राष्ट्रिय सभाको उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बैठक बोलाइएको जानकारी दिए।
उनका अनुसार मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको हो। कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ।
सत्ता गठबन्धनमा कसले कति सिट लिने भन्नेमा विवाद कायमै रहेको छ। दलभित्रका आकांक्षीबीच टिकटका लागि दौडधुप पनि जारी छ। कांग्रेसको भक्तपुर- २ को क्षेत्रीय सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा उम्मेदवारका लागि संसदीय बोर्डमा छलफल हुने भएपनि अन्तिममा सभापति शेरबहादुर देउवाले कोटको खल्तिबाट नाम निकाल्ने भन्दै असन्तुष्ट व्यक्त गरेका थिए। थापाले राष्ट्रिय सभाको मर्म अनुसारका व्यक्तिहरु सांसद हुने अवस्था आफूले नदेखेको दाबी गर्दै आएका छन्।
यहि बीचमा राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचनमा विपक्षी एमालेलाई पनि समेटेर लैजान माओवादी केन्द्र र कांग्रेस लचिलो बन्दा गठबन्धनभित्र अविश्वास पैदा भएको छ। सत्तागठबन्धन मिलेर चुनाव लडे एमालेले पूरै सिट गुमाउने स्थिति छ। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय निरुपणमा सहयोग जुटाउने उद्देश्यले एमालेसँग पनि चुनावमा मिलेर जाने प्रस्ताव गरेका थिए। जसमा कांग्रेस र जसपाले मौन समर्थन जनाएका छन् भने, एकीकृत समाजवादीले आपत्ति जनाएको छ। त्यसकै लागि केही दिनयता नेताहरुबीच लगातार छलफल भइरहेको छ।
शान्ति प्रक्रियासँग सम्बन्धित विषयमा समझदारी जुटाउन निरन्तर छलफलमा जुटेका उनीहरु बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा विचाराधीन रहेको मुद्दालाई टुंगोमा पुर्याउन चाहान्छन्। विधेयकलाई आउने हिउँदे अधिवेशनमा पेस गरेर पारित गर्ने गठबन्धनको योजना छ। तर, एमालेले यसका कतिपय प्रावधानमा छलफल गर्नुपर्ने बताइरहेको छ।
सिटौलालाई अगाडि सार्ने आन्तरिक तयारी
फागुन २१ देखि राष्ट्रियसभा अध्यक्षसहित २० सिट रिक्त हुँदै छन्। १९ सिटका लागि माघ ११ गते चुनाव हुँदै छ। एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने छन्। राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेस र एकीकृत समाजवादीले दाबी गरिरहेका छन्।
राष्ट्रियसभा अध्यक्षमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई अगाडि सार्ने आन्तरिक तयारी गरेका छन् । १४औं महाधिवेशनमा सभापतिमा जिताउन सहयोग गरेको गुन तिर्नकै लागि पनि सिटौलालाई जिम्मेवारी दिन सभापति देउवाले इच्छा देखाएका छन्।
कांग्रेसबाट राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीसहित अनिता देवकोटा (महिला), जितेन्द्रनारायण देव, प्रकाश पन्थ (अपांगता)को कार्यकाल सकिँदैछ। बागमतीबाट ४ जना, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३/३ तथा कोशी, मधेस र लुम्बिनी प्रदेशबाट २/२ जना निर्वाचित हुने छन्।
प्रतिक्रिया दिनुहोस !