जालपादेवीमा हजारौंले गरे पितृ उद्धारको कामना गर्दै महाद्वीप प्रज्वलन
देवीघाट : आफ्ना दिवंगत पितृको उद्धारको कामना गर्दै नुवाकोटको देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिरमा हरिवोधनी एकादशीको अवसरमा हजारौंद्वारा महाद्वीप प्रज्वलन गरेका छन्। जालपा क्षेत्र विकास समितिका अध्यक्ष मानबहादुर डंगोलले स्थानीयावासीले आफ्नो दिवंगत पितृहरुको सम्झनामा जाल्पादेवी मन्दिरको किनारा त्रिशूली नदीमा पुगेर द्विप प्रज्वलन गरेको जानकारी दिए ।
एकादशी मेला भर्न नुवाकोटलगायत विभिन्न स्थानबाट आएका तीर्थालुहरु गत वर्षको तुलनामा यस वर्ष ५० प्रतिशत बढेका छन् । यसवर्षको हरिवोधनी एकादशी मेलाको अवसरमा नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ देवीघाटको जालपादेवी मन्दिरमा मात्र बधबार राती पाँचहजार भन्दा बढीले महाद्वीप प्रज्वलन र दिवंगत पितृको मोक्षको कामना गर्दै द्विप प्रज्वलन गरेका हुन्। भक्तजनले रातभर जाग्राम बसेर महाद्वीप प्रज्वलन र आज बिहान जालपा देवी मन्दिरमा दर्जनौं फूलको डोली तारेका हुन्।
जालपादेवी मन्दिर हुँदै त्रिशूली नदी ३० वटा फूलको डोरी टांगिएको छ । आफ्नी दिवंगत पिताको स्मृतिमा आफू देवीघाटको जालपादेवी मन्दिरमा आएर परिवारसहित द्विप प्रज्वलन गरेको विदुर नगरपालिका ५ माझीटारका हेमन्त ओझाले बताए । उनले आफूले मानवीय धार्मिक संस्कारको भावनाले पिताको स्मृतिमा पुजापाठ गरेकोसमेत बताए ।
सदियौं पुरानो प्रसिद्ध जालपादेवी मन्दिरमा हरिवोधनी एकादशीका अवरसरमा आफ्ना पितृको उद्धार गर्ने उद्देश्यले महादीप प्रज्वलन गरेर हजारौंले एकादशी मेला मनाउने गरेको वेलकोटगढी नगरपालिका–८ धुरपुरेका शिवप्रसाद दाहालले बताए । आफूले परिवारसहित जालपादेवीमै आएर दिवंगत पिताको स्मृतिमा बत्ति बालेकोसमेत बताए ।
आफूले दिवंगत आफ्नी माताको स्मृतिमा परिवारसहित आएर नुवाईधुवाई गरि जालपादेवीमा द्विप प्रज्वलन गरेको विदुर १ ढुंगेबजारका नवराज उप्रेतीले वताए । रातभर जाग्राम बसेर बालेको द्विपलाई पण्डितद्वारा मन्त्रोच्चरणसहित बिहीबार बिहान त्रिशूली नदीमा सेलाइएको उप्रेतीले वताए ।
आफ्ना दिवंगत पितृको मोक्षको प्रार्थना र जीवनभरी गरेका पापलाई तार्ने जनाउँदै जालपादेवी मन्दिर र खड्गभञ्याङको फिर्केप वीचमा रहेको त्रिशूली नदीमाथी जालपादेवी मन्दिरवाट दजैनौं फूलको डोली तारिने परम्परागत र आकर्षक कार्य हेर्न सर्वसाधारणको बाक्लो सहभागिता रहने गरेको छ । धार्मिक सहिष्णुता र हिन्दू धर्मको आस्थाको सम्मान गर्दै जालपादेवी मन्दिरमा पुजापाठमा सर्वसाधारण आएका हुन् ।
हिन्दु धर्मावलम्वीहरुले प्रत्येक वर्षको कार्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको पुजाअर्चना गर्दै ठुलो एकादशी मनाउने गरेका छन् । एकादशी मेलाको अवसरमा नुवाकोटको जालपादेवीको साथै तारुकाको तारकेश्वर, गेर्खुको वेत्रावति, सुन्दरादेवी, गणेशस्थान, थानसिङ, राउवेशीलगायतका स्थानमा बिहीबार एकादशीको विशेष मेला भएको छ।
हरिबोधनी एकादशी अर्थात ठूलो एकादशीमा विभिन्न घाटमा विभिन्न थरीका फूलहरुलाई उनेर बनाएको तोरणलाई नदी, कुवा, तलाउ, धारामाथि टाँगिएको छ ।