प्रदीप गिरिको स्मृतिमा कम्बल वितरण
सिरहा : सिरहाको लहानका विपन्न बस्तीमा कम्बल वितरण गरिएको छ। बढ्दो चिसो र शीतलहरले विपन्न, एकल महिलाको दैनिकी कष्टकर बनेपछि नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको स्मृतिमा लहानका विपन्न बस्तीमा कम्बल वितरण गरिएको हो।
प्रदीप गिरि मेमोरियल ट्रस्टकी अध्यक्ष भारती सिलवाल गिरिको अगुवाइ र अवसर फाउन्डेसनको सहयोगमा मंगलबार लहान नगरपालिका–७, १३, १४ र २४ नम्बर वडा क्षेत्रमा बसोवास गरिरहेका १ हजार ५० जनालाई कम्बल वितरण गरिएको हो।
चिसोले गरिब, दलित, एकल महिला, अपांगता भएका व्यक्ति, दृष्टिविहीनता भएका र ज्येष्ठ नागरिक प्रभावित बनेपछि कम्बल बाँडिएको अध्यक्ष गिरिले बताइन्।
पछिल्लो केही दिनदेखि बढेको शीतलहर र चिसोले गरिब विपन्न बस्तीका ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति, गर्भवती, सुत्केरी प्रभावित बनेका छन्।
यसैगरी संगीता कर्माचार्य फाउण्डेसनले पनि भगवानपुर र सखुवानन्कारकट्टि गाउँपालिकामा ५ सय थान कम्बल वितरण गरेका छन्। लहान नगरपालिकाबाट वडा ११, १२, १५ लगायतका ठाउँमा कम्बल वितरण गरिएको मेयर महेश चौधरीले जानकारी गराए।