जलवायु संकटले नेपाललाई कडा प्रहार गरेको देखेँ : संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस

जलवायु संकटले नेपाललाई कडा प्रहार गरेको देखेँ : संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस
तस्बिर : रासस

काठमाडौं : नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले उच्चस्तरीय भेटघाट मात्रै गरेनन्, हिमाली क्षेत्रमा नै पुगेर जलवायु परिवर्तनको असर हेरे। स्थानीय नागरिकमा परेको प्रभाव सोधे, बुझे र प्रत्यक्ष अवलोकन गरे। सगरमाथा र अन्नपूर्ण हिमाललाई नजिकबाट नियाले। 

सोमबार सगरमाथा क्षेत्रबाट एउटा भिडियो सर्वजनिक गर्दै जलवायु परिवर्तनले हिमालमा पारेको गम्भीर असर विश्वलाई सुनाए। अनि मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै भने, ‘नेपालको कार्बन उत्सर्जन ०.०५ प्रतिशत मात्र छ तर, असर अत्याधिक भोगेको छ। विश्वका अन्य मुलुकले कार्बन बढी उत्सर्जन गरेको प्रभाव पनि नेपालले भोग्नुपरेको छ। यो विश्वले बुझ्नुपर्छ। नेपालले क्षतिपूर्ति पाउनुपर्छ।’

चार दिने भ्रमणका क्रममा नेपाल र नेपाली जनताले देखाएको आत्मियता, सत्कार र साँस्कृतिक विविधता देखेर आफू प्रभावित भएको बताएका उनले जलवायु परिवर्तनको असर आत्मिय नेपालीले भोगिराख्दा आपूmलाई पनि दुखेको बताए। भने, ‘यो भ्रमणमा सूर्यको किरण हिमालमा ठोक्किएको देखेँ। असर नागरिकले भोगेको देखेँ।’ उनले भ्रमणमा सिकेको कुराहरू प्रयोगमा ल्याउने प्रतिबद्धता गर्दै नेपालले जलवायु परिवर्तनका लागि गरेका प्रयासको प्रशंसा गरे। 

जलवायुजन्य विपत्तिहरू घातक रूपमा बढिरहेको तर नेपालले ‘क्लाइमेट एक्सन’का बारेमा गरेको कामबाट विश्वले सिक्नुपर्ने उनले बताए। गुटेरेसले नेपाल जलवायु कार्यमा अग्रपंक्तिमा रहेको र सन् २०४५ सम्ममा नेट जिरो उत्सर्जनको लक्ष्य राखेको भन्दै प्रशंसा गरे। त्यसैगरी पूर्वसूचना प्रणालीमा पनि नेपाल अग्रस्थानमा रहेको बताए। तर, विश्वव्यापी जलवायु संकटले नेपाललाई कडा प्रहार भइरहेकोमा चिन्ता व्यक्त गरे। 

नेपालको कार्बन उत्सर्जन ०.०५ प्रतिशत मात्र भए पनि अर्थतन्त्र, कृषि, पशुपालनलगायत सबै क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको उनले बताए। चरम मौसमी घटना बढेको भन्दै अत्यधिक वर्षाका कारण मानिसहरूले ज्यान गुमाउनुका साथै भयानक खालका प्रभाव हिमनदीहरूमा देखिएको बताए। बाढी, पहिरोको र खडेरीको जोखिम संसारभरि नै बढिरहेको उल्लेख गरे। नेपालका हिमालहरूले ३० वर्षको अवधिमा एकतिहाइ हिउँ गुमाइसकेको छ। हिमनदी पग्लिएर पूरै समुदाय बगेका छन्। अघिल्लो दशकको तुलनामा ६५ प्रतिशत हिउँ पग्लिएको गुटेरेसले बताए। 

‘हिमालले करोडौं मानिसलाई स्वच्छ पानी उपलब्ध गराउँदै आएको छ। इन्दुश, गंगापुत्र, गंगा नदीको बहाब घट्नेछ। त्यसले भविष्यमा पानी र जमिनका लागि मानिसहरूमा प्रतिस्पर्धा हुनेछ। हिउँ पग्लिदा समुद्री सतह बढेका छन्। त्यसले समुद्रीतटमा बस्ने समुदायलाई जोखिममा पारेको छ। जलवायु विपत्ति दु्रत गतिमा बढिरहेको छ,’ उनले भने। 

‘जलवायुजन्य विपत्तिले संकटमा रहेछ नेपाल’ 

नेपाललगायत अन्य विकासोन्मुख देशहरूले जलवायु परिवर्तनका कारण अन्याय सहनुपरेको महासचिव एन्टोनियो गुटेरेसको बताए। तर, क्रुर खालका जलवायु संकट भोगिरहेका समुदायका लागि संयुक्त राष्ट्रसंघ सधैं साथमा रहने उनको आश्वासन छ।

जलवायुजन्य जोखिमसँग सामना गर्न नेपाल र अन्य देशहरूले अन्तर्राष्ट्रिय सहयोग पाउनुपर्ने उनी बताउँछन्। उनले संसद्मा सम्बोधन गर्दै भने, ‘विकसित मुलुकहरूले प्रतिबद्धता गरेको प्रत्येक वर्ष ५ सय बिलियन डलर उपलब्ध गराउने प्रतिबद्धता कार्यान्वयनमा ल्याउनुपर्छ। अनुकूलन वित्त, जलवायुमैत्री पूर्वाधार निर्माण, उत्थानशीलता लागि पनि जलवायुवित्त आवश्यक छ। जलवायुजन्य हानिनोक्सानीका लागि लगानी आवश्यक रहेको उनको भनाइ छ।

nullसंसद्मा सम्बोधन गर्दै  संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस । तस्बिर : अभिषेक महर्जन

धेरै मानिसको घरबास उठेको छ। गाउँ नै जोखिममा छ। त्यसैले धनी मुलुकहरूबाट लगानी आवश्यक रहेको छ।’ ठूला प्रदूषकहरू उत्तरदायी भएर विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्न गुटेरेसले माग गरेका छन्। आगामी नोभेम्बर ३० देखि दुबईमा सुरु हुन लागेको जलवायु सम्मेलन (कोप–२८) उपलब्धिमूलक बनाउन पनि उनले दबाब दिएका छन्। 

गुटेरेसको आश्वासनले हिमालवासी खुसी

गुटेरेसले हिमाली जिल्लाहरूमा पुगेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालका मुद्दा उठाउने वचन दिएपछि स्थानीयहरू हर्षित भएका छन्। सोमबार सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका पुगेका महासचिव गुटेरेस मंगलबार बिहानै अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण आधार शिविर पुगेर नेपालका जलवायुजन्य मुद्दा उठाउने आश्वासन दिएका हुन्। 

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार अन्नपूर्ण आधार शिविर पुगेका महासचिव गुटेरेसले स्थानीयहरूको मुखबाट उनीहरूले भोग्दै आएको समस्या सुन्न चाहेका थिए। उनले भने, ‘आधार शिविर पुगेपछि गुटेरेसले स्थानीयलाई तपाईंहरूको गुनासो के छ सुन्न चाहन्छु भन्नुभयो। हिमबहादुर गुरुङले यहाँको समस्या सुनाउनुभयो।’

केसीका अनुसार, अन्नपूर्ण गाउँपालिका–११ का अध्यक्षसमेत रहेका गुरुङले एबीसी क्षेत्रमा तीव्र गतिमा हिउँ पग्लिँदै गएको, हिमपहिरो बढेको, पहिलाभन्दा कम हिउँ पर्न थालेको र समयमा हिउँ नपर्ने समस्या बढिरहेको बताए। बेसिजनमा हिउँ पर्दा अत्यधिक असर गरेको कुरासमेत उठाए। हिमपहिरोले तटीय क्षेत्रमा बाढी आउनेलगायतका समस्याले जनजीवनमा नकारात्मक प्रभाव परिरहेको समस्या सुनाएका थिए। गुरुङले महासचिवसामु उनी युवास्थामा हुँदा र वर्तमान अवस्थामा पुग्दा देखेको परिवर्तनबारे अनुभव सुनाएका थिए। 

स्थानीयको गुनासो सुनेपछि गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी मुद्दा अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउने आश्वासन दिएका छन्। सोमबार खुम्बुवासीलाई पनि उनले उनीहरूको समस्या अन्तर्राष्ट्रिय मञ्चमा उठाउने वचन दिएका दिए। वडा ७ का अध्यक्ष भरतमान गुरुङले गुटेरेसलाई उदृत गर्दै भने, ‘तपार्इंहरूले राखेको समस्याका बारेमा अन्तर्राष्ट्रिय फोरममा पुर्‍याउने छु। यस्ता विषयलाई सम्बोधन गर्न पहल गर्छु।’ स्थानीयलाई उनले जलवायु परिवर्तनको असर विकासोन्मुख मुलुकहरूले भोगिरहेको भए पनि त्यसका कारण शक्ति राष्ट्रहरू भएको बताए। धनी तथा शक्ति राष्ट्रका कारण अरूले परिणाम भोग्नु परिरहेको बताए। 

यस्ता ठाउँमा विकसित देशहरूले क्षति न्यूनीकरण तथा विकासका काममा सहयोग गर्नुपर्ने धारणासमेत राखे। उनले त्यहाँका विकास र समृद्धिका लागि आफ्नो ठाउँबाट पहल गर्ने वचन दिएपछि स्थानीयहरू आशावादी बनेको गुरुङले बताए। उक्त क्षेत्रका 
भौतिक पूर्वाधारदेखि सामाजिक विकासमा लागि अन्तर्राष्ट्रिय फोरमबाट हुने सहयोगका लागि आफ्नो पक्षबाट जोडदार लबिङ गर्ने आश्वासनसमेत दिएका छन्। 

अन्नपूर्ण आधार शिविर क्षेत्रमा पहिला देखिनेभन्दा हिउँको लेभलमाथि नै पुगेको गुरुङले बताए। यस सिजनमा जुन क्षेत्रमा हिउँ पथ्र्यो तर आजकल माथिल्लो तहमा पुगेको छ। बर्सेनि हिउँपहिरोले बेसक्याम्पका होटलहरूमा क्षति गरेको र प्रत्येक वर्ष जमिनको सतह घटेको बताए।

परम्परागत रूपमा पशुपालनको पकड भएको यस क्षेत्रमा मौसममा व्यापक फेरबदल भएकाले अनुमान गर्न गाह्रो भएको स्थानीयहरूको अनुभव छ। गुरुङका अनुसार मुख्यतः भेडा पालनमा असर गरेको छ। स्थानीहरूले अनुमान गरेरै हिउँ पर्ने बेला भेडा बेँसी लैजाने र नपर्ने समयमा हिमाल लैजाने गर्थे। अहिले त्यो तालिका नै परिवर्तन भएको छ। अनुमान गरेको भन्दा छिटोछिटो परिवर्तन हुन थालेको छ। परम्परागत ज्ञानमा चुनौती थपिएको छ। मौसममा अनुमान गर्न नसक्ने समस्या छ। 

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले पहिला गाउँसम्मै हिउँपरे पनि आजकल हिउँ पर्न छाडेको बताइन्। जलवायु परिवर्तनको असर हेर्न आफ्नो क्षेत्र आएका गेटेरसको भ्रमणले आशावादी बनाएको अधिकारीले बताइन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.