‘पीडितलाई पेलेर संक्रमणकाल टुंगिँदैन’
बेइमानीको शृंखला
शेरबहादुर देउवाजीले डेढ वर्ष कुर्सीमा विराजमान भइसकेपछि चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउँछु भनेकै हो। त्यसमा सर्लक्क बेइमानी गर्यो कांग्रेसले। मध्यावधिमा जान नदिन प्रचण्डलाई प्रधानमन्त्री बनाइयो। तर, उहाँले इमान धान्न सक्नुभएन। कोशीमा ८ सिट भएको शेखर कोइराला समूहबाट केदार कार्कीजीलाई ४० सिटको हामीले मुख्यमन्त्री बनायौं। त्यहाँ पनि बेइमानी नै भयो।
सिन्दूर हाम्रो, पोते अर्काको
खोइ त त्यत्रो सुन ?
३५ क्विन्टल सुन तस्करी रे, पहिला कहिल्यै सुन्नुभएको थियो ? समातिएको मान्छे ‘१४ केजी पक्राउ पर्यो, १ सय ३८ केजी त हामीले पहिल्यै निकास गरिसक्यौं’ भन्छ। सुनसहित समातिएको मान्छे छ, राजस्व अनुसन्धान लगेर सानो कागज गरेर छाडिन्छ। अनुसन्धान गर्नु पर्दैन थियो ?
पशुपति जप्दै, सुन हडप्दै
त्यतिबेला पशुपतिमा पित्तल चढायो भनेर कुर्लिए। यी माओवादी मित्र किन कराउँदै छन् भनेर म विचार गर्दै थिएँ, पछि ३५ क्विन्टल त त्यसैबीचमा भ्याइदिएछन्। चील आयो, चील आयो, चील आयो भन्यो, यता कुखुरोचाहिँ कर्याककुरुक पार्नु रहेछ।
त्यसै सरकार बन्दैन
हामीसँग ८० सिट छ, १ सय ३८ सिट चाहिन्छ। हामीले भनेर हुने होइन। विभिन्न शक्ति यसमा लागेका हुन्छन्। देशभित्रका मात्र हुने हो भने हामी ठेगान लगाउन सक्छौं। यहाँ त अन्य शक्तिहरू छन्। एक चिजमात्रै प्रयोग हुँदैन। त्यस स्थितिमा सरकार बनाउँछु–बनाउँछु, खेल्छु–खेल्छु भनेर केही हुनेवाला छैन।
नाम मात्र वाम
माओवादी ? यो कसरी वामपन्थी ? कांग्रेसका पछि लुकेर हिँड्ने, अनि वामपन्थी भन्ने ? वामपन्थीको दुईतिहाइको सरकार ढाल्ने, वामपन्थी हुने ? वैदेशिक शक्तिका लागि कम्फरटेबल हुने, देशभक्त र वामपन्थी भन्ने ?
‘ओली फोबिया ?’ केही त छ
‘फोबिया’का सम्बन्धमा तपाईंहरू आफैं विश्लेषण गर्नुहोस्। म केही भन्दिनँ। तर, कुछ तो जरुर है। किन केही छ भने यसमा देशभक्तिको पाटो होला। देश हितविपरीत जान नमान्ने मेरो अडानका कारण होला। अर्को कुरा म लोभमुक्त मान्छे हुँ। म देशको मात्र लाभहानी हेर्छु।
राजा र धर्म : बेकारका बकबास
उद्देश्य आपराधिक छ, कुरा धर्मका। दान–पुण्यका कुरा हुन् यी ? काटमार, रक्तपातका कुरा केका धर्मका ? जहाँसम्म राजतन्त्रको विषय छ, चर्चा गर्न लायककै कुरा छैन। वीरेन्द्रको वंश विनाश हुँदै राजतन्त्र सकिएको हो। राजाको वंशै विनाश भयो भने तन्त्र कसरी रह्यो ? त्यतिखेर राजनीतिक नेताहरूको हुतिहारा पाराले ज्ञानेन्द्र राजा भएका हुन्।
बालकुमारी काण्ड : मन्त्री जिम्मेवार
यो काण्डको सुरुवात गर्ने मन्त्री को हो ? मन्त्रीले जिम्मा लिनुपर्दैन ? परीक्षा दिन नपाउने विवाद किन खडा गर्यो ? मन्त्री जिम्मेवार छन् कि छैनन् ? अर्को मन्त्री फेरि, हातमा सेट (प्रहरी वाकीटकी) छ। कहाँ जुलुस हुँदैछ थाहा हुँदैन ? अनि सेट लिएरै कसरी जुलुसमा पसेको ? यस्तो त सरकार छ, मन्त्री झन् हुलमा गएर पस्छन्। त्यो भड्काउन खोजेको होइन ? अटेर गरेको होइन ?
न्यायपछि संक्रमणकालीन न्याय
जसले बम हान्नुहुन्थ्यो। उहाँहरू नै अहिले सत्तामा बसिरहनुभएको छ। उहाँहरू पीडित होइन, पीडकहरू हो। पीडकहरूले दिने फैसला कस्तो हुन्छ ? हामीले पीडित केन्द्रित बनाएर संक्रमणकालीन न्याय टुंग्याऔं भन्दै आएका छौं। पीडितले न्याय पाउनुपर्छ। दण्डहीनताको अन्त्य हुनुपर्छ। सत्य स्थापित भएपछि मेलमिलाप आफैं हुन्छ।
पहिचानको व्यापार
पहिचानको व्यापार माओवादीले सुरुवात गरेको हो। अहिले माओवादी ‘मै व्यापारी हुँ’ भन्न सक्दैन। आफैं खालमा बस्दैन, तर च्याखे थाप्छ।
(- एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्नपूर्ण पोस्ट्सँग गरेको कुराकानीको सम्पादित अंश)