नेपाली क्रिकेटको संरचनामा परिवर्तन
१० वर्षपछि नेपाली क्रिकेटले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। सन् २०१४ पछि नेपाल विश्वकपमा दोस्रो पटक छनोट हुन सफल भएको छ। नेपाली समर्थक र नेपाल क्रिकेट संघ (क्यान)ले गर्दा नै एसियाली छनोट नेपालमा गर्ने आईसीसीले अनुमति दिएको हो। क्यानले प्रतियोगिता सम्पन्न गर्ने मेहनत गरेको छ केही कमजोरीका बाबजुद पनि। सन् २०२३ नेपाली क्रिकेटका लागि राम्रो वर्ष भएको छ, कोच मोन्टी देसाईको आगमन नेपाली क्रिकेटका लागि सही साबित भएको छ।
यस पटकको छनोट धेरै हिसाबले चर्चामा आएको छ। केही कम्पनीले नेपालको म्याच हुँदा चौका, छक्का, विकेटमा लाखौं रकम प्रस्ताव गरेका थिए। अब छरिएर रहेका आफू खुसी प्रस्ताव गर्ने प्रायोजकलाई एक ठाउँमा ल्याउने विकल्प हो घरेलु लिग। क्रिकेटमा तीन ‘फम्र्याट’ हुन्छ– टी २०, एकदिवसीय र प्रथम श्रेणी (टेस्ट) घरेलु लिग पनि अब तिनै फम्र्याटमा आयोजना गरिनुपर्छ। तिनै फम्र्याट आयोजना गर्दा टी २० लागि चाहिने ‘हार्ड हिटर’ प्राप्त गर्नेछौं।
अहिले खेलिरहेका खेलाडीलाई अतिरिक्त ‘एक्सपोजर’ प्राप्त गर्ने थिए। नयाँ इमर्जिङ खेलाडीलाई सिनियर टिमसँग खेल्ने वातावरण मिल्नेछ। खेलाडीभित्रै प्रतिस्पर्धा वृद्धि हुनेछ। एकदिवसीय लिगले खेलाडीलाई परिपक्व बनाउँछ। लामो इनिङ खेल्ने कृजमा टिक्न र सट सेलेक्सन गर्न सिकाउँछ। प्रथम श्रेणीले परिपक्व बनाउँछ। परिस्थिति अनुकूल खेल्न कृजमा लामो समय टिक्न खेलाडीलाई सिकाउँछ। खेलाडी उत्पादनमा वृद्धि हुनेछ।
नियमित घरेलु लिग नहुँदा अहिले भीम सार्की आरिफ शेखलगायत खेलाडी अहिले घरमै आराम गरिरहेका छन्। भीम सार्की लामो फम्र्याटका खेलाडी हुन्। यदि नियमित लिग गराउने हो भने उनी घरमै बस्नुपर्ने थिएन। अझै आफूलाई परिपक्व बनाउँदै लिग खेलिरहेका हुन्थे। आरिफ सेखलगायत खेलाडी घरेलु लिगमै व्यस्त हुन्थे। कयौं खेलाडी छन् जो घरेलु लिग नहुँदा पलायन भइसकेका छन्। घरेलु लिग नहँुदा नयाँ खेलाडी उत्पादनमा समस्या हुन्छ। राष्ट्रिय समूहमा नरहेका खेलाडीलाई आर्थिक रूपमा धेरै गाह्रो हुन्छ, जीवन चलाउन।
खेलाडीलाई आर्थिक रूपमा बलियो साथै सुरक्षित गर्ने व्यवस्थित घरेलु लिग आजको आवश्यकता हो। जसले खेलाडीको आम्दानीसँगै क्रिकेट कल्चरलाई नयाँ रूपमा स्थापित गर्छ। आधुनिक क्रिकेटको मेरुदण्ड नै लिग हो। लिगलाई प्रभावकारी बनाउन सके राष्ट्रिय समूह स्वाभाविक रूपमा बलियो हुन्छ नै। क्लब क्रिकेट बलियो बनाउन हामीसँग समर्थकहरू छन्। ती समर्थक आफ्नो क्लबका लागि जस्तोसुकै त्याग गर्न तयार हुन्छन्। जति धेरै समर्थक हुन्छन्, क्लब आर्थिक रूपमा त्यति नै बलियो र सबल हुँदै जान्छ। जुन नेपाली क्रिकेटसँग सबैभन्दा ठूलो सम्भावना भएको क्षेत्र हो। क्लबसँग जति धेरै समर्थक हुन्छन्, त्यसै अनुपातमा कर्पोरेट क्षेत्रले क्लबलाई प्रायोजन गर्नेछन्। अर्ना, डिस होमलगायतले क्रिकेट खेलाडीलाई अफर दिनुको मुख्य कारण क्रिकेट नेपालमा धेरै समर्थकले पछ्याउने खेल भएकाले।
समर्थकको कमी नभएको खेल क्रिकेटमा लगानी गर्ने अहिले नेपालको कर्पाेरेट सेक्टर तयार छ। क्यानले एप्रोचसँगै लिग गराउन तयारी गर्नु प¥यो। लिगलाई अब होम एन्ड अवे फम्र्याटमा परिवर्तन गरेर देशभरि नै क्रिकेट ‘कल्चर’ बढाउन सकेमा नयाँ खेलाडी उत्पादनसँगै टिकटबाट प्रशस्त आम्दानी गर्न सकिन्छ। काठमाडौंबाहिर पोखरा, धनगढीलगायत स्थानमा लिग खेलाउन सकिन्छ।
क्लबलाई आम्दानी गर्ने टिकट र प्रायोजनको समस्या नहोला। जहाँबाट क्लबहरूले प्रमुख आम्दानी गर्न सक्नेछन्। यसले नेपाली क्रिकेटलाई व्यावसायिक तहमा फड्को मार्न ठूलो सहयोग गर्नेछ। नेपाली क्रिकेटको व्यावसायिकताका लागि आधार स्तम्भ सावित हुन सक्नेछ। नेपाली क्रिकेटको लागि घरेलु संरचना परिवर्तन गर्ने समय हो अहिले।
लिग टी २० कप, एकदिवसीय कप, प्रथम श्रेणी कप, तीनै फम्र्याटमा गर्ने एकै क्लबले तीनै श्रेणी लिग खेल्ने चार वा पाँच महिनाभित्र टी २० एक महिना लामो, एकदिवसीय दुई महिना र प्रथम श्रेणी दुई महिना गरेर पाँच महिना लामो गर्ने सकिन्छ। पहिलो वर्ष समय घटाउन पनि सकिन्छ। बीचमा ग्याप राखेर आयोजना गर्ने सकिन्छ। खेलाडीलाई आम्दानी हुनेछ। क्लब व्यावसायिकतामा जानेछ, क्लब उद्योगको रूपमा विकास हुनेछ।
एकै क्लबले तीनै श्रेणीको क्रिकेट खेल्ने अभ्यास अहिले सुरुआत भइरहेको छ केही देशमा। अफगानिस्तान, ओमान, स्कटल्यान्डले नियमित घरेलु लिग गराउन सकेकाले त्यहाँ नयाँ क्षमतावान् खेलाडी उत्पादन भइरहेको छ। जसको मुख्य कारण त्यहाँको घरेलु संरचना पनि हो। ओमान, यूएईमा खेलाडी अन्य देशका भएता पनि लिग नियमित भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !