एमाले कर्णाली अधिवेशनमा आज मतदान
वीरेन्द्रनगर : नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनको नेतृत्व चयन प्रक्रिया लम्बिएको छ। शनिबार दिउँसो १२ बजे हुने भनिएको मतदान आइतबार बिहान ८ बजेका लागि सरेको छ।
शनिबार दिउँसो १२ बजे गर्ने भनिएको मतदान दिउँसो २ बजे सारिएको थियो। त्यो समय फेरि साँझ ६ बजे सारियो। फेरि राति मतदान गर्न सहज नहुने भएकाले आइतबार बिहानका ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदान गर्ने समय तोकिएको छ। सबै उम्मेदवाहरूको अन्तिम नामावलीसमेत सार्वजनिक भइसकेकाले आइतबार बिहान ८ बजेदेखि मदतान सुरु हुने निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए। उनले भने, ‘मतपत्र छपाइ भइरहेको छ। शनिबार दिउँसो बत्ती नभएकाले मतपत्र छपाइको काम हुन सकेन।’ शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिका अनुसार शनिबार दिउँसो १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकिएको थियो। शनिबार राति नै मतगणना गरी आइतबार बिहान परिणाम सार्वजनिक गर्ने कार्यतालिका थियो। एमालेको कर्णालीको नयाँ नेतृत्वका लागि अहिलेसम्म अध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ।
शुक्रबार पाँचजनाले उम्मेदवारी दिएकोमा कालिकोटका प्रेमबहादुर सिंह र दैलेखका राजबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। अब कालिकोटकै मीनबहादुर शाही, सल्यानका गुलाबजंग शाह र कालिकोटका प्रकाश रोकायाको उम्मेदवारी अध्यक्षमा कायम छ।
प्रतिक्रिया दिनुहोस !