भूकम्पमा जो भाग्यले बाँचे

भूकम्पमा जो भाग्यले बाँचे

शुक्रबार मध्यराति सबै निन्द्रामा थिए। जाजरकोटलाई केन्द्रबिन्दु बनाएर जब ६.४ म्याग्निच्युडको भूकम्प गयो १५७ जनाले ज्यान गुमाए, सयौं घाइते छन्। तर, केही स्थानीय घर भत्किए पनि भाग्यले बाँच्न सफल भएका छन्। तीमध्ये केहीसँग अन्नपूर्णकर्मी राजेन्द्र कार्कीले गरेको कुराकानीको अंश।

सर्मिला विक, उमेर २२ वर्ष 
भेरी नगरपालिका–१, रावतगाउँ, जाजरकोट

सर्मिलाका श्रीमान् नेपाली सेनामा कार्यरत छन्। चार वर्षका छोरा, सासू र ससुरा खाना खाएर साढे ९ बजेतिर सुतेका थियौं। गहिरो निन्द्रामा भएको बेला मध्यरातमा सातो जाने गरी घर हल्लायो। केही क्षणमै घर गरल्यामगुर्लुम ढल्यो। चार वर्षीया छोरालाई कता पुर्‍यो थाहै भएन। सासूआमा पनि पुरिनुभएछ। ससुरा बा ढोकामा उभिएकाले त्यति चोट लागेन। छिमेकी र ससुराले मलाई र सासू आमालाई निकाल्नुभयो। अनि हामीलाई अस्पताल ल्याए। छोराको मृत्यु भइसकेको रहेछ। म बाँच्नुभन्दा छोरो बाँचेको भए हुन्थ्यो जस्तो लाग्छ।

चेतना विक, उमेर २१ वर्ष, 
भेरी नगरपालिका–३ तल्लो थाप्ले, जाजरकोट

घरको एउटा कोठामा बुवा–आमा अर्को कोठामा दाइ–भाउजू, अर्को कोठा सानो दाइ र अर्को कोठामा म सुतेका थियौं। म मस्त निन्द्रामा थिएँ। एक्कासि पूरै जिउ हल्लायो। घर हल्लायो त्यसपछि झर्‍यामझुरुम गर्दै घर ढल्यो। हामी सबै परिवार घरमा पुरियौं। मेरो शरीरको आधा भाग पुरेको थियो। काठले गर्दा टाउको तिर केही भएनछ। म बेहोस थिएँ। छरछिमेकले पुरिएको घरभित्रबाट निकालेर अस्पताल पुर्‍याएछन्। होस खुलेपछि थाहा भयो सबैलाई अस्पतालमै ल्याएका रहेछन्। आमालाई अलि धेरै चोट लागेको रहेछ। त्यसरी घर भित्र पुरिएर पनि धन्न केही भएन म त भाग्यले नै बाँचेको जस्तो लाग्छ।


लक्ष्मी शाह, उमेर ४० वर्ष 
भेरी नगरपालिका–३, थाप्ले, जाजरकोट

म र श्रीमान् एउटा कोठामा सुतेका थियौ। अर्को कोठामा छोरा सुतेको थियो। गहिरो निन्दामा थियौं। भुइँचालो आएर घर भत्किएर हामीलाई पुरिसकेपछि मात्र थाह पाएँ मैले। बचाउ–बचाउ भनेर श्रीमान् कराइरहेको आवाज मेरो कानमा परेपछि बल्ल भूकम्प गएको रहेछ अनुमान लगाए। अब मरिने भयो भने आफन्त सबैलाई सम्झिए। छिमेकीहरू प्नि कराइरहेका थिए। कोलाहल निकै भयो। बत्ती पनि थिएन। भाडामा बस्ने छिमेकीहरू आएर हामीलाई उद्धार गरेर अस्पताल लिएर आए। मेरो टाउकोमा चोट लागेको छ। श्रीमान् र छोरालाई पनि सामान्य चोट छ तर पनि हामी बाँच्न सफल भयौं।


शितला कामी, उमेर ६३ वर्ष 
भेरी नगरपालिका–१ डौरीकाँडा, जाजरकोट

गाउँको देवर बाबुको घरमा मानिस मरेका थिए। त्यही बस्न गएकी थिए। भर्खर सुतेका थियौं। कच्ची घर पूरै हल्लायो। केही क्षणमै घर ढल्यो। मेरो आधा आङ पुरेछ। पछि गाउँलेहरू आएर हाम्रो उद्धार गरे। देवरको सानो नाति च्यापिएर मृत्यु भएछ। मलाई पनि सुरुका स्टेचर नपाएर कुर्चीमा बोकेर ल्याए। आधा बाटो पछि स्टेचरमा अस्पताल ल्याए। भाग्यले बाँचे जस्तो लाग्छ। मलाई घर ढलेर माटो र ढुंगाले आधा शरीर पुरेपछि बाँच्छु जस्तो लागेको थिएन। भगवान्को कृपाले धन्न बाँचियो।


विक्रम तिरुवा, उमेर १२ वर्ष 
भेरी नगरपालिका–३, जाजरकोट

मेरो बुवा मजदुरीका लागि भारत जानुभएको छ। आमा पनि वैदेशिक रोजगारमै हुनुहुन्छ। घरमा दाइ म र बहिनी छौं। विद्यालय बन्द भएकाले मामाघर आएको थिएँ। सुतेको बेला एक्कासि आएको भूकम्पले घर ढल्यो। मेरो आधा शरीर पुरियो। म त अब मरे भन्ने लागेको थियो। पछि मामाहरूले तान्नु भएछ र बाँचे। ८ वर्षीया बहिनीलाई पहिरोले पुरिदिएछ। माया गर्ने बहिनी मलाई छोडेर गइन्। म अब कोसँग तिहारमा टीका लगाउँला ?


चक्रबहादुर खड्का, उमेर ४६ वर्ष 
भेरी नगरपालिका–२, जाजरकोट

म जिल्ला अदालत जाजरकोटमा कार्यालय सहयोगी पदमा कार्यरत छु। हामी सदरमुकाम खलंगामा कोठा भाडामा लिएर बस्दै आएका छौं। लोग्ने स्वास्नी खाना खाएर ९ बजेतिर सुतेका थियौं। ११ बजेतिर ब्युझिएर पिसाव फेर्न शौचालय गएँ। फेरि सुतेर भर्खर निदाएको थिएँ। पूरै घर खाट हल्लिएपछि बिउँझिएँ। घरको भित्ता ढल्ल सुरु भइसकेको थियो। खाटमुनि गए बाँचिन्छ भन्ने सुनेको कुरा झट्ट याद आयो। श्रीमतीलाई पनि खाटमुनि नै तानेर लिएँ। घरको भित्ता पूरै ढलेर खाटमै पर्‍यो हामीलाई पनि छातीसम्म पुर्‍यो। श्वास फेर्न कठिन भयो। अब मरिन्छ भन्ने लाग्यो। छोराछोरी सम्झिएँ। त्यसपछि घर भत्किन बन्द भयो। विस्तारै हातले भित्ताका ढुंगाहरू हटाएँ। पहिले म निक्लिएँ त्यसपछि श्रीमतीलाई तानेँ। हामी दुवै जना खाटमुनिबाट निक्लन सफल भयौं। अनि छिमेकी बचाउ–बचाउ भनेर कराइरहेका थिए। गएर उद्धार गर्‍यांै। छातीमा चोट लागेको रहेछ। त्यतिबेला खासै दुखेन। अहिले दुखिराछ। मर्न नलेखे कालले पनि नलिँदो रहेछ। पूरै घर भत्किएर पनि भगवान्को कृपाले बाँच्न सफल भयौं। धन्य भगवान्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.