तीन महिनामा प्रेस काउन्सिलमा १३२ वटा उजुरी
काठमाडौं : पछिल्लो तीन महिनामा प्रेस काउन्सिलमा आचारसंहिता उल्लंघनसम्बन्धी १३२ वटा उजुरी परेका छन्। उजुरीमध्ये ९३ वटा गालीबेइज्जती/चरित्रहत्या/मानहानी, २५ वटा भ्रामक तथा असन्तुलन, २ वटा बार्गेनिङ तथा ४ वटा समाचार चोरीका रहेको काउन्सिलले जनाएको छ।
त्यस्तै अदालतमा रहेको विचाराधीन मुद्दाका विषयमा सामग्री सम्प्रेषण गर्ने ४ वटा सञ्चार माध्यमलाई न्याय निरुपणमा प्रभाव पार्ने किसिमका सामग्री सम्प्रेषण नगर्न निर्देशन दिइएको सहप्रवक्ता रामशरण बोहराले जानकारी दिए।
त्यस्तै गत माघ २४ मा चितवन जिल्ला अदालतबाट फैसला भएर सफाइ पाइसक्दासमेत २ वर्षअघि अदालतमा विचाराधीन रहेको आत्महत्या दुरुत्साहन मुद्दाका विषयमा प्रसारित भिडियो सामग्री नहटाएको भन्दै उजुरी परेपछि आचारसंहिता अनुगमन उपसमितिको बैठकबाट उजुरीकर्ता प्रतिकूल पूर्ववतः सम्प्रेषित सामग्री प्रकृति खुलाइ हटाउन निर्देशन दिएको बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै दुई सञ्चारकर्मीविरुद्ध परेको कीर्ते शैक्षिक प्रमाणपत्र उजुरीका विषयमा सूचना विभाग र नेपाल पत्रकार महासंघलाई पत्राचार गरी आवश्यक जानकारी लिने निर्णय भएको काउन्सिलले जनाएको छ। हिमालपारीको आवाज साप्ताहिक, दैनिकी डटकम र एकजना स्वतन्त्र पत्रकारका सम्बन्धमा सूचना विभागबाट प्रेस प्रतिनिधि प्रमाणपत्र र महासंघको सदस्य भए/नभएको खुलाइ पठाउन पत्राचारसमेत गरिएको छ।
त्यस्तै स्वतन्त्र पत्रकारको आवरणमा वैदेशिक रोजगारसँग सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाहरू तथा कम्पनीका सञ्चालकहरूविरुद्ध विभिन्न इमेल बनाएर भ्रामक र झुठा समाचार बनाइ अख्तियार, केन्द्रीय अनुसन्धान विभाग, वैदेशिक रोजगार विभाग, आन्तरिक राजस्व विभाग, विदेशस्थित नेपाली दूतावासलगायतका निकायमा वैदेशिक रोजगार व्यवसाय गर्ने कम्पनी र कम्पनी सञ्चालकविरुद्ध कारबाही गरिपाउँ भनी इमेल पठाएको तथा समाचार बनाएको उजुरी परेपछि स्वतन्त्र पत्रकार भनिएका व्यक्तिबारेको विवरण उपलब्ध गराउन सूचना तथा प्रसारण विभागमा पत्राचार भएको र उक्त विषयमा द्विपक्षीय छलफल आयोजना गर्नेसमेत निर्णय भएको काउन्सिलले जनाएको छ।
त्यस्तै कीर्ते प्रमाणपत्र पेस गरी अनलाइन दर्ता गरेको, अतिरञ्जित सामग्री सम्प्रेषण गरेको भनी हलेसीपाटी डटकमविरुद्ध परेको उजुरीमा अनुगमन गरी मिडियालाई कालोसूचीमा राखिएको तथा सूचीकरणबाट हटाइ नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था भएकोमा उक्त अनलाइन चलिरहेको भनी नेपाल पत्रकार महासंघ खोटाङबाट पुनः असोज ४ गते उजुरी परेपछि नेपालका सबै आइएसपीमार्फत् सञ्चालित इन्टरनेट सेवाबाट समेत नेपालभित्र खुल्न नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार भएको, उक्त अनलाइनबाट पत्रकारका नाममा प्रेस प्रतिनिधि प्रमाणपत्र जारी भएको भए निलम्बन गर्न, आगामी दिनमा जारी नगर्न सूचना तथा प्रसारण विभागमा पत्राचार भएको जारी विज्ञप्तिमा उल्लेख छ।
कीर्ते कागजातका सम्बन्धमा खोटाङ जिल्ला अदालतबाट २०७९१०/२६ गतेको फैसलाअनुसार मुलुकी अपराध संहिता, २०७४ बमोजिमको सजाय भइसकेको छ।
त्यस्तै फोन सम्वादलाई रेकर्ड गरेको र सो सामग्री अन्य मिडियाबाट प्रसारित भएको उजुरीका आधारमा १ जना र सामाजिक सञ्जालबाट सामाजिक सद्भाव खलल पार्ने, साम्प्रदायिक हिंसा फैलाउने किसिमको सामग्री सम्प्रेषण गरेको उजुरीका आधारमा १ जना गरी २ जना पत्रकारलाई सचेत गराइएको छ।
प्रतिक्रिया दिनुहोस !