राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी दर्ता आज

गठबन्धनले बाँडे सिट, एमाले एक्लै प्रतिस्पर्धामा

गठबन्धनले बाँडे सिट, एमाले एक्लै प्रतिस्पर्धामा
फाइल तस्बिर।

काठमाडौं : राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता आज हुँदै छ। माघ ११ गते हुने यो निर्वाचनका लागि सत्तारुढ गठबन्धन र एमालेसहितका दलहरूले उम्मेदवार चयन गरेका छन्।

सत्तारुढ दल गठबन्धनले भागबन्डा गरेको छ भने एमाले एक्लै उम्मेदवारी दिने तयारीमा छ। भागबन्डाका अनुसार कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले एक सिट पाएका छन्। राष्ट्रियसभाका २० सदस्यको फागुन २० मा कार्यकाल सकिँदैछ। तीमध्ये एक जना राष्ट्रपतिबाट मनोनीतको कार्यकाल पनि सकिन लागेको छ।

एमालेले सबै सिटमा उम्मेदवारी दिने

एक्लै चुनावमा होमिएको एमालेले सबै १९ सिटमा उम्मेदवारी दिने भन्दै उम्मेदवारको नाम टुंगो लगाएको छ। एमालेका महासचिव शंकर पोखरेलले प्रेस विज्ञप्तिमार्फत १९ जना उम्मेदवारको नामावली सार्वजनिक गरेका छन्। महासचिव पोखरेलका अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेसमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) उम्मेदवार बनेका छन्। 

त्यसैगरी बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपांगता/अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट धु्रवराज विश्वकर्मा (धादिङ), गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपांगता/अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) छन्।

लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा), कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख), सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपांगता/अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) उम्मेदवार चयन गरेको छ। सातवटै प्रदेशमा गठबन्धनको भन्दा एमालेको मतभार कम छ।

कांग्रेसमा सकस

नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण राष्ट्रियसभाका लागि उम्मेदवार चयन गर्नमा समय लगाएको छ। पार्टीभित्र संस्थापन र इतर पक्षले कति सिट लिने भन्ने समझदारी बन्न नसक्दा उम्मेदवारी चयनमा ढिलाइ भएको हो। आइतबार राति यो समाचार तयार पार्दासम्म पनि कांग्रेसले उम्मेदवार चयन गर्न सकेको थिएन। 

सभापति देउवाले पहिलो चरणमा पदाधिकारी र दोस्रो चरणमा कार्यसम्पादन बैठक बोलाएर उम्मेदवार चयनका लागि घनघोर छलफल गरेका थिए। यद्यपि राति अबेरसम्म टुंगिन सकेको थिएन। राष्ट्रियसभामा आफूहरूले ४ सिट मागेकोमा सभापति शेरबहादुर देउवाले ३ सिट मात्रै दिने भएपछि कोइराला बीचमा बैठक नै छोडेर निस्केका थिए। उनी ४ सिट दिने भए बैठकमा आउँछु नभए आउँदिनँ भन्दै निस्किएका थिए। बैठकमा भएका एक पदाधिकारीका अनुसार बैठकमा संस्थापन र इतर समूहबीच संख्याकै भागबन्डा मिलेको छैन भने क्लस्टर बाँडफाँट सुरु नै भएको छैन। उनले भने, ‘संख्यामै कुरा मिलेको छैन। क्लस्टरको कुरा सुरु नै भएको छैन।’ 

अर्कोतिर कोशी प्रदेशमा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको अनौपचारिक जानकारी सिटौला निकट एक नेताले दिए। उनले भने, ‘उम्मेदवारी दिन हामी विराटनगर लागिसक्यौं। सभापतिजीले जाँदै गर्नुस् भन्नुभएको छ।’

यसअघि सत्ता गठबन्धनका दलले १९ वटा पदका लागि भागबन्डा गरिसकेको छ। जसअनुसार १० वटा स्थानमा नेपाली कांग्रेस, ६ वटामा माओवादी केन्द्र, २ वटामा एकीकृत समाजावादी र एउटा सिटमा जसपाले उम्मेदवारी दिने गरी टुंगो लागेको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार दिउँसो नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायतको छलफल भएको थियो।

माओवादीमा ६ जनाको नाम टुंगो

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले गठबन्धनभित्र माओवादीले पाएका ६ सिटका लागि उम्मेदवारको टुंगो लगाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए। 

उनका अनुसार कोशीबाट महिला कोटामा चम्मादेवी कार्की, बागमतीमा अन्यतर्फ श्रीकृष्ण अधिकारी, गण्डकीमा महिलातर्फ मनरूपा शर्मा, लुम्बिनीमा अन्यमा झक्कु सुवेदी, कर्णालीमा दलित कोटामा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लगाएको हो।

सत्तासाझेदार नेकपा एकीकृत समाजवादीले २ सिट मात्र पाएको छ। यसअघि समाजवादीले राष्ट्रियसभामा ३ सिट दाबी गरेको थियो। पार्टी प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले २ सिट मात्रै लिएर राष्ट्रियसभा निर्वाचनमा जाने निर्णय भएको बताए। 

जनता समाजवादी पार्टीले राष्ट्रियसभा सदस्यको निर्वाचनमा रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने भएको छ। पार्टीको कार्यकारिणी समितिको बैठकले रौतहटकी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनीष सुमनले जानकारी दिए।

गठबन्धनमा जसपाको भागमा महिला क्लस्टरको एक सिट परेको छ। जसपाले उम्मेदवार बनाएकी चौधरी गत प्रदेशसभा निर्वाचनमा उम्मेदवार भएकी थिइन्। उनी जसपा नेता गोविन्द चौधरीकी छोरी हुन्।

राप्रपाले १५ सिटमा उम्मेदवार उठाउने 

प्रतिपक्षमा नै रहेको राप्रपाले पनि १५ सिटमा उम्मेदवार उठाउने बताएको छ। चार प्रदेशको उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार कोशीबाट एक, बागमतीबाट चार, गण्डकीबाट दुई र लुम्बिनीबाट दुई उम्मेदवार टुंगो लगाएको छ। कोशीबाट उद्धव पौडेल एकमात्र उम्मेदवार बन्ने भएका छन्। बागमतीबाट महिलामा नानु नगरकोटी, दलितमा पूर्णबहादुर विश्वकर्मा, अपांगमा भरतमणि भट्ट र अन्यमा हेमजङ गुरुङको नाम फाइनल गरिएको छ। 

गण्डकीमा महिलाबाट गौमाया श्रेष्ठ र पुरुषबाट रोमबहादुर भण्डारी छन्। यस्तै, लुम्बिनीबाट निरंजन थापा र विजयीलक्ष्मी सिंह उठ्ने भएका छन्। मधेस, कर्णाली र सुदूरपश्चिमबाट उम्मेदवारको नामावली टुंग्याउन बाँकी छ। पार्टी प्रवक्ता श्रेष्ठले राप्रपाले सातवटै प्रदेशमा उम्मेदवारी दिने र तालमेलका लागि पनि ढोका खुला राख्ने बताए। जनता समाजवादी पार्टी (जसपा)ले पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ।

१९ पदका लागि २,०४७ मतदाता

१९ पदका लागि माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि कुल २ हजार ४७ मतदाताको अन्तिम नामावली टुंगो लगाएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेका अनुसार राष्ट्रियसभा सदस्यको निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यले मतदान गर्ने कानुनी व्यवस्था छ।

स्थानीय तहको १ हजार ४ सय ९८ मतदाता छन् भने प्रदेशसभा तिरबाट ५ सय ४९ जना छन्। सातवटै प्रदेशमा मतदान स्थलको व्यवस्था गरिएको छ। प्रदेश स्तरमै स्थापना गरिएको निर्वाचन कार्यालयमा सोमबार उम्मेदवारहरूले मनोनयन दर्ता गराउने निर्वाचन तालिका छ।

उल्लिखित मतदातामध्ये प्रदेशसभाका सदस्यको प्रतिमतदाता मतभार ५३ कायम गरिएको छ। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुखको प्रतिमतदाता मतभार १९ तोकिएको छ। राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार ४ सय ६२ गरी जम्मा ५७ हजार ५ सय ५९ मतभार रहेको निर्वाचन आयोगले जनाएको छ। चुनावमा भाग लिन १२ राजनीतिक दलले यसअघि आयोगमा दल दर्ता गराएका थिए।  

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दलले प्राप्त गरेका समानुपातिक मतका आधारमा क्रम संख्या निर्धारण गरी आयोगले चुनाव चिह्न पनि प्रदान गरिसकेको छ। चुनावका लागि नेपाली कांग्रेसलाई रूख, नेकपा एमालेलाई सूर्य, माओवादी केन्द्रलाई गोलाकारभित्र हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो, जनता समाजवादी पार्टीलाई ढल्केको छाता, जनमत पार्टीलाई लाउड स्पिकर चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ।
त्यसैगरी एकीकृत समाजवादीलाई कलम, नागरिक उन्मुक्ति पार्टीलाई पिधँ भएको सादा ढकियाँ, लोकतान्त्रिक समाजवादी पार्टीलाई साइकल, नेपाल मजदुर किसान पार्टीलाई मादल, राष्ट्रिय जनमोर्चालाई गिलास र नेपाल समाजवादी पार्टीलाई (खुलेको एक आँखा चुनाव चिह्न प्रदान गरिएको हो।

आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन हुँदै छ। राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आउँदो फागुन २० गते समाप्त हुन लागेको छ। 

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.