कुन प्रदेशबाट को ?

कांग्रेसमा आन्तरिक किचलो : असन्तुष्टिकाबीच छानिए राष्ट्रिय सभाका १० उम्मेदवार

कांग्रेसमा आन्तरिक किचलो : असन्तुष्टिकाबीच छानिए राष्ट्रिय सभाका १० उम्मेदवार
फाइल तस्बिर।

काठमाडौं : शेखर कोइराला र गगन थापा समूहको असन्तुष्टिका बीच नेपाली कांग्रेसले राष्ट्रिय सभा उम्मेदवार चयन गरेको छ। पार्टीभित्रको लामो रस्साकस्सी पछि सोमबार बिहान कांग्रेसको संसदीय बोर्डको बैठकले १० जना उम्मेदवार छनोट गरेको हो ।

कोशी प्रदेशबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने आइतबार दिउँसो नै सहमति भएपनि अन्य उम्मेदवारको टुंगो लगाउन पार्टीभित्र सकस परेको हो। पार्टीभित्र संस्थापन र इतर पक्षले कति सिट लिने भन्ने समझदारी बन्न नसक्दा उम्मेदवारी चयनमा ढिलाइ भएको हो।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसम्पादन समितिको बैठकले कोसीमा सिटौला, मधेसमा आनन्द ढुंगाना, बागमतीमा जितजंग बस्नेत र विष्णुकुमारी पुडासैनी, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ।

यसैगरी लुम्बिनीमा विष्णुकुमारी सापकोटा, कर्णालीमा कृष्णबहादुर रोकाया, सुदूरपश्चिममा बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

कांग्रेसको बैठकमा महामन्त्री थापाले फरक मत राखेका छन्। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिनेलगायतको मापदण्ड तय गरेको थियो ।’  थापाले भनेका छन्, ‘संसदीय बोर्डको आजको बैठकले उम्मेदवार चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्‍याउन सकेन।’

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि उम्मेदवार चयनको समग्र सन्दर्भमा सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असहमत जनाएका छन्। शर्माले नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ? भन्ने गम्भीर प्रश्न उत्पन्न भएको बताए। उनले संसदीय बोर्डलाई पूर्णता नदिएर पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा किन राखेको ? भन्दै प्रश्न गरेका थिए।

नेपालको संविधानमा राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन्। सरकारमा रहेका दलहरुले गठबन्धन गरेर निर्वाचन लड्ने सहमति गरेका छन्। नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकका अनुसार नेपाली कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६,नेकपा एकीकृत समाजवादी पार्टीले २ र जनता समाजवादी पार्टीले १ सिट पाउने भएका छन्।

राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको भइसकेको छ। 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.