औद्योगिक व्यापार महोत्सव पुसमा
गुलरिया : बर्दियाको सदरमुकाम गुलरियामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुने भएको छ। समृद्ध बर्दियाको प्रमुख आधार कृषि, पर्यटन, उद्योग, संस्कृति र पूर्वाधारको नारासहित उद्योग वाणिज्य संघ गुलरियाले महोत्सव गर्न लागेको हो।
महोत्सव आगामी पुस ६ देखि १६ गतेसम्म गुलरियाको अस्पताल रोडमा सञ्चालन हुनेछ। महोत्सवमा १ लाख दर्शक भिœयाई ५ करोड रुपैयाँबराबरको कारोबार गर्ने लक्ष्य रहेको उद्योग वाणिज्य संघ गुलरिया बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताए। कृष्णसार संरक्षण क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज, बबई भ्याली, बढैया तथा सत्खलुवा ताललगायत जिल्लाका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गर्दै स्तरोन्नतिमार्फत आन्तरिक तथा बाह्य पर्यटक गन्तव्यको रूपमा विकास गर्ने उद्देश्य लिइएको छ।
कृषिजन्य उत्पादन तथा जडीबुटीको व्यवसायीकरण गर्दै लगानीका अवसरको खोजी गर्नुका साथै स्थानीय कला संस्कृति, साहित्य भाषाको संरक्षणमा जोड महोत्सवमा दिइएको छ। प्रत्येक वर्ष गुलरियामा व्यापार महोत्सव हुँदै आए पनि कोभिड महामारी पछि पहिलो पटक महोत्सव गर्न लागिएको हो। पाण्डेले थपे, ‘महोत्सवमा प्रादेशिक डान्स आइडल प्रतियोगिता, घरेलु उत्पादन, दैनिक उपभोग्य सामग्री, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति, मनोरञ्जनसहितको बाल उद्यान, कृषि उत्पादन तथा जडीबुटी, हस्तकला, स्थानीय थारू तथा विभिन्न जातजातिका परिकार पस्किनेछ,’ पाण्डेले भने, ‘संस्कृति, गारमेन्ट, जुत्ता, गलैंचा, पस्मिनालगायत कृषियन्त्र उपकरण महोत्सवका मुख्य आकर्षक हुन्।’ महोत्सवमा ५९ लाख ३० हजार खर्च लाग्ने अनुमान गरिएको छ।