी रासायनिक मल उठेको छैन।
कृषि कम्पनीको जिल्ला शाखा कार्यालयमा रहेको ९ करोड ८२ लाख ३५ हजार ४ सय ५० किलो रासायनिक मल नउठाएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। जिल्लास्थित शाखा कार्यालयमा केन्द्रले मल पठाएपनि उठ्न नसक्दा किसानले समयमा मल प्राप्त गर्न सकेको अवस्था देखिँदैन।
कोशी प्रदेशका शाखा कार्यालयमा १ करोड १९ लाख ५४ हजार ५ सय केजी युरिया मल मौज्दात रहेको छ भने डीएपी २० लाख ९२ हजार ६ सय केजी मौज्दात छ। यस्तै, पोटास ३२ लाख ४८ हजार ८ सय ५० केजी मौज्दात रहेको कम्पनीको तथ्यांक छ।
यस्तै, मधेस प्रदेशको शाखा कार्यालयबाट पनि रासायनिक मल नउठाएको अवस्था छ। यो प्रदेशमा विभिन्न शाखा कार्यालयमा ३ करोड ११ लाख ३१ हजार २ सय केजी युरिया, १ करोड १४ लाख ५६ हजार २ सय केजी डीएपी र ५५ लाख ८४ हजार ६ सय केजी पोटास मल मौज्दात छ।
यस्तै, बागमती प्रदेशमा ४० लाख ९३ हजार ३ सय केजी युरिया, ५ लाख ९९ हजार १ सय ५० केजी डीएपी र २ लाख ५१ हजार ७ सय ५० केजी पोटास मौज्दात रहेको कृषि कम्पनीको तथ्यांक छ।
गण्डकी प्रदेशका जिल्ला शाखाहरूमा ४ लाख ६ हजार ६ सय ५० केजी युरिया, १ लाख ३० हजार ८ सय केजी डीएपी र ६१ हजार ८ सय केजी पोटास मौज्दात छ। तर यहाँबाट पनि मल नउठाइएको अवस्था छ। यसैगरी, लुम्बिनी प्रदेशका जिल्ला कार्यालयमा १ करोड ५० लाख ३५ हजार ८ सय ५० केजी युरिया, ४६ लाख ४३ हजार ९ सय केजी डीएपी र ४४ लाख १२ हजार ४ सय केजी पोटास मौज्दात छ।
कर्णाली प्रदेशका कृषि कम्पनीका जिल्ला शाखामा २ लाख १२ हजार २ सय ५० केजी युरिया, ७४ हजार ६ सय ५० केजी डीएपी, ४८ हजार ९ सय ५० केजी पोटास मौज्दात छ। यस्तै, सुदूरपश्चिम प्रदेशस्थित कृषि कम्पनीका जिल्ला शाखामा २४ लाख ५४ हजार १ सय केजी युरिया, २ लाख ९३ हजार २ सय ५० केजी डीएपी र ४ लाख २३ हजार २ सय केजी पोटास मौज्दात छ।
प्रतिक्रिया दिनुहोस !