कोशीमा विपद पूर्व तयारी तीव्र

कोशीमा विपद पूर्व तयारी तीव्र
फाइल फोटो
सुन्नुहोस्

विराटनगर : मनसुन सुरु भएसँगै बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्का घटनाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न कोशी प्रदेश सरकारले पूर्व तयारीलाई तीव्र बनाएको छ । 

सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी सम्भावित जोखिम व्यवस्थापनका लागि आवश्यक रणनीति अघि बढाउने निर्णय गरिएको हो । विराटनगरस्थित बिग होटलमा बिहीबार सम्पन्न प्रदेशस्तरीय सुरक्षा समन्वय समितिको बैठकले मनसुनजन्य विपद्को सम्भावित असर, चुनौती तथा त्यसको व्यवस्थापनको उपायका बारेमा विस्तृत समीक्षा गरेको छ । 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको अध्यक्षतामा तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको छ । बैठकले विगतका वर्षहरूमा भएका बाढी, पहिरो, कटान र डुबानका घटनाको अध्ययन गरी यस वर्षको तयारीलाई थप सुदृढ बनाउने निष्कर्ष निकालेको छ । विशेष गरी उच्च जोखिममा रहेका क्षेत्रहरूको पहिचान गरी त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा सार्न आवश्यक पूर्व तयारी गर्ने, सुरक्षित आवासको व्यवस्था मिलाउने तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।

विपद्को समयमा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न आवश्यक सामग्रीहरूको पर्याप्त मौज्दात सुनिश्चित गर्ने, तालिम प्राप्त सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राख्ने र प्रहरीसहितका सुरक्षा निकायको परिचालनलाई थप व्यवस्थित बनाउने विषयमा पनि बैठकमा सहमति भएको छ । साथै, स्थानीय तह, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा अन्य सरोकारवालाबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

बैठकले विराटनगर महानगरपालिका–१६ र झापाको मेचीनगर नगरपालिका–६ मा रहेका होल्डिङ सेन्टरलाई सञ्चालनमा ल्याई लागुऔषध दुव्र्यसनमा फसेका युवा–युवतीहरूको उपचार, सुधार र पुनस्र्थापनामा उपयोग गर्ने प्रस्ताव समेत अघि बढाएको छ । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन कार्यदल गठन गरी संघीय सरकारसँग समन्वय गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी, वर्षाका कारण इलाममा क्षति पुगेका घरहरूको पुनर्निर्माणका लागि आवश्यक लागत रकम स्वीकृत गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ । कार्यक्रममा कोशी प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, प्रदेशस्तरीय सुरक्षा समितिका पदाधिकारी, झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्ला प्रहरी प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सहभागीहरूले मनसुनजन्य विपद् आउनुअघि गरिएको प्रभावकारी तयारीले जनधनको क्षति न्यून गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। कोशी प्रदेशमा हरेक वर्ष मनसुनसँगै बाढी, पहिरो, कटान र डुबानका घटना दोहोरिने गरेका छन् । विपद्का कारण बर्सेनि ठूलो जनधनको क्षति भइरहेको छ । यही अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले यस वर्ष विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सबै सम्बन्धित निकायलाई उच्च सतर्कता र तयारीका साथ काम गर्न निर्देशन दिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.