पर्यटक आगमनले रच्यो इतिहास

पर्यटक आगमनले रच्यो इतिहास

काठमाडौं : यसवर्षको अंग्रेजी महिना अक्टुबरमा नै हवार्ईमार्ग हुँदै १ लाख १७ हजार ३ सय ६ विदेशी पर्यटक नेपाल आए। यो संख्याले यसअघिको ‘रेकर्डलाई ब्रेक’ गरेको बताउँछन् पर्यटन बोर्डका निर्देशक एवं प्रवक्ता मणिराज लामिछाने। यो सँगै इतिहासकै धेरै पर्यटक २०२३ मा नेपाल आएका छन्। त्यसमा पनि हवाई मार्गबाट अत्याधिक नेपाल भित्रिए। 

‘यो त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका पर्यटकको संख्या हो। यसपटक नेपालमा पर्यटक आगमन उच्च रह्यो,’ लामिछानेले भने। उनका अनुसार कोभिडको अघिको तुलनामा करिब १०३ प्रतिशतले पर्यटक बढेका छन्। सन् २०१९ को अक्टुबर महिनामा १ लाख १३ हजार ८ सय १६ पर्यटक नेपाल आएका थिए। ‘कोभिड अघिको तुलनामा पर्यटक संख्या बढेको छ भने अहिलेसम्मको रेकर्डमा एक महिनामा यतिका संख्यामा हवार्ई मार्गबाट पर्यटक नेपाल आएका थिएनन्,’ लामिछाने थपे।  

सन् २०२२ को समीक्षा महिनामा ५२ हजार १ सय २१ पर्यटक नेपाल आएका थिए। त्यसको अघिल्लो वर्ष अर्थात् २०२१ को अक्टुबरमा १५ हजार ७ सय १५ र सन् २०२० मा १ हजार ८ सय ३१ विदेशी हवार्ई मार्गबाट नेपाल आएका थिए। सन् २०२३ को १० महिनामा भने हवाई मार्गबाट नेपाल आउने पर्यटकको संख्या ८ लाख ९ हजार ६ सय ७८ छ। सरकारले सन् २०२३ मा १० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ। १० महिनामा पर्यटकको संख्या ८ लाख नाघेको छ भने बाँकी २ महिना लक्षित पर्यटक भित्रिने विश्वास बोर्डको छ। 

नोभेम्बरमा अक्टुबरको भन्दा केही कम र डिसेम्बरमा करिब ९० हजारको हाराहारीमा पर्यटक आउने अनुमान बोर्डको छ। सन् २०२३ को सुरुवातमा १२ लाख पर्यटक आउने लक्ष्य लिइएकोमा वार्षिक बजेटले पनि १० लाखको लक्ष्य साँधेको हो। पर्यटक आगमन सुखद रहेको होटल संघ नेपालका अध्यक्ष विनायक शाह बताउँछन्।

गैरआवासीय सम्मेलनको कारण पर्यटक संख्यामा उछाल आएको बताउँदै उनले यसले होटल व्यवसाय पनि केही चलायमान भएको बताए। अहिले औसतमा करिब ४० प्रतिशत क्षमतामा होटलहरू सञ्चालनमा रहेको उनी बताउँछन्। तारेलगायतका होटलहरूको संख्या थपिँदै गर्दा पूर्णक्षमतामा होटल सञ्चालनका लागि यो संख्या कम नै भएको उनले थपे। 

अक्टुबर महिनामा गैरआवसाीय नेपालीको सम्मेलन परेकाले पनि पर्यटक संख्यामा वृद्धि भएको बोर्ड पनि स्वीकार गर्छन्। गैरआवासीय नेपालीहरूले विदेशी पासपोर्ट लिएको हुँदा उनीहरूको गन्ति पनि पर्यटकमा भएको प्रवक्ता लामिछानेले जानकारी दिए। त्योसँगै बडादसैं मनाउन नेपाल आएका विदेशी नेपाली पनि यो संख्यामा परेका छन्। 

नेपाल आउने पर्यटकमा सबैभन्दा प्रमुखसमेत बजार छिमेकी मुलुक भारत हो। कुल संख्याको एकतिहाइ भारतीय पर्यटक औसतमा नेपाल घुम्न आउने गरेका छन्। यो अक्टुबरमा भारतबाट १८ हजार ४ सय ८० पर्यटक नेपाल आएका छन्। खुला सीमाका कारण स्थलगत आउने भारतीय पर्यटकको संख्या हवार्ईको भन्दा धेरै छ। बोर्डसँगै औपचारिक तथ्यांक नभए पनि बर्सेनि करिब १५ देखि २० लाख भारतीय स्थलमार्गबाट नेपाल घुम्न आउने गरेको बताइन्छ।

हवाई र स्थल गरी वार्षिक करिब २ लाखको हाराहारीमा भारतीय नेपाल घुम्न आउँछन्। विशेषगरी धार्मिक पर्यटनका लागि भारतीय पर्यटक नेपाल आउने गर्छन्। त्योबाहेक मनोरञ्जन र साहसिक पर्यटनका लागि पनि आउने गर्छन्। उनीहरूले प्रतिव्यक्ति दैनिक ४६ डलर खर्च गर्ने र औसत बसाई ४.८ दिन भएको बोर्डको तथ्यांक छ। 

यस्तै, गत महिना १४ हजार बढी अमेरिकी पर्यटक नेपाल आएका छन्। ८ हजार २ सय ७१ जना गरी युके तेस्रो स्थानमा रहँदा छिमेकी मुलुक चीन भने ६ हजार ८ सय ८० पर्यटकसँगै चौथो स्थानमा रहेको छ। क्रमसंख्यामा तलमाथि भए पनि सन् २०२३ मा चिनियाँ पर्यटकको औसत वृद्धि ८ देखि १० प्रतिशत रहेको बोर्ड प्रवक्ता लामिछानेले जानकारी दिए। २०१९ को तथ्यांक हेर्दा १ लाख ६९ हजार चिनियाँ पर्यटक नेपाल आएका थिए भने २०२० मा १९ हजार २ सय ५७ आए। २०२१ मा ६ हजार र २०२२ मा ९ हजार ५ सय ९५ चिनियाँले नेपाल भ्रमण गरेका थिए।

प्राकृतिक सुन्दरताले भरिएको देश नेपालमा विशेषगरी मनोरन्जनका लागि पर्यटक नेपाल आउने गरेका छन्। नेपाल आउने पर्यटकमा करिब ६५ प्रतिशत पर्यटक मनोरन्जनका लागि नेपाल आउने गरेका छन्। नेपालमा विश्वमा नै टे«किङ, हिमाल आरोहण, जंगल सफारीका लागि प्रख्यात छ। यसलाई थप ब्रान्डिङ गर्न आवश्यक रहेको विज्ञ जोशी बताउँछन्। पर्यटनको सबैभन्दा बढी राजस्वको स्रोतका रूपमा रहेको हिमाल आरोहणमा पनि उत्साह थपिएको छ। कोभिड यता हिमाल आरोहणमा संख्या पनि बढेको छ भने पर्यटकको इन्क्वरी पनि बढेको बताइन्छ।

सगरमाथासहित विश्वका आठवटा अग्ला हिमालले भरिपूर्ण नेपालमा सन् १९४९ देखि हिमाल आरोहणका लागि खुला गरिएको छ। हिमाल देशकै प्रमुख पर्यटकीय गन्तव्य र आयआर्जनको क्षेत्र मानिन्छ। हालसम्म ४ सय १९ हिमाल आरोहणका लागि सरकारले अनुमति दिएको छ। पर्यटक संख्यामा वृद्धिसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा यात्रुको चाप बढेको छ। विमानस्थलमा अहिले आन्तरिक र बाह्य गरी सरदर साढे ३ सय उडान हुने गरेको छ। यस्तै विमानस्थलले करिब २३ हजार यात्रुलाई दैनिक सेवा दिइरहेको छ। वार्षिक यात्रुको चहलपहल पनि करिब ७५ लाख पुगिसकेको छ। विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको क्षमता वार्षिक करिब ३५ लाख छ। क्षमताभन्दा बढी नै सेवा विमानस्थलले दिइरहेको छ। सन् २०३० सम्ममा अन्तर्राष्ट्रिय टर्मिनलबाट ८६ लाख यात्रुले सेवा लिने प्रक्षेपण गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा भैरहवास्थित गौतमबुद्ध विमानस्थल २०७९ जेठ २ गतेबाट र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १६ गतेबाट औपचारिक उद्घाटन भएका छन्। भैरहवामा केही अन्तर्राष्ट्रिय र चार्टर्ड उडान हुने गरेका छन् भने पोखरामा अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। जजिराले भैरहवा उडान सुचारुका लागि सर्तसहितको पत्र पठाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुल बताउँछन्। 

अहिले नेपाली एयरलाइन्स, हिमालयन र बुद्ध एयरसँगै करिब ३० विमान कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय नियमित उडान भर्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.