नेपाल-भारत संयुक्त आयोगको बैठक भोलि, विदेशमन्त्री जयशंकरले राजनीतिक भेटघाटसमेत गर्ने
काठमाडौं : नेपाल-भारत संयुक्त आयोगको बैठक भोलि र पर्सी काठमाडौंमा हुने भएको छ। बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर भोलि नै नेपाल आउँदैछन्।
नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेश मन्त्री एस जयशंकरले बैठकको नेतृत्व गर्नेछन्। यो नेपाल-भारत संयुक्त आयोगको सातौं बैठक हो। परराष्ट्रमन्त्री साउदको निमन्त्रणामा भारतीय समकक्षी नेपाल आउन लागेका हुन्। सन् १८८७ मा नेपाल-भारत आयोगको स्थापना भएको हो। बैठकले द्विपक्षीय सम्बन्धन र सहयोगको समीक्षा गर्नेछ।
परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्री जयशंकर भोलि काठमाडौं आउने जानकारी गराएको हो। विदेशमन्त्री जयशंकरले नेपाल रहँदा यहाँका राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भारतीय विदेशमन्त्रालयले समेत विज्ञप्ति निकाली विदेश मन्त्री जयशंकरले नेपाल रहँदा राजनीतिक भेटघाट गर्ने जनाएको छ। परराष्ट्र मन्त्रालयले भारतीय विदेश मन्त्रीको सम्मानमा रात्री भोजको आयोजना गरेको छ।
भारतीय वायुसेनाको विशेष जहाजबाट विदेशमन्त्री एस जयशंकरको टोली काठमाडौं आउने भएका हुन्। टोलीमा विदेश सचिव विनयमोहन क्वात्रा,नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च अधिकारीहरू हुनेछन्।
बैठकमा भारतीय दूतावासको साना विकास परियोजना (एसडिपी)बारे सम्झौतासमेत हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। उक्त परियोजनाअन्तर्गत भारतीय दूतावासले नेपालमा सिधै २० करोडसम्म लगानी गर्न सक्नेछ। मन्त्रिपरिषद् बैठकले हालै उक्त परियोजनाअन्तर्गत भारतीय दूतावासलाई २० करोड लगानी गर्न दिने निर्णय गरेको थियो।
त्यस्तै बैठकमा भारतसँग भएको विद्युतीय व्यापार सम्झौताका विषयमा पनि हस्ताक्षर हुनेछ। परराष्ट्रमन्त्री एनपी साउदले यसअघि नै विद्युतीय व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतले नेपालसँग १० वर्षमा १० हजार मेगावाट विजुली खरिद गर्ने सम्झौता गरेको थियो।
भारतीय विदेश मन्त्रीको भ्रमणको क्रममा १३२ केभीएका तीनवटा प्रसारण लाइनको उद्घाटन गर्ने तयारी भएको छ। भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइन,भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन र कुशाहा–कटैया प्रसारण लाइनको दुवै देशका परराष्ट्र मन्त्रीहरूले संयुक्तरुपमा उद्घाटन गर्नेछन्।
नेपाल र भारतबीच इनर्जी बैंक बनाउने विषयमा समेत छलफल हुने स्रोत बताएको छ। सह-सचिवस्तरीय बैठकमा इनर्जी बैंक बनाउन सहमति भए दुवै मुलुकका सचिवस्तरीय बैठकले यसलाई अन्तिमरुप दिने तयारी भइरहेको छ।
विदेशमन्त्री एस जयशंकरको टोली पुस २० गते भारत फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !