चन्दा जुटाएर विद्यालय भवन पुनःनिर्माण

चन्दा जुटाएर विद्यालय भवन पुनःनिर्माण
बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ति माविको कक्षा कोठा भवन । तस्बिर : सन्तोष गौतम

बेनी  : सरकारी निकायको अनुदानभन्दा बढी चन्दा जुटाएर म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको भवन पुनर्निर्माण गरिएको छ। विसं २०७२ देखि विद्यालय भवन पुनर्निर्माण अभियान सुरु गरेका भकिम्लीवासीकै नेतृत्वमा अहिले २२ कोठे दुई तले विद्यालय भवन तयार भएको छ । 

विद्यालय भवनसँगै प्रवेशद्वार, खेलमैदान र प्याराफिट निर्माणसहित विद्यालयलाई घेरावारसमेत गरिएको व्यवस्थापन समितिका अध्यक्ष पूर्ण पुनले बताए । 

‘करिब तीन करोड ५० लाख रुपैयाँ खर्च भएपनि अहिलेसम्म चन्दादाता, सहयोगदाता, संघसंस्था र सरकारी तवरबाट तीन करोड २३ लाख ५५ हजार रुपैयाँ मात्रै सहयोग जुटेको छ,’उनले भने ‘कूल लागतको आधाभन्दा बढी रकम समुदाय र देश विदेशमा रहेका भकिम्लीवासीकै नेतृत्व र अगुवाइमा जुटाइएको हो ।’

नेपाल सरकारका विभिन्न निकायबाट एक करोड १७ लाख रुपैयाँ बजेट प्राप्त हुँदा समुदायले व्यक्तिगत चन्दाबाट ९५ लाख रुपैयाँ, विभिन्न संघसंस्थाबाट नौ लाख रुपैयाँ र विभिन्न देशमा रहेका भकिम्लीवासीको नेतृत्वमा ६२ लाख रुपैयाँ सहयोग जुटाएका थिए भने हिमालयन प्राजेक्ट बेल्जियमले ३८ लाख सहयोग गरेको छ ।

छरिएर रहेका साना–साना कक्षाकोठा रहेको र जीर्ण बन्दै गएको साविकको जयन्ती माविको अहिले भौतिक स्वरुप फेरिएको विद्यालयका प्रधानाध्यापक भोजबहादुर जिसीले बताए । ‘साँघुरा र पानी चुहिने अवस्थामा पुगेका कक्षाकोठामा पठनपाठन गराउनुपर्ने बाध्यता विद्यालय पुनर्निर्माणसँगै हटेको छ,’उनले भने, ‘गाउँका बालबालिकाले सुविधासम्पन्न र भौतिक पूर्वाधारयुक्त भवनमा बसेर सहजरुपमा पठनपाठन गर्ने अवसर पाएका छन् ।’ 

विद्यालय भवन पुनर्निर्माण गर्न स्थानीयबासीले पनि उत्साहजनकरुपमै जनश्रमदानदेखि नगद सहयोग जुटाएका थिए । प्रवासीले पसिना बेचेको रकम सहयोग गर्दा गाउँलेले घरको अन्नपात र गाईभैंसी बेचेर विद्यालयलाई सहयोग गरेको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष रत्न जिसीले बताए । 

भवन बनाउने अभियानमा नगद पाँच सयदेखि १० लाखसम्म व्यक्तिगत सहयोग गरेको विद्यालयले जनाएको छ । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले एक सय ७६ विद्यार्थी अध्ययनरत छन् । यो सुविधासम्पन्न भवनमा कक्षाकोठा भवनसहित कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी, कार्यालय र स्टाफ कक्षलगायत विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन भएको छ । 

विद्यालय भवन पुनर्निर्माणमा समुदायका मात्रै दुई सय १२ चन्दादाता छन् । अमेरिका, हङकङ, स्पेन, साउदी अरेबीया, जापानलगायत मुलुकमा रहेका भकिम्लीबासीको अगुवाइमा संकलन भएको सहयोग रकममा सयौं जनाले हातेमालो गरेका छन् । हिमालयन प्रोजेक्ट बेल्जियम र नेपाल सरकारका विभिन्न निकायले समेत पुनर्निर्माण अभियानमा बजेट उपलब्ध गराएका छन् । 

विद्यालय भवनको आइतबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गरे । मन्त्री जुग्जाली, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, संविधानसभा सदस्य रेशम बहादुर बानिया र बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले भकिम्लीको भौतिक विकासमा समुदायको सक्रियता र सहभागिता सन्देशमुलक रहेको भन्दै प्रशंसा गरे । 

उनीहरुले गण्डकी प्रदेश सरकारमार्फत बेनीदेखि भकिम्ली जोड्ने सडक कालोपत्र र स्तरोन्नित गर्ने काम यसै वर्षदेखि सुरु गर्ने तयारी गरेको जानकारी दिए । ‘बेनी–भकिम्ली सडक योजनाका लागि चालु आर्थिक वर्ष दुई करोड बजेट बिनियोजन भएको छ,’मन्त्री जुग्जालीले भने, ‘दश करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चितता गरेर चालु आर्थिक वर्षदेखिनै बहुवर्षीय ठेक्का लगाउने तयारी गरिएको छ ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.