सम्झौताको ४ महिनापछि सडकको शिलान्यास
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको नौविसे-चौतारा-मेलम्ची सडकखण्डअन्तर्गत चौतारा-पिपलडाँडा-झ्ँयाडी सडकखण्डको शिलान्यास गरिएको छ।
सम्झौता भएको चार महिनापछि सडकको शिलान्यास शुक्रबार बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले गरेका हुन्। पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकअन्तर्गत स्तरोन्नति हुने आयोजना गएको असार २२ गते सम्झौता भई २३ गते कार्य प्रारम्भ भएको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकको प्रमुख सिनियर डिभिजन इञ्जिनियर भरतकुमार यादव बताए।
असार २३ बाट कार्य प्रारम्भ भएको भनिए पनि शिलान्यास भने झण्डै ५ महिनापछि भएको हो। शिलान्यास कार्यक्रममा यादवले निर्माण कम्पनीले ढिलाई गर्दा स्तरोन्नतिमा ढिलाइ हुन पुगेको बताए। ‘निर्माण कम्पनीको आन्तरिक कारणले गर्दा प्रारम्भिक मितिमा काम सुरु हुन नसकेको हो’, उनले भने- ‘तर उहाँहरूले समयसीमा भित्र सक्ने प्रतिबद्धता जनाउनु भएको छ।’
कार्यालयले सो सडक स्तरोन्नतिका लागि २६ करोड ८२ लाख ९३ हजार २ सय ६० रुपैयाँमा काठमाडौंको सिद्धबाबा कन्ट्रक्सन प्रालिसँग सम्झौता गरेको छ। सम्झौता अनुसार ८ दशमलव २ किलोमिटर सडक स्तरान्नतिसहित कालोपत्रे कार्य निर्माण कम्पनीले २०८२ असार २२ गते भित्र सम्पन्न गर्नुपर्नेछ।
‘७ मिटर चौडाइ भएको यो सडकको नाली, सडक कालोपत्रे, ड्रेन लगायतको काम निर्माण कम्पनीले गर्नेछ’, पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इञ्जिनियर सत्रुधन यादवले भने, ‘सडकको स्तरोन्नति अन्तर्गत ७ सय मिटर ढलान हुने, १ मिटरको पक्की नाला रहने सम्झौता छ।’ उनले स्तरोन्नतिअन्तर्गत बाटो कटिङको काम तत्काल सुरु हुने बताए।
भौतिक पूर्वाधारमन्त्री दुलालले सडक स्तरोन्नतिको शिलान्यास गर्दै निर्माण कार्य ढिला भएको स्वीकारे। धेरै अगाडि ठेक्का लागेको योजना निर्माण आरम्भ नै ढिला भएको भन्दै मन्त्री दुलालले निर्माण कम्पनीलाई युद्धस्तरमा काम गर्न निर्देशन दिए।