दरखोला र बगरखोला जलविद्युत्को पीपीए
बेनी : म्याग्देलीहरूको अगुवाइमा निर्माण हुन लागेको दरखोला र बगरखोला जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको छ। रघुगंगा गाउँपालिका–७ मा निर्माण हुने ५.५ मेगावाट क्षमताको बगरखोला र धवलागिरि गाउँपालिका–३ मा निर्माण हुने ६.५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाको पीपीए भएको हो।
नेपाल विद्युत् प्राधिकरणसँग २०८३ फागुन महिनाभित्र विद्युत् उत्पादन गर्ने कार्ययोजनासहित बगरखोलाको प्रवद्र्धक मोना हाइड्रोपावर र दरखोलाको प्रवद्र्धक दरखोला हाइड्रोपावरले सम्झौता गरेका हुन्। प्राधिकरणका तर्फबाट उपमहानिर्देशक प्रकाश थिङ र निर्देशक प्रबल अधिकारी तथा मोना हाइड्रोपावरका अध्यक्ष चक्रबहादुर थापा र दरखोला हाइड्रोपावरका अध्यक्ष रेशमबहादुर भण्डारीले सम्झौतापत्रमा हालै हस्ताक्षर गरे। सम्झौताअनुसार हिउँदमा प्रतियुनिट ८.४० र बर्खामा ४.८० रुपैयाँ प्रतियुनिटका दरले प्राधिकरणले आयोजनाको विद्युत् खरिद गर्ने भएको छ।
सबै चरणको सर्वेक्षण र पीपीए सकिएकाले वित्तीय व्यवस्थापन गरेर आयोजनाको पूर्वाधार निर्माणको तयारी थालिएको प्रवद्र्धक कम्पनीका सञ्चालकले बताएका छन्। रघुगंगा गाउँपालिकाको चिमखोलाको पात्ले गाउँको फेदीमा बाँध रहने बगरखोलाको विद्युत्गृह चिमखोला गाउँभन्दा केही तल प्रस्ताव गरिएको छ।
दुई किलोमिटर सात सय मिटर पेनस्टक पाइपलाइन रहने आयोजनाबाट उत्पादित विद्युत् रघुगंगा गाउँपालिका–३ मा निर्माणाधीन राहुघाट सवस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ। एक अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। रोजगारी, पेसा, व्यवसाय र अध्ययनको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्दी, जिल्लाकै विभिन्न पेसाकर्मी, स्थानीय र स्वदेशी लगानीकर्ताको लगानी जुटाएर निर्माण गर्न लागिएको अध्यक्ष थापाले बताए।
धवलागिरि गाउँपालिका–३ कुनौटोमा बाँध र सोही वडाको सोलवाङमा विद्युत्गृह प्रस्ताव गरिएको दरखोला जलविद्युत् आयोजनाको तीन किलोमिटर एक सय मिटर पेनस्टक पाइपलाइन रहने जनाएको छ। दरखोलाबाट उत्पादित विद्युत् मालिका गाउँपालिका–७ मा निर्माणाधीन डाँडाखेत सवस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिने अध्यक्ष भण्डारीले बताए।
म्याग्दीमा हाल ३५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। विद्युत् विकास विभागका अनुसार ६३ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको म्याग्दीमा ७०० मेगावाट क्षमताका १७ आयोजनाले निर्माणका लागि अनुमति लिएका छन्।
म्याग्दी प्रदेशसभाका सांसद रहेका गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले २२० केभी क्षमताको दाना सवस्टेसन निर्माण पूरा र १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सवस्टेसन तथा प्रसारण लाइन निर्माणले तीव्रता पाएसँगै कालीगण्डकी, म्याग्दी र राहुघाट तथा सहायक नदीमा जलविद्युत् निर्माणले तीव्रता पाएको बताए।
प्रतिक्रिया दिनुहोस !