मलमा सहकारीको लापरबाही : ७१ मेट्रिक टन गोदाममै थन्कियो

मलमा सहकारीको लापरबाही : ७१ मेट्रिक टन गोदाममै थन्कियो
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

परासी : नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेडमा कोटामा आएको रासायनिक मल केही सहकारीहरूले नलगेपछि गोदाममै थन्किएको छ । किसानले मल नपाएर समस्या भएको बताइरहेका बेला जिल्लामा आएको मल सहकारीहरुले खरिद गरेर नलैजादा कृषि सामग्रीको गोदाममा ७१ मेट्रिक टन मल गोदाममा थन्किएको हो । हिउँदेबाली गहुँ,तोरी,मसुरो तथा उखुका लागि लक्षित गरेर युरीया र डिएपी मल जिल्लामा पठाइएको हो । 

जिल्लाका ९ वटा सहकारीले मल नलगेको कृषि सामग्री कम्पनीका प्रमुख नरहरी पोखरेलले बताए । पटकपटक पत्रचार गर्दा पनि लैजान नमानेकाले सहकारीको कोटामा परेको मल गोदाममा थन्किएको उनले बताए । जिल्लामा रहेका ७ वटै पालिकाहरुले आ–आफ्नो पालिकाभित्र रहेका सहकारीको नाम र परिमाणसहित मल उपलब्ध गराउन पत्रचार गरेका थिए । 

उक्तपत्रानुसार कम्पनीले सहकारीलाई मल वितरण सुरु गरेको थियो । नामावलीअनुसार मध्येका ९ वटा सहकारीले मल नलगेपछि उनीहरुको नाममा रहेको ७१.३ मेट्रिक टन मल गोदाममा थन्किएको पोखरेलले जानकारी दिए । जसमा २३.७५० मेट्रिक टन युरिया र ४७.५५० डिएपी रहेको छ ।  

जिल्लामा ७४ वटा सहकारी मार्फत मल वितरण हुँदै आएको छ । मल नलैजाने सहकारीमा रामग्राम नगरपालिकाभित्र रहेको परासी आदर्श बहुउद्देश्यी सहकारी संस्था,त्रिदेव बचत क्रण सहकारी संस्था रहेका छन् । त्यस्तै पाल्हीनन्दन गाउँपालिकाको बचत क्रण सहकारी संस्था र साना किसान कृषि सहकारी संस्था रहेका छन् । त्यस्तै सुनवल नगरपालिकाको स्वाठी कृषि सहकारी सस्था,प्रतापपुरको रामजानकी कृषि सहकारी संस्था,पाल्हीनन्दन गाउँपालिकाको कुश्मा बचत सहकारी संस्था परसिया र सनही कृषि सहकारी संस्थाले मल नलगेको कम्पनीले जनाएको छ ।
 
कम्पनीले अहिलेसम्म वितरण गरेको मल ४ चरणको हो । जसअनुसार कम्पनीले साउनदेखि हालसम्म १ हजार ६ सय मेट्रिक टन मल वितरण गरेको जनाएको छ । मल नलगेको त्रिदेव बचत क्रण सहकारी संस्थाका व्यवस्थापक पुरुषोत्त तिवारीले संस्थाले साल्ट ट्रेडिङ्ग कम्पनीको पनि मल वितरण गर्ने भएकोले कम्पनीको मल ल्याउन ढिलाइ भएको बताए । 

केही दिनमा मल ल्याएर वितरण गर्ने उनको भनाई छ । त्यस्तै परासी आदर्श बहुउद्देश्यी सहकारी संस्थाका व्यवस्थापक सञ्जय सिंहले डिएपी मलको खासै माग नभएकाले नल्याइएको बताए। ‘युरिया ल्याएर वितरण गर्‍यौं, डिएपीको माग खासै नभएकोले नल्याइएको हो,त्यो पनि २/४ दिनमा ल्याउँछौं,'सिंहले भने । 

जिल्लामा करिब १९ हजार हेक्टरमा हिउँदेबाली हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.