मिसन २०८४ होइन, भिजन ९५ भनौं : महामन्त्री शर्मा
बागलुङ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि मिसन २०८४ होइन, भिजन २०९५ भन्नुपर्ने बताएका छन्।
बागलुङको क्षेत्रीय सम्मेलनमा बोल्दै महामन्त्री शर्माले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाप्रति लक्षित गर्दै उनले ८४ मात्रै नभएर त्यसअघि र पछि पनि चुनाव हुने बताए। 'मिसन २०८४ किन भन्ने? चुनावको बेलै नआइ किन मिसन भन्नुपर्यो,' उनले भने, 'जनताले मिसन २०८४ भन्नेहरूलाई जहिले चुनावको चिन्ता गर्छौं। तिमीले देश विकासको चिन्ता कहिले गर्छौं? भनेर प्रश्न गर्नुपर्छ।'
उनले ६ कक्षामा अध्ययन गर्ने छोराछोरीलाई चार वर्षपछि आउने एसईईको बारेमा तयारी गर्न लगाउन नहुने बताए। 'चार वर्षपछिको लागि तयारी नभई अहिलेको लागि नै तयारी गर्नुपर्छ,' शर्माले भने, 'अब्बल विद्यार्थी त्यो होइन, जसले परीक्षाको चिन्ता गर्छ। अब्बल त्यो हो जसले पढाईको चिन्ता गर्छ।'
उनले देशको चिन्ता गर्नुपर्ने र त्यसको लागि भिजन २०९५ को लागि सबै दलले तयारी गर्नुपर्ने बताए। 'देश भूकम्पिय जोखिममा छ। त्यसैले भिजन २०९५ को तयारी गरेर भुकम्पिय जोखिममा रहेको देशमा ७ रेक्टरको भूकम्प आए पनि १ वटा पनि घर भत्किँदैन भन्ने गराउँ,' शर्माले भने, 'भिजन २०८४ होइन, भिजन आत्मसम्मानको होस्।'
महामन्त्री शर्माले देशमा केही नभएको हल्ला गरेपनि विकास भइरहेको बताए। 'देश विकासका लागि अझै गर्नुपर्छ र गर्न सकिन्छ। गाली गरेरमात्र देश बन्दैन, समन्वय गरेर देश बन्छ,' उनले भने।
उनले राजा हुँदा देशको ९ प्रतिशत नागरिकका घरमा पुगेको विद्युतीकरण अहिले ९५ प्रतिशत नागरिकसम्म पुगेको बताए। अहिलेको व्यवस्था केही पनि भएन भन्नेलाई त्यो गतिलो उदाहरण भएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !