काेसीमा कांग्रेसभित्र किचलाे : उद्धव थापाले दिए दलकाे नेताबाट राजीनामा

काेसीमा कांग्रेसभित्र किचलाे : उद्धव थापाले दिए दलकाे नेताबाट राजीनामा
पत्रकार सम्मेलनमार्फत् राजीनामाको घोषणा गर्दै उद्धव थापा।

विराटनगर : नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट शनिबार राजीनामा दिएका छन्। 

पछिल्लो समय संस्थापनइतर अर्थात् डा. शेखर कोइराला पक्षधरबाट दलको नेता फेर्ने कसरत भइरहेको थियो। थापा कृष्णप्रसाद सिटौला पक्षधर हुन्। उनलाई पार्टी सभापति शेरबहादुर देउवाको पनि साथ थियो। 

थापाले राजीनामा दिनुका पछाडि प्रदेशको मुख्यमन्त्री नियुक्तिसँग सम्बन्धित लफडा मुख्य कारण हो। उनी आफूले पनि राजीनामा पत्रमा कोसी प्रदेश सरकार निर्माणको प्रक्रियामा भएका विकसित घटनाक्रमले नैतिकताका आधारमा संसदीय दलको नेताका रूपमा बसिरहन उपयुक्त नभएको महसुस गरेको खुलाएका छन्। दलको नीति, आदर्श र सिद्धान्तप्रति भने प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहने थापाले स्पष्ट पारेका छन्। 

गठबन्धनको निर्णयविपरीत कांग्रेसबाट विद्रोह गरेका पार्टीको इतर पक्षका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन्। कार्की मुख्यमन्त्री बनेसँगै थापाले दलको नेताबाट राजीनामा दिएका हुन्। पत्रकार सम्मेलन गर्दै उनले नैतिकताका आधारमा आफूले राजीनामा दिएको स्पष्ट पारे। 

यसअघि थापा २ पटक कोसीको मुख्यमन्त्री बनेका थिए। तर, संविधान मिचेर अघि बढ्न खोजेपछि दुवैपटक सर्वोच्च अदालतले उनको सत्तायात्रामा ‘बे्रक’ लगाइदिएको थियो। थापाले पत्रकार सम्मेलनमार्फत दुवैपटक सरकार जोगाउन नसकेको स्वीकार गरे। अदालतले पदमुक्त गरेपछि आफूले त्यतिबेलै राजीनामा गर्न खोजेको भएपनि विभिन्न कारणले ढिलो भएको जिकिर उनको छ। 

उनले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई बधाइ पनि दिए। तर, कार्की मुख्यमन्त्री भएकै कारण राजीनामा दिनु संयोग मात्रै भएको दाबी गरे। ‘मेरो कुनै आग्रह र पूर्वाग्रह छैन,’ उनले भने, ‘विकसित राजनीतिक घटनाक्रमले राजीनामा दिँदा उपयुक्त हुने महसुस गरेर यो निर्णय लिएको हुँ।’ थापाले पार्टीको केन्द्रीय समिति, प्रदेशसभा सचिवालय र कांग्रेसको प्रदेश कार्यसमितिलाई बोधार्थ दिएर पदबाट राजीनामा दिएका हुन्। 

राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता अमृत अर्याललगायत उपस्थित थिए। अर्यालले दलको नेतामा थापासँग प्रतिस्पर्धा गरेका थिए। थापा १८ मत ल्याएर विजयी हुँदा अर्याल २ मतमा खुम्चिए। दलको नेताका अर्का प्रतिस्पर्धी एवं कोसीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले ९ मत ल्याएका थिए। 

थापाले राजीनामा दिए पनि कांग्रेसले प्रदेशमा कसलाई दलको नेता बनाउँछ भन्ने यकिन भइसकेको छैन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.