पोखरामा महासचिव गुटेरेसलाई माला र ढाका टोपी पहिराएर स्वागत

पोखरामा महासचिव गुटेरेसलाई माला र ढाका टोपी पहिराएर स्वागत
तस्बिर : रासस
सुन्नुहोस्

गण्डकी : पोखरा भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरेका छन् । नेपाली सेनाको विमानमार्फत् आज दिउँसो पोखराको पुरानो विमानस्थलमा ओर्लिएका गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले भव्य स्वागत गरेको हो । 

मुख्यमन्त्री पाण्डेले सयपत्री फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहिराएर महासचिव गुटेरेसलाई स्वागत गरेका थिए। उनको स्वागतमा प्रदेश सरकारका मन्त्री,जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ व्यक्तिहरू विमानस्थल पुगेका थिए । 

तिहारको छेकोमा पोखरा भ्रमणमा आएका महासचिव गुटेरेस सयपत्रीको माला र ढाका टोपीमा सजिँदा नेपालीपन झल्केको थियो । खुसी मुद्रामा उनले पोखरेलीको न्यानो स्वागत ग्रहण गरेको देखिन्थ्यो । शरदयामको घमाइलो दिन भएकाले प्रकृतिले पनि महासचिव गुटेरेसलाई स्वागत गरे झैं भान मिल्थ्यो । आज बिहानैदेखि पोखराको मौसम खुलेको थियो ।

महासचिव गुटेरेसको स्वागतार्थ विमानस्थलको बाहिरपट्टी सांस्कृतिक झाँकीसहित मौलिक नाच प्रस्तुत गरिएको थियो । नेवारी समुदायमा प्रचलित तायमचा, जनजाति समुदायको सोरठी, नौमती बाजालगायत मौलिक संस्कृति देखाइएको थियो । परम्परागत वेशभूषामा सजिएका आमा समूह,जनप्रनिधि, पर्यटन व्यवसायीलगायतले महासचिव गुटेरसलाई स्वागत गरेका थिए ।

चारदिने औपचारिक भ्रमणमा क्रममा आइतबार नेपाल आएका महासचिव गुटेरेस  आज पोखरा भ्रमणमा आएका हुन्। उनले सोमबार फेवा किनारस्थित होटल फिस्टेलमा बस्नेछन्। महासचिव गुटेरेस मङ्गलबार बिहान विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ । त्यहाँ उनले जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे स्थानीयवासीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले  राससलाई जानकारी दिए।

अन्नपूर्ण आधार शिविरबाट फर्केपछि पोखरा विमास्थलमा पत्रकारसँग साक्षात्कार गर्ने कार्यक्रम तय भएको उनको भनाइ छ । महासचिव गुटेरेसको भ्रमणलाई लक्ष्य गरी पोखराको सुरक्षा प्रबन्ध चुस्त पारिएको छ । उनी लुम्बिनी भ्रमणका लागि मङ्गलबार बिहान पोखराबाट भैरहवा प्रस्थान गर्नेछन्।

महाचिव गुटेरेसको भ्रमणसँगै पछिल्लो समय पोखरा अतिविशिष्ट विदेशी पाहुनाको भ्रमणस्थलका रूपमा स्थापित हुँदै गएको छ । फ्रान्सका हिमाल आरोही मौरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै अन्नपूर्ण हिमाल र यससँग प्रत्यक्ष जोडिएका पोखरालगायतका गन्तव्यहरूले पर्यटकीय महत्त्व पाएका हुन् ।

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले गरेको अन्नपूर्ण आधार शिविरको पदयात्रा पछि पोखरालाई आधार बनाएर अन्नपूर्ण, धवलागिरिजस्ता हिमालका पेरिफेरीमा पदयात्रातर्फ पनि आकर्षण बढेको हो ।

सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले पोखराको पर्यटकीय गतिविधि बढेको पाइन्छ । सन् १९८० को दशकदेखि फस्टाउँदै गएको यहाँको पर्यटनलाई समय समयमा हुने गरेका अतिविशिष्ट व्यक्तिको आगमनले यहाँको गरिमा र महिमा अझै चुलिएको हो ।

इतिहासमा उल्लेख भएअनुसार यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीया र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णनले पनि पोखराको भ्रमण गरेका थिए। त्यसयता पोखरामा विसं २०७२ चैतमा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन), त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणदेखि विसं २०७३ कात्तिकमा भएको भारतीय राष्ट्रपति मुखर्जीसम्मका औपचारिक भ्रमणले यहाँको महत्वलाई अझै बढाएको थियो । पोखरामा विसं २०७६ कात्तिकमा बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद फेवातालमा डुङ्गा सयरदेखि हिमाल अवलोकन आदि गतिविधिमा सरिक भएका थिए।

पोखरा आएका अतिविशिष्ट व्यक्तिले यस स्थललाई प्रकृतिको वरदान आदि उपमा दिनुले पनि यहाँको विश्वव्यापी प्रवद्र्धन भइरहेको छ । महासचिव गुटेरेसको भ्रमणलाई पोखरेलीले यहाँको विश्वव्यापी पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण अवसरका रुपमा लिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.