बढ्दै पर्यटक, उत्साही व्यवसायी

बढ्दै पर्यटक, उत्साही व्यवसायी

काठमाडौं : कोभिड अघि पर्यटन क्षेत्र भरभराउँदो थियो। पर्यटकले होटलहरू खचाखच हुन्थे। सन् २०१९ को ८ महिनामा मात्रै ६ लाख १५ हजार ६ सय ६० पर्यटक आएका थिए। कोभिडका कारण झन्डै तीन वर्ष थला परेको पर्यटन क्षेत्रमा आशाका किरण देखा परेका छन्। सन्, २०२३ को ८ महिनामा ६ लाख १ हजार ३ सय ६० पर्यटक भित्रिसकेका छन्। पर्यटन क्षेत्र जुर्मुराउन थालेको भन्दै व्यवसायी उत्साहित बनेका छन्। 

सन् २०२३ पर्यटनका लागि सुखद् वर्ष बनिरहेको छ। सुखद् यस मानेमा छ कि कोभिडपछि पर्यटन क्षेत्रको पुनरुत्थान करिब ९८ प्रतिशतले भएको छ। पर्यटन क्षेत्रमा लगानी बढेको छ। पर्यटक संख्यामा पनि उत्साहजनक वृद्धि देखिएको छ। सरकारले सन् २०२३ मा १० लाख पर्यटक भिœयाउने लक्ष्य सरकारको छ। पर्यटन व्यवसायीहरू भने पर्यटक संख्या बढाउने एकमात्र हतियार बजारीकरण रहेको तर्क गर्छन्।

महामारीका कारण सन् २०२० र सन् २०२१ मा पर्यटक आगमन संख्या क्रमशः २ लाख ३० हजार र १ लाख ५१ हजारमा सीमित रहन पुगेको थियो। सन् २०२२ मा पर्यटक आगमनमा वृद्धि भई ६ लाख १४ हजार ८ सय ६९ पुगेको थियो। सन् २०२३ को अगस्ट महिनामा ६७ हजार १ सय ५३ विदेशी पाहुनासहित ८ महिनासम्म ६ लाख १ हजार ३ सय ६० पर्यटक नेपाल आएका छन्। अबको ४ महिनामा करिब ४ लाख पर्यटक आउने अपेक्षा बोर्डको छ। पर्यटकीय मौसम शरद ऋतु सुरु भइसकेको र पर्यटकहरूले गर्ने बुकिङ पनि बढेकाले सजिलै १० लाख पर्यटक भित्रिने नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछाने बताउँछन्।

मुलुकको राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६/२०२५ ले सन् २०२५ सम्ममा वार्षिक २५ लाखभन्दा बढी पर्यटकहरूको भ्रमण गराउने लक्ष्य लिएको थियो। यस अवधिमा स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक वार्षिक औसत ७ लाख ३४ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन्। सन् २०२२ मा पर्यटकको औसत बसाइ अवधिमा केही कमी आएको छ। यस अवधिमा पर्यटकको औसत बसाइ १३.१ दिन रहेको र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर छ। सन् २०२० र सन् २०२१ मा पर्यटकको बसाइ अवधि औसत क्रमशः १५.१ दिन र १५.५ दिन रहेको थियो।

भारत र चीनबाट धेरै 

सन् २०२३ को पछिल्लो आठ महिनामा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल घुम्न आएका छन्। अगस्टमा २६ हजार ६ सय ६५ भारतीय हवाईमार्गबाट घुम्नका लागि नेपाल आएका हुन्। त्यसपछिको दोस्रो स्रोत बजार चीन रहेको छ। यो अवधिमा ५ हजार २७ जना चिनियाँ पर्यटक नेपाल आएका छन्। अमेरिकाबाट ४ हजार ६ सय २९, श्रीलंकाबाट ३ हजार ८ सय ५८, बंगलादेशबाट ३ हजार १ सय ९०, यूकेबाट २ हजार ७ सय ११, स्पेनबाट १ हजार ५८, जापानबाट १ हजार ५ सय २०, इटलीबाट १ हजार ४ सय ९६ र अष्ट्रेलियाबाट १ हजार ३ सय ४७ पर्यटक नेपाल आएका छन्।

भारतबाट हवाईमार्गभन्दा स्थलमार्गबाट आउने पर्यटकको संख्या बढी छ। करिब २० लाख भारतीय स्थलमार्गबाट नेपाल आउने गरेको अनौपचारिक तथ्यांक छ। खुला सिमानाका कारण एकिन तथ्यांक राख्न नसकिएको बोर्डको भनाइ छ। पछिल्लो समयमा चीनबाट आउने पर्यटकको संख्या पनि वृद्धि भइरहेको छ। चीनले नेपाललाई पनि पर्यटक गन्तव्य मुलुकमा समावेश गरेपछि चिनियाँ पर्यटक बढ्न थालेका हुन्।

nullमनास्लु बेसक्याम्पमा निर्माण गरिएका आरोहीहरूको बस्ती। तस्बिर : सेभेन समिट एक्स्पिडिसन कम्पनी

पछिल्लो समय पर्यटन क्षेत्रमा चीनको लगानी पनि बढिरहेको छ। सञ्चालनमा आएका २ अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवामा पनि चीनको लगानी छ। चिनियाँ पर्यटक लक्षित धेरै व्यापार–व्यवसाय पनि सञ्चालनमा आएका छन्। देशभरिमा करिब ५ सय होटल तथा रेष्टुराँ चिनियाँ लक्षित खुलेको बोर्डको तथ्यांक छ। प्रायः समूहमा हिँड्ने चिनियाँहरू नेपालमा साहसिक पर्यटन र घुमघाम गर्न रुचाउँछन्।

काठमाडौं, पोखरा, चितवन, लुम्बिनीलगायत सांस्कृतिक पर्यटनसँगै प्याराग्लाइडिङ, छोटो दूरीका पदयात्रामा चिनियाँ पर्यटक रमाउँछन्। चीनका धेरै सहरहरूमा नेपालबाट सीधा उडानले पनि पर्यटक बढाउन सघाउने व्यवसायीहरू बताउँछन्। 

नेपालमा पर्यटक के–के गर्न आउँछन्

प्राकृतिक सुन्दरताले भरिपूर्ण देशमा मनोरन्जनका लागि पर्यटक आउने गरेका छन्। करिब ६५ प्रतिशत मनोरन्जनका लागि नेपाल आउने गरेका छन्। यहाँको प्राकृतिक सुन्दरता हेर्न र घुम्नका लागि पर्यटक लोभिने गरेको पर्यटन विज्ञ दीपकराज जोशी बताउँछन्। विश्वमा कोभिडपछिको पर्यटक घुम्ने गन्तव्य मुलुकहरूको प्रवृत्तिमा परिवर्तन भएको छ। पहिला सहर र भीडभाडका क्षेत्रमा बढी पर्यटक जाने गरेकामा अहिले प्रकृतिमा आधारित गन्तव्य मुलुकहरूमा पर्यटकको संख्या बढिरहेको जोशीको भनाइ छ।

यहाँको प्राकृतिक सुन्दरता हेर्न र घुम्नका लागि पर्यटक लोभिने गरेका छन् । 
दीपकराज जोशी, पर्यटनविज्ञ 

बाह्य र आन्तरिक उडान कोभिड अघिको अनुपातमा बढेका छन् ।  
ज्ञानेन्द्र भुल, सहायक प्रवक्ता, नागरिक उड्डयन प्राधिकरण

पर्यटकीय मौसम सुरु भइसकेको र पर्यटकहरूले गर्ने बुकिङ पनि बढेकाले सजिलै १० लाख पर्यटक भित्रिने विश्वास छ । 
मणिराज लामिछाने, प्रवक्ता, नेपाल पर्यटन बोर्ड

नेपाल विश्वमै ट्रेकिङ, हिमाल आरोहण र जंगल सफारीका लागि प्रख्यात छ। यसलाई थप ब्रान्डिङ गर्न आवश्यक रहेको विज्ञ जोशी बताउँछन्। पर्यटनको सबैभन्दा बढी राजस्वको स्रोतका रूपमा रहेको हिमाल आरोहणमा पनि उत्साह थपिएको एक्सेपीडीसन अपरेटर एसोसिएसनका कोषाध्यक्ष ऋषि भण्डारी बताँछन्।

कोभिडयता हिमाल आरोहणमा संख्या पनि बढेको छ भने पर्यटकको इन्क्वरी पनि बढेको उनको भनाइ छ।सगरमाथासहित विश्वका आठवटा अग्ला हिमालले भरिपूर्ण देश पर्वतारोही र पदयात्रीका लागि सपनाको देश हो। सन् १९४९ देखि हिमाल आरोहणका लागि खुला गरिएको छ। हिमाल देशकै प्रमुख पर्यटकीय गन्तव्य र आयआर्जनको क्षेत्र मानिन्छ। ४ सय १९ हिमाल आरोहणका लागि सरकारले अनुमति दिएको छ। 
होटल संख्या बढे

सन् २०१९ मा कोभिड महामारीका कारण प्रायः ठप्प भएको पर्यटन उद्योग पुरानै लयमा फर्किंदै गरेको सरकारी तथ्यांकले देखाउँछ। तर, पर्यटक संख्या बढे पनि होटलहरू पूर्णक्षमतामा सञ्चालन हुन नसकेको व्यवसायीहरू बताउँछन्। वार्षिक करिब ३५ लाख पर्यटकलाई सेवा दिने क्षमताका होटल सञ्चालन भए पनि सोअनुरूप पर्यटन बजार बढ्न नसकेको होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताउँदै आएका छन्।

सरकारले सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य लिएको छ। आर्थिक सर्वेक्षण २०७९/८० अनुसार डिलक्ससहित पाँचतारे होटल १ सय ७३ छ। अन्य होटल तथा रिसोर्टको संख्या १ हजार २ सय २८ छ। पाँचतारे होटलमा भएका शय्या संख्या १६ हजार ३ सय ३५ र होटल तथा रिसोर्टको शय्या संख्या ३७ हजार ३० पुगेको छ। होटल क्षेत्रमा थप लगानी बढिरहेकाले यसको व्यवस्थापन चुनौती बन्दै गएको संघ अध्यक्षको भनाइ छ। नेपालमा नौवटा तारे होटल निर्माणको चरणमा छन्। दुई वर्षभित्र सञ्चालनमा आउने बताइएको छ।  

पर्यटन क्षेत्र पुनरुत्थानका लागि पर्यटन दशक 

सरकारले बजेटबाट नै घोषणा गरेको पर्यटन दशक सन् २०२३/२०३२ तयारीको चरणमा छ। सरकारले सन् २०२३ लाई पूर्वतयारीको वर्ष भनेको छ। पर्यटनलाई ब्रान्डिङ र रिब्रान्डिङ  गर्ने काम भइरहेको सरकारको भनाइ छ। बोर्डको बजेट भर्खरै पास भएकाले पनि अब पर्यटन दशकको काम अघि बढ्ने अपेक्षा गरिएको छ। 

कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान गर्न पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन दशक घोषणा गरेका थिए। पर्यटन दशकलाई अघि बढाउन पर्यटन विद् प्रचण्डमान श्रेष्ठको संयोजकत्वमा विज्ञ सम्मिलित ५ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले रणनीतिक कार्ययोजनाको रूपरेखा तयार गरी ०७९ पुस ७ गते आफ्नो प्रतिवेदन बुझायो। पुस १० गते नै सरकार परिवर्तन भएर तत्कालीन पर्यटनमन्त्री श्रेष्ठ बाहिरिए भने पर्यटनमन्त्री सुदन किराँती नियुक्त भए। मन्त्री किराँतीले पनि पर्यटन दशकलाई अघि बढाउँदै बजेटमा नै समावेश गराए।

पुरानै लयमा उडान संख्या

त्रिभुवन विमानस्थल एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो। यसले बाह्यसँगै सबैभन्दा ठूलो आन्तरिक विमानस्थलको रूपमा पनि सेवा प्रदान गर्छ। विमानस्थलमा अहिले आन्तरिक र बाह्य गरी सरदर साढे ३ सय उडान हुने गरेका छन्। यस्तै विमानस्थलले करिब २३ हजार यात्रुलाई दैनिक सेवा दिइरहेको छ। वार्षिक यात्रुको चहलपहल पनि करिब ७५ लाख पुगिसकेको छ। विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको क्षमता वार्षिक करिब ३५ लाख छ। क्षमताभन्दा बढी नै सेवा विमानस्थलले दिइरहेको छ। सन् २०३० सम्ममा अन्तर्राष्ट्रिय टर्मिनलबाट ८६ लाख यात्रुले सेवा लिने प्रक्षेपण गरिएको छ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थल २०७९ जेठ २ गतेबाट र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १६ गतेबाट औपचारिक उद्घाटन भएका छन्। भैरहवामा केही अन्तर्राष्ट्रिय र चार्टर्ड उडान हुने गरेका छन् भने पोखरामा अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। यी सँगै ३ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् भने कुल ५३ विमानस्थल छन्।

आन्तरिक तथा बाह्य उडान कोभिड अघिको अनुपातमा बढेको प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुल बताउँछन्। अहिले नेपाल एयरलाइन्स, हिमालयन र बुद्ध एयरसँगै करिब ३० विमान कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय नियमित उडान भर्छन्। २०८०/०८१ सम्म करिब ३५ विमान कम्पनीहरूले उडान गर्ने प्राधिकरणको अपेक्षा छ । यसै वर्ष थाई एयरलाइन्सले उडान सुरु गर्दै छ भने हिमालय जेट र स्पाइस जेट पनि आउने तयारीमा रहेको भुलले जानकारी दिए। 

लगानीभन्दा पर्यटक लक्ष्य कम

सरकारले सन् २०२३ मा पर्यटक लक्ष्य १० लाख राखेको छ। जबकि सन् २०१९ मा नै करिब १२ लाख पर्यटक आइसकेका छन्। कोभिडपछि पर्यटन पूर्वाधारमा भएको वृद्धिले तत्काल नै २५ लाख पर्यटकलाई सेवा दिन सक्छन्। कोभिडयता समग्र पर्यटन क्षेत्रमाकरिब ४ खर्ब लगानी थपिएको अनुमान गरिन्छ।

दूषितथानी र दूषित प्रिन्सेस गत महिनामात्रै सञ्चालनमा आएका छन् भने होटल शेराटन, शिन्तामणिलगायतका चेन होटल निर्माणाधीन छन्।पर्यटक संख्या बढाउन पूर्वाधारमा पनि ध्यान दिन जरुरी रहेको पर्यटनविद् विजय अमात्य बताउँछन्। सडक सञ्जालसँगै हवाई सञ्जालसम्मको पूर्वाधार विकास गर्नुपर्ने अमात्य बताउँछन् । 

नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू
१. एयर अरेबिया
२. एयर अरेबिया दुबई
३. एयर इन्डिया
४. एयर चाइना
५. विमान बंगलादेश
६. बुद्ध एयर
७. क्याथे प्यासफिक एयरवेज
८. चाइना साउर्दन एयरलाइन्स
९. चाइना इष्टर्न एयरलाइन्स
१०. डु«क एयर(रोयल भुटान)
११. फ्लाइ दुबई
१२. हिमालय एयरलाइन्स
१३. जजिरा एयरवेज
१४. इन्डिगो एभिएसन
१५. कोरियन एयर
१६. कुवेत एयरवेज
१७. मालिन्दो एयर
१८. मलेसिया एयरलाइन्स
१९. नेपाल एयरलाइन्स
२०. कतार एयरवेज
२१. सलाम एयर
२२. सिंगापुर एयरलाइन्स
२३. श्रीलंकन एयरलाइन्स
२४. सिचुवान एयरलाइन्स
२५. भिस्टारा एयर
२६. टर्किस एयरलाइन्स
२७. थाइस्माइन एयरवेज
२८. भुटान एयरलाइन्स
२९. थाइलायन एयर
३०. तिब्बत एयरलाइन्स

आन्तरिक उडान भर्ने कम्पनीहरूः
१. बुद्ध एयर
२. यती एयरलाइन्स
३. सौर्य एयरलाइन्स
४. गुण एयरलाइन्स
५. तारा एयर
६. सीता एयरलाइन्स
७. श्री एयरलाइन्स
८. समिट एयरलाइन्स

null
९. नेपाल एयरलाइन्स null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.