स्वास्थ्यचौकी भवन अलपत्र

स्वास्थ्यचौकी भवन अलपत्र
सुन्नुहोस्

धनकुटा : समयमै हस्तान्तरण भइदिएको भए यतिबेला फाक्सिव स्वास्थ्यचौकी नयाँ भवनबाट सञ्चालन हुन्थ्यो। तर, अहिलेसम्म हस्तान्तरण नहुँदा उक्त स्वास्थ्यचौकी पुरानो भवनबाट सञ्चालन भइरहेको छ। निर्माण सम्पन्न भएको लामो समय बित्दासमेत स्वास्थ्यचौकीको नयाँ भवन हस्तान्तरण भएको छैन। जसको कारण नयाँ भवन प्रयोगहीन अवस्थामा रहेको छ।

साँगुरीगढी गाउँपालिका–४ फाक्सिवमा निर्माण भएको उक्त भवन रंगरोगनले चिटिक्क परेको छ। कम्पाउन्डले घेरिएको छ। गेटमा ताला झुन्डिएको छ। कम्पाउन्डमा सोलार प्यानलसमेत जडान गरिएको छ। भवन प्रयोगमा ल्याउँदा सेवाग्राहीले सहज रूपमा सेवा पाउन सक्छ।

सहिदभूमि गाउँपालिका–१ सफाइधापस्थित छिन्ताङधाप स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न भइसकेको छ। तर, हालसम्म पनि हस्तान्तरण नहुँदा पुरानो जीर्ण भवनमा स्वास्थ्यचौकी सञ्चालनमा रहेको छ। पुरानो जीर्ण भवनको छेवैमा नयाँ भवन निर्माण भए तापनि प्रयोग गर्न नपाउँदा सेवा प्रवाहमा असहज भएको धाप स्वास्थ्य चौकी इञ्चार्ज सुमित रामले बताए। फाक्सिव र छिन्ताङधाप स्वास्थ्यचौकी त उदाहरण मात्र हुन्। यी दुईबाहेक अन्य तीनवटा स्वास्थ्यचौकी पनि निर्माण सम्पन्न भइसकेका छन्। तर, हस्तान्तरण नहुँदा प्रयोग हुन सकेका छैनन्।

सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले साँगुरीगढी गाउँपालिकाको खुवाफोक स्वास्थ्यचौकी र फाक्सिव स्वास्थ्यचौकी, महालक्ष्मी नगरपालिकाको मूर्तिढुंगा स्वास्थ्यचौकी, मारेककटहरे स्वास्थ्यचौकी र डाँडागाउँ स्वास्थ्यचौकी, सहिदभूमि गाउँपालिकाको छिन्ताङधाप स्वास्थ्यचौकी, पाख्रिवास नगरपालिकाको सान्ने स्वास्थ्यचौकी, छथरजोरपाटी गाउँपालिकाको हात्तीखर्क स्वास्थ्यचौकी र धनकुटा नगरपालिकाको भीरगाउँ स्वास्थ्यचौकी गरी ९ स्वास्थ्यचौकीको भवन निर्माण सुरु गरेको थियो।

तीमध्ये खुवाफोक, फाक्सिव, भीरगाउँ, छिन्ताङ र सान्ने स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भइसकेका छन् भने डाँडागाउँ, मूर्तिढुंगा, मारेककटहरे, हात्तीखर्कको स्वास्थ्यचौकी भवन निर्मार्णाधीन अवस्थामा छन्। यी स्वास्थ्यचौकी भवनको भौतिक प्रगति ७५ देखि ८० प्रतिशतसम्म भएका छन्।

काठमाडौंको विरुवा कन्स्ट्रक्सन प्रालिले दुई भिन्दाभिन्दै ठेक्कामा निर्माणको जिम्मा पाएको थियो। पहिलो ठेक्काअन्तर्गत खुवाफोक, फाक्सिव, डाँडागाउँ, मारेककटहरे र मूर्तिढुंगा स्वास्थ्यचौकी भवन थियो। उक्त कम्पनीले २०७६ मंसिर १३ गते ठेक्का सम्झौता गरेको थियो भने ठेक्काको म्याद २०७७ फागुन १२ गतेसम्म रहेको थियो। तर, तोकिएको समयभित्र निर्माण सम्पन्न नभएपछि २०८० असार ३० गतेसम्म पुनः म्याद थप गरिएको थियो। ठेक्काको कुल लागत ११ करोड ११ लाख ६७ हजार २ सय ७३ रुपैयाँ थियो। यो ठेक्काअन्तर्गत खुवाफोक, फाक्सिव स्वास्थ्यचौकी भवन निर्माणको काम मात्रै सम्पन्न भएको छ भने डाँडागाउँ, मारेककटहरे र मूर्तिढुंगा स्वास्थ्यचौकी भवनको काम अझैं सम्पन्न हुन सकेको छैन।

दोस्रो ठेक्काअन्तर्गत भीरगाउँ, हात्तीखर्क, छिन्ताङधाप र सान्ने स्वास्थ्यचौकी भवन रहेको थियो। ठेक्काको कुल लागत ८ करोड ५८ लाख ५६ हजार १ सय ५८ रहेको छ। २०७६ मंसिर १० गते सम्झौता भएको यो ठेक्काको म्याद २०७७ फागुन १२ गतेसम्म रहेको थियो। तर, समयमै काम सम्पन्न नभएपछि २०८० असार ३० गतेसम्म म्याद थप गरिएको थियो। यो ठेक्काअन्तर्गत भीरगाउँ, छिन्ताङधाप र सान्ने स्वास्थ्यचौकी निर्माणको काम सम्पन्न भइसकेको छ भने हात्तीखर्क स्वास्थ्यचौकी निर्माणको काम बाँकी रहेको छ।

स्वास्थ्य चौकी भवन निर्माणको काम सम्पन्न नहुँदा जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेका छथरजोरपाटी गाउँपालिका–१ स्थित हात्तिखर्क स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष गोविन्द लिम्बुले बताए। वडा नं. १ का निर्वाचित वडाध्यक्षसमेत रहेका लिम्बूले नयाँ भवन निर्माण सम्पन्न नहुँदा सेवाग्राहीले सास्ती पाएको बताए। निर्माण छिटो सक्न सम्बन्धित कार्यालयमा पुगेर पटक–पटक कुरा गरेको समेत उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.