मेयर तेलीको इट्टा भठ्ठाबाट ठूलो परिमाणमा तस्करीको काठ-दाउरा बरामद
![मेयर तेलीको इट्टा भठ्ठाबाट ठूलो परिमाणमा तस्करीको काठ-दाउरा बरामद](https://annapurnapost.prixacdn.net/media/albums/Teli111_6In5p2Isn9_jp0U7z4qHs.jpg)
वीरगन्ज : पर्साको बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साह तेलीको इट्टा भठ्ठाबाट ठूलो परिमाणमा चोरी तस्करीको अवैध काठ-दाउरा बरामद भएको छ।
जिल्ला वन कार्यालय पर्साले विशेष सूचनाको आधारमा बुधबार पर्सागढी नगरपालिका-७ फसलवरिया चैनपुरमा तेलीले सञ्चालन गरेको सूर्य इट्टा भठ्ठा उद्योगमा छापा मारेको थियो। त्यस क्रममा जंगलबाट गैरकानुनीरूपमा रुख फडानी गरी गोलिया काठ चिरेर दाउरा बनाइएका १२५ घनफिट काठ-दाउरा बरामद भएको डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख फरमान मियाँले बताए।
इट्टा भठ्ठामा तस्करी गरी ल्याइएको काठ दाउरा फेला परेपछि जफत गरिएको डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख मियाँले बताए। उनका अनुसार बरामद काठ-दाउराको मुचुल्का उठाइ कारबाहीको आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
इट्टा भठ्ठा सञ्चालक तेलीविरुद्ध पनि कारबाही प्रक्रिया अगाडि बढाइने मियाँले बताए। उनले भने, `सञ्चालक तेलीलाई वन कार्यालयमा उपस्थित हुन पत्र काट्छौं। बरामद दाउरा-काठ बराकरको बिगो भराउने गरी मुद्दा दर्ता गर्छौं।'
उनका अनुसार नेपालको कानुनले इट्टा भठ्ठामा दाउरा वा काठ बालेर इट्टा पोल्न प्रतिबन्ध लगाएको छ। इट्टा उद्योगको आईई प्रतिवेदनमा कोइला बालेरमात्रै इट्टा पोल्नुपर्ने उल्लेख छ। तर तेलीको इट्टा भठ्ठामा जंगलबाट चोरी तस्करी गरी ल्याएर काठ-दाउरा भण्डारण गरेको फेला परेको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)