वैद्यनाथ गुठी जग्गा विवाद : मन्दिरमा ३ घण्टा तालाबन्दी

वैद्यनाथ गुठी जग्गा विवाद : मन्दिरमा ३ घण्टा तालाबन्दी
वैद्यनाथ मन्दिरको मुल गेटमा धर्नामा बसेका स्थानीय
सुन्नुहोस्

अछाम : अछामको वैद्यनाथ मन्दिरमा स्थानीयले तालाबन्दी गरेका छन्। गुठी जग्गा विवादका कारण वैद्यनाथ गुठी जग्गा पीडित सरोकार समितिले आज मन्दिरको मुल गेटमा तालाबन्दी गरेका हुन्। 

समितिले बिहान ८ बजेदेखि ११ बजेसम्म तालाबन्दी गरेका हुन्। ३ घण्टापछि ताला खोलिएको समितिका सचिव प्रेमनाथ योगीले बताए। साँफेबगर नगरपालिका १ वैद्यनाथ, वडा नम्बर २ श्रीकोट,वडा नम्बर ९ बुढाकोट र चौरपाटी गाउँपालिका-४ को मदने क्षेत्रका स्थानीयले आफूहरूलाई अन्याय परेको भन्दै विरोधमा उत्रिएका छन्। 

आफूहरूले शान्तिपूर्ण विरोधका कार्यक्रमहरू गरिरहेको योगीले बताए। उनले भने, ‘हामीले शान्तिपूर्ण तरिकाले विरोध जनाइरहेका छौं, सरकारले हामीलाई कडा खालका कार्यक्रम गर्न बाध्य नबनाओस् , हामीले बनाएको, संरक्षण र रेखदेख गर्दै आइरहेको मन्दिर हो, यो मन्दिरको राम्रो चाहेका छौ हामीले, मन्दिरलाई अशान्त बनाउने स्थिति सरकारबाट हुँदैछ।’ 

वर्षौंदेखि नेताहरूबाट पनि आश्वासन मात्र पाउने गरेको उनीहरूले गुनासो गरे। पीडितहरूले फेरि दोस्रो चरणको विभिन्न संघर्षको कार्यक्रम समेत अगाडि सारेका छन्। उनीहरूले गत भदौ १७ गते पहिलो चरणको संघर्षका कार्यक्रमहरू गरेका थिए। आफ्नो व्यक्तिगत जग्गा गुठीमा परेको भन्दै स्थानीय पटक–पटक गुठी संस्थान काठमाडौं र नेता मन्त्रीकोमा धाउने गरेका छन्। गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौंले गत वर्ष पुष १२ गते विभिन्न व्यक्तिले आफ्नो भनि दाबी गर्दै आइरहेको जग्गा गुठीको रहेको फैसला गरिसकेको थियो। 

उक्त फैसलाका विरुद्ध स्थानीयहरू विरोधमा उत्रिएका छन्। पीडित १ सय ७१ परिवारले गुठी संस्थानको विरुद्ध काठमाडौं जिल्ला अदालतमा गत भदौमा मुद्दा दायर गरेका कृष्ण विकले जानकारी दिए। भोलि फेरि ८ घण्टा तालाबन्दी गर्ने कार्यक्रम रहेको उनले बताए। उनले भने, ‘मागको सुनाइ नभए हामी मन्दिरमा अनिश्चितकालका लागी तालाबन्दी गर्न बाध्य हुनेछौं। हामी जस्तो गरिबलाई जबरजस्ती सकुम्बासी बनाउने षडयन्त्र भइरहेको छ, हाम्रो जग्गा हामीलाई दिनु पर्यो। गुठीको जग्गा त पहिले नै टाठाबाठाहरूले मिलेर आफ्नो नाममा गरिसके अहिले व्यक्तिगत जग्गा गुठीमा पारिएको छ।’ 

सरकारले हेरफेर नै नगरी रैकर जग्गालाई समेत गुठीमा राखेपछि कतिपयको उठिबास लाग्ने अवस्था रहेको विकले बताए। उनीहरूले मन्दिर परिसरमा नाराबाजीसहित धर्ना दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.