डोल्पामा टेलिकमको सेवा घाम लागुन्जेल मात्र

डोल्पामा टेलिकमको सेवा घाम लागुन्जेल मात्र
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले सास्ती खेप्नु परेको छ। डोल्पामा राखिएका टेलिकमका टावरले घामका छउन्जेल मात्र सेवा दिन थालेपछि डोल्पाली जनताले फोनको सास्ती खेप्नु परेको हो।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-२ रसी लेकमा राखिएको माइक्रो वेभ टावरले राम्रोसँग काम नगर्दा डोल्पाली जनताले फोन र इन्टरनेट सुविधा ढुक्कले लिन पाएका छैनन्।

मंसिर महिना सुरु भएसँगै त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिकाका विभिन्न स्थानमा फोन तथा इन्टरनेटका लागि राखिएका टावरहरू अवरुद्ध हुन थालेका हुन्।

हिमाली क्षेत्रमा चिसो बडेसँगै टावर पनि आउने जाने हुन थालेको त्रिपुराकोटका स्थानीयवासी दुर्गा प्रसाद देवकोटाले बताए। एक महिना यतादेखि साँझसम्म आउने फोन टावर बिहान उठ्दाखेरी एकाएक गायब हुन थालेको उनले बताए। ‘आजको युगमा फोन र इन्टरनेट अपरिहार्य छ, कठिन भुगोल र यातायातको सुविधा नहुँदा दुर्गममा सामान्य खबर आदानप्रदान गर्न पनि एक ठाउँबाट अर्को ठाउँमा पुग्न हिँड्नुपर्छ, फोन र इन्टरनेट भइदियो भने घरबाटै खबर आदानप्रदान गर्न सकिन्छ’, उनले भने।

प्रत्येक दिन करिब पाँच घण्टासम्म फोन र इन्टरनेट सेवा दुवै जान थालेपछि दुर्गमका नागरिकलाई समस्या भएको उनको भनाइ छ। डोल्पावासीका लागि दुर्गमलाई सुगमसँग जोड्ने र सुगमको अनुभूति गराउने फोन र इन्टरनेट नै भएकाले डोल्पाका टावरलाई कसरी हुन्छ सबै समय चल्ने बनाउन पनि उनले आग्रह गरे।

रसी लेकमा राखिएको टावर अवरुद्ध भएसँगै जुफाल र त्रिपुराकोटको पनि टावर अवरुद्ध हुने गर्दछ। त्रिपुराकोटको टावर केही महिनाअघि मात्रै सुचारु भएपनि रसी र जुफालको टावरमा ऊर्जाको समस्या रहेको नेपाल टेलिकम डोल्पाका प्रशासन अधिकृत जयलाल बुढाथोकीले बताए।

विद्युत पनि नजोडिएको अवस्था र घाम नलाग्दा सोलारले राम्रोसँग काम नगर्ने भएपछि मंसिर यता डोल्पाका विभिन्न टावरमा समस्या आइरहेको उनले बताए। रसी र जुफालको टावरमा सोलार र ब्याट्री थप भएमा यो समस्या हट्ने उनको भनाइ छ।

रसी लेकमा राखिएको टावरका लागि आँखे खोला जलविद्युतबाट पोल समेत गाडिएको छ। तर,उक्त जल विद्युत सुचारु नभएपछि बत्ती भने जान सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.