भदौमै पाक्ने सुन्तला ‘पारिपात्ले अगौटे–१’
धनकुटा : राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटाले सुन्तलाको नयाँ जात विकास गरी किसानलाई सिफारिस गरेको छ।
१५ वर्षभन्दा लामो अवधिसम्म अनुसन्धान गरी अगौटे सुन्तलाको जात पारिपात्ले अगौटे–१ (ओकिचुवासे) पूर्वदेखि पश्चिमसम्मका मध्यपहाडमा खेती गर्न किसानलाई सिफारिस गरिएको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटाका वरिष्ठ वैज्ञानिक डा. उमेशकुमार आचार्यले बताए। नयाँ जातको रूपमा विकास गरिएको पारिपात्ले अगौटे–१ किसानले व्यावसायिक रूपमा खेती गर्न सक्ने वरिष्ठ वैज्ञानिक आचार्यको भनाइ छ। अनुसन्धान गरी विकास गरिएको यो जात उन्सु बालीअन्र्तगत पर्दछ। नयाँ जात नेपाल कृषि अनुसन्धान परिषद्मा सिफारिस गरेर सरकारको राजपत्रमा प्रकाशनसमेत गरिएको छ।
अहिले नेपालमा खेती हुने मुख्य सुन्तलाको बालीको फल पुस, माघ महिनातिर पाक्ने गर्छ। जसको कारण दसंै तिहारमा विदेशबाट फलफूल आयात गर्नुपर्ने बाध्यता छ। तर पारिपात्ले अगौटे–१ भदौदेखि असोज महिनाभित्र पाक्ने भएकाले केही हदसम्म फलफूलको आयात प्रतिस्थापन गर्ने उनको भनाइ छ।
कार्यालयले दिएको जानकारीअनुसार यो जातको बोट मध्यम आकारको फैलिने प्रकृतिको हुन्छ। कलमी गरेको १५ वर्षको बोट १.३ मिटर जतिको हुन्छ। यस बोटमा सेतो रङको फूल फागुनको अन्तिम सातातिर फूल्छ। चम्किलो सुनौलो रङका फलहरू औसतमा १ सय ३६ ग्रामसम्मका हुन्छन्। बीउरहित १०–१२ केस्रो हुने फलको ९ प्रतिशतसम्म गुलियो तथा ०.९ प्रतिशतसम्म अमिलो हुन्छ। यो जातको व्यावसायिक खेती समुद्री सतहबाट ८ सयदेखि १४ सय मिटरको उचाइमा उपयुक्त हुने बताइएको छ। तापक्रम ५ देखि ३५ डिग्रीसम्म भएको तुसारो नपर्ने क्षेत्र यस जातको खेतीका लागि राम्रो हुने आचार्यले बताए। उनका अनुसार बिजु बिरुवाभन्दा कलमी बिरुवा प्रयोग गर्नु उत्तम हुन्छ।
तीनपाते, सिट्रेज आदि स्टकमा स्पलाइस वा भिनियर तरिकाबाट पुस–माघ महिनामा वा जेठ—साउनको महिनामा कलमी गरी विरुवा उत्पादन गरिन्छ। पारिपात्ले अगौटे–१ जातको बिरुवालाई समथर जमिनमा वर्गाकार र भिराले गरामा कान्ला बनाई कन्टुर तरिकाबाट रोपण गरिन्छ। सुन्तलाको बोट तीन मिटर दूरीमा रोप्नु पर्छ। बिरुवा रोपेको तीन–चार वर्षसम्म लहरा नजाने कोसे तरकारी बालीहरू प्याज, लसुन, रायो आदि खेती गर्न सकिने तर बहुवर्षे र धेरै खाद्यतŒव लिने बालीहरू (मकै, कोदो, गहुँ) लगाउन नहुने वैज्ञानिकहरू सुझाउँछन्।
प्रतिहेक्टर १२ टनको हाराहारीमा उत्पादन हुने यो जात उच्च घनत्वमा खेती गर्दा किसानको बगैंचामा १५ टन÷हेक्टरसम्म फलेको पाइएको वरिष्ठ वैज्ञानिक डा. आचार्यले बताए।
प्रतिक्रिया दिनुहोस !