![अदालतको ढोकामा कृतज्ञताको ढोग](https://annapurnapost.prixacdn.net/media/albums/soti-ghatana_Pxtb9z4exI_ypf0Dz89Ts.jpg)
सोती घटनामा दोषी ठहरिएका पूर्ववडाध्यक्ष डम्बरबहादुर मल्ल माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन्। अरू सबै उनका आफन्त र नातेदार। उनीहरू सबैका संरक्षक पूर्वमन्त्री जनार्दन शर्मा। घटनालगत्तै शर्माले संसद्मा दिएको विवादास्पद अभिव्यक्तिले पनि पीडित परिवारमा न्याय पाइने होइन कि भन्ने संसय कायमै थियो। घटनालाई तोडमोड गर्न निकै प्रपञ्च रचियो। राजनैतिक दबाब र प्रभावका कारण न्यायाधीशहरूले पनि फैसला गर्न डराइरहेका थिए।
जाजरकोट : ‘छोरा मरे पनि, न्याय मरेन’, ‘सकियो अब भन्नेवाद, अदालतलाई धन्यवाद’, ‘न्याय पाए आमाले, शान्ति पाए आत्माले’, ‘भाइ बगाउने भेरीहरू, नबगाउनु फेरि अरू’ लगायतका प्लेकार्ड बोकेका सोती घटनाका पीडितहरूले बुधबार नारासहित मुसिकोट बजार परिक्रमा गरेका थिए।
बाजागाजासहित आफन्तजन र अधिकारकर्मीहरूको साथमा रहेका पीडित परिवारले जिल्ला अदालतलाई सम्मान गर्दै कृतज्ञतासहित ढोग गरेका छन्। यसका साथै न्याय दिने अदालतमा उनीहरूले पुष्प गुच्छासमेत अर्पणसमेत गरे। र्याली विजय उत्सव जस्तै देखिन्थ्यो।
अन्तर्जातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा जाजरकोटका नवराजसहित ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको फैसलापछि पीडित परिवारले न्याय पाएको भन्दै अदालतको ढोकामा पुष्पगुच्छासहित ढोग गरेका हुन्। रुकुम जिल्ला अदालतबाट मंगलबार बेलुका फैसला भएपछि बुधबार उनीहरूले न्याय प्रदान गर्ने अदालतको ढोकामा ढोगेका हुन्।
सोती घटनामा दोषी ठहरिएका पूर्ववडाध्यक्ष डम्बरबहादुर मल्ल माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन्। अरू सबै उनका आफन्त र नातेदार। उनीहरू सबैका संरक्षक पूर्वमन्त्री जनार्दन शर्मा। घटनालगत्तै शर्माले संसद्मा दिएको विवादास्पद अभिव्यक्तिले पनि पीडित परिवारमा न्याय पाइने होइन कि भन्ने संसय कायमै थियो। घटनालाई तोडमोड गर्न निकै प्रपञ्च रचियो। राजनैतिक दबाब र प्रभावका कारण न्यायाधीशहरूले पनि फैसला गर्न डराइरहेका थिए।
मुद्दा छिटो किनारा लगाउनेभन्दा पेसी सारेर आफू विवादमा नआउने बरु सरुवा भएर अन्य जिल्ला जाने न्यायमूर्तिहरूको व्यवहारका कारण पीडित परिवार निराश थिए।
अभियुक्त ३४ जनामध्ये उच्च र सर्वोच्चले ११ जनालाई तारेखमा रिहा गरेपछि झन् मनोबल कमजोर भएको थियो पीडितहरूको। अन्तिम फैसला हुने मितिको पेसी सरेकै ५ पटक भइसक्यो। ६ महिना अघिदेखि पेसी सरेको सर्यै थियो। घटना तोडमोड हुने र पीडितले न्याय नपाउने जस्तो अवस्था देखेपछि अधिकारकर्मी खगेन्द्र सुनार पीडितको पक्षमा खुलेर वकालत गर्न थाले। पीडित परिवारलाई काठमाडौंसम्म लिएर राष्ट्रिय मानव अधिकार आयोगलगायतको ध्यानाकर्षण गराए। हालका जिल्ला न्यायाधीश खड्गबहादुर केसीको एकल इजलासले २४ जनालाई जन्मकैदको ऐतिहासिक फैसला सुनाएपछि पीडित परिवारले बल्ल सन्तोसको स्वास फेरेका छन्।
मृतक नवराजका बुवा मुनलाल नेपालीले साढे तीन वर्षको लडाइँपछि न्यायको जित भएको बताए। फरक जिल्लामा न्यायको लडाइँ भइरहेको र राजनीतिक प्रभावका कारणले न्याय पाइँदैन कि भन्ने लागेको बेला न्यालयले न्यायको अनुभूति दिलाएको उनको भनाइ छ। उनले जिल्ला अदालत र न्यायाधीशलाई भगवान्को संज्ञा दिए। उच्च अदालत र सर्वोच्चबाट दोषीहरू अझै उम्कन्छन् की भन्ने शंका मनमा रहेको उनले संसय सुनाए।
घटनामा परी ज्यान गुमाएका भेरी नगरपालिका २२ का गोबिन्द शाहीको आमा भिमीकुमारी शाहीले अनिदो र भोकै सहेर पनि न्यायको लागि लडेको बताइन्। न्याय नपाउने चिन्तामा रहेका आफूहरूलाई अदालतले न्याय दिएको उनको भनाइ छ। उनले जिल्ला अदालतले गरेको फैसलालाई राम्रो र हाम्रो पक्षमा भएको बताइन्। अदालतको फैसलाले पीडित परिवार र सबैको मनमा शान्ति भएकाले खुसी मिलेको शाहीले बताइन्। न्यायको माग गदै अदालतमा धर्ना दिन चार दिनअघि रुकुम मुसिकोट पुगेका पीडित परिवार बुधबार जाजरकोट फर्किएका छन्। घर पुग्दा आफन्तहरू र पीडित परिवारहरू न्याय पाएको भन्दै खुसी साटासाट गरेका छन्।
उक्त घटनामा संलग्न भएको भन्दै रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले उक्त घटनामा मुद्दा दर्ता भएका ३४ मध्ये २४ जनालाई जन्मकैदको फैसला गरेको हो। अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले पुर्पक्षका लागि थुनामा रहेका २३ जना र तारेखमा रिहा भएका एक जनासमेत गरेर २४ जनालाई जन्मकैदको फैसला भएको
जानकारी दिए।
यस्तै, जन्मकैद फैसला भएका २४ जनामध्ये मल्ल ठकुरी थरका १८ जनालाई जातीय छुवाछूततर्फ दुई वर्ष कैद र ५० हजार जरिबानासमेत भएको छ। त्यसैगरी, नवराजकी प्रेमिका भनिएकी किशोरी र निजको आमालाई जातीय छुवाछूततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना भएको छ। साढे तीन वर्ष पहिला रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटका नवराज बिकसहित ६ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डको फैसलापछि पीडित परिवारले न्याय पाएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)