वडामै योजना सम्झौता
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ। गाउँपालिकाका कर्मचारी, प्राविधिक र बैंकका कर्मचारीहरू योजना सम्झौताका लागि वडामा पुगेका हुन्।
वडा कार्यालयमा योजना सम्झौताको व्यवस्था मिलाएपछि उपभोक्ताको समय र खर्च बचत भएको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका फासबहादुर गर्बुजाले बताए। ‘हाम्रो वडाका बासिन्दालाई गाउँपालिकाको केन्द्र जान, योजना सम्झौता गर्न र घर फर्कन तीन दिन लाग्ने गरेको थियो,’ उनले भने, ‘वडामै योजना सम्झौता गर्न पाउँदा गाउँगाउँमा सिंहदरबार आएको महसुस भयो।’
योजना सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष गाउँपालिकाको कार्यालयमा जान आउन गाडीभाडा, खाना, खाजाको खर्च व्यक्तिगत रुपमा व्यहोर्नु पर्छ। कुनै कागजात नमिलेपछि फर्किएर सिफारिस बनाउन वडामा आउने जाने गर्दा झन्झट हुन्थ्यो।
गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, योजना अधिकृत हरिकृष्ण आचार्य, वरिष्ठ लेखा सहायक प्रेम पराजुली र प्रभु बैंकको पोखरेबगर शाखाका प्रबन्धक सुमन घर्तीको टोली योजना सम्झौता शिविर लिएर आइतबार वडा नम्बर ८ राम्चे पुगेको छ।
राम्चेमा चालु आर्थिक वर्षमा १० वटा योजना छन्। प्रमुख प्रशासकीय अधिकृत सुवेदीले सोमबारसम्म वडा कार्यालयमै बसेर सबै योजनाको सम्झौता गरिने बताए। ‘सर्वेक्षण र समिति गठनको काम सकिएपछि पदाधिकारीहरूलाई वडा कार्यालयमा बोलाएर योजना सम्झौता गर्न थालेका हौं,’ उनले भने ‘योजना कार्यान्वयनको नीतिगत, व्यवस्थापकीय र लेखा व्यवस्थापन सम्बन्धी तालिम पनि दिएका छौं।’
वडा अध्यक्ष खमबहादुर गर्बुजा लगायत जनप्रतिनिधि र कर्मचारीहरूले योजना सम्झौताका लागि सहजीकरण गरेका छन्। विकट र दुर्गम क्षेत्रका उपभोक्ता समितिका पदाधीकारीहरूलाई सहज भएको वडाध्यक्ष गर्बुजाले बताए। अन्नपूर्ण गाउँपालिकामा आठ वटा वडा छन्।
आठ वटै वडामा पुगेर योजना सम्झौता र उपभोक्ता समितिका पदाधीकारीहरूलाई प्रशिक्षण दिइने गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताइन्। अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा करिब १५० वटा योजना कार्यान्वयन गर्दैछ।
तीन लाख रुपैयाँ भन्दा कम बजेटका योजना तथा कार्यक्रमको सम्झौता गर्ने अधिकार वडा सचिवलाई प्रत्यायोजन गरिएको छ। बेरुजु आउन नदिने, प्राविधिक र व्यवस्थापकीय त्रुटी न्युनीकरण गर्न उपभोक्ता समितिलाई अभिमुखीकरण गरिएको हो।
प्रतिक्रिया दिनुहोस !