साना उद्यमीका सामग्री प्रदर्शनी
नुवाकोट : नुवाकोटको विदुरमा घरेलु उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरू प्रदर्शन गरिएको छ। 'स्वदेशी उत्पादन अभियानः उद्यमीको सम्मान' नाराका साथ मनाइएको उद्योग दिवसका अवसरमा घरेलु तथा साना उद्योग कार्यालय परिसरमा विभिन्न उद्यमीहरूद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी समेत गरेको छ।
प्रदर्शनीमा साना उद्योगमा उत्पादित सामग्री, ढाकाजन्य वस्तु, तरकारी तथा फलफूल राखिएको थियो। सोही कार्यक्रममा उद्यमीहरू सम्मानित भएका छन्।
दिवसका अवसरमा घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले कार्यक्रमकाबीच दुई उद्यमीलाई सम्मान गरेको हो। म्यागङ गाउँपालिका–२ बुङताङमा सञ्चालित सानु कर्लेरी कृषि फर्मकी उर्जी तामाङ र विदुर नगरपालिका–५ गंगटेमा सञ्चालित दुवाल ब्रदर्शका सन्चालक सुन्दरमान दुवाललाई सम्मान गरिएको हो।