आज दसैंको सातौं दिन : पाल्पामा फूलपाती भित्राइयो
तानसेन : वडा दसैंको सातौं दिन आज पाल्पामा परम्परागत रुपमा फुलपाती भित्राइएको छ । जिल्ला प्रशासन कार्यालय, दि फिमेश महिन्द्र दल गण, नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहभागितामा सेनमा फूलपाती भित्राइएको हो ।
विभिन्न स्थानबाट ल्याएको फूलपाती दसैंघरबाट नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले बाजागाजासहित ,निशान भगवती मन्दिर, रणउजिरेश्वरी भगवती मन्दिरमा सलामीसहित अर्पण गरेको छ । तानसेन बजारमा नेपाली सेनाको व्याण्ड बाजासहितको टोलीले उखु, बेलपत्र, अदुवा, कुभिन्डो, केरालगायतका सरसमानसहित फूलपाती बजार परिक्रमा गराउँदै नेपाली सेनाको दि फिमेश महिन्द्र दल गण टुडिखेलमा पुर्याइ पूजाआजा गरेको हो ।
फूलपाती भित्राउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, गणका गणपती भुपेन्द्र गुरुङ्ग, प्रहरी उपरीक्षक हेरम्व शर्मा, सशस्त्र प्रहरी बलका जिल्ला प्रमुख, राष्ट्रिय अनुसन्धान, जिल्ला प्रशासक कार्यालय पाल्पाका कर्मचारीको सहभागी थिए।
तानसेन बजारमा बाजागाजासहित फूलपाती हेर्न सडकसडक चोकचोकमा सर्वसाधारणको भीड लागेको थियो। नेपाली सेनाको नागपोखरी व्यारेकमा पुर्याएको फूलपाती गणपती गुरुङले पुजाआजा गरेका छन् । गणमा पुर्याएको फुलपाती व्याण्ड बाजासहित दसैंघरमा भित्राउने प्रचालन रहेको छ ।
यसैगरी पाल्पाको दर्लामहाकाली, रम्भादेवी, रैनादेवीलगायतका देवीका मठ मन्दिरमा तथा कोटघरमा देवीको पूजाआजा गरी आजै फूलपाती भित्राइएको छ । आजदेखि देवीका मठ मन्दिरमा भक्तजनको भीडभाड बढेको छ ।
देवीलाई बलि चढाउने क्रम सुरु भएको छ । गाउँघरका देवी देवालयमा समेत भक्तजनको घुइँचो बढेको छ ।